पंजाबको लुधियानामा अदालतभित्र भयानक विष्फोट, २ जनाको मृत्यु भएपछि भागदौड
काठमाडौं। पंजाबको लुधियानामा अदालतभित्र विष्फोट भएको छ । विष्फोटमा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको बताइएको छ । विष्फोटको आवाजले त्यहाँका मानिसहरु तर्सिएर भागदौड मच्चिएको थियो । यहाँ चारैतिर अस्तव्यस्त माहोल छ । पंजाबका मुख्यमन्त्री चरणजीत चन्नी लुधियाना जान लागेको भारतीय मिडियाले जनाएका छन् । जाँचका लागि नेशनल इन्टेलिजेन्स एजेन्सी र नेशनल सेक्युरिटी गार्डको टिम बोलाइएको छ ।
विष्फोट अदालत भवनको दोस्रो तलामा भएको बताइएको छ । घटनास्थलमा पुलिस पुगिसकेको छ । विष्फोट केको भएको हो भन्ने स्पष्ट छैन । जानकारीका अनुसार विष्फोट लुधियाना अदालतको कपी शाखामा भएको हो । यो अदालतमा वकिलहरुको हडताल चलिरहेको छ । विष्फोटपछि पंजाबका मुख्यमन्त्री चरणजीत चन्नीले यसलाई षड्यन्त्र बताउँदै दोषीहरुलाई नछोडिने बताएका छन् ।
भयानक विष्फोटले ६ तले बिल्डिङ पूरै हल्लिएको थियो । विष्फोट केको हो भन्ने स्पष्ट नभए पनि यो कुनै सिलिण्डर विष्फोटजस्तो नभएको प्रत्यक्षदर्शीले जनाएका छन् । यसको पछाडि कुनै षड्यन्त्र भएको आशंकामा यस क्षेत्रमा त्रास फैलिएको छ । पंजाब विधानसभा निर्वाचन आउनै लागेका बेला भएको यो विष्फोटले यहाँ तनाव बढ्न सक्ने आशंका गरिएको छ ।







डिसी नेपाल







Facebook Comment