निबन्धकार तथा पत्रकार श्रेष्ठको ‘अभिवन्द्य’ लोकार्पित

डिसी नेपाल
९ पुष २०७८ १७:३७

काठमाडौं। वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ रोदनको १२ औँ कृतिका रूपमा ‘अभिवन्द्य’ आजदेखि बजारमा आएको छ । पल्लव प्रकाशनद्वारा प्रकाशित कृतिमा कलाकार, गायक, साहित्यकार, आध्यात्मिक व्यक्तित्व, रङ्गकर्मीलगायत फरकफरक विधामा क्रियाशील व्यक्तिबारे विसं २०४८ देखि लेखिएका ४१ निबन्ध समाविष्ट छन् ।

यसअघि पत्रकार श्रेष्ठका निबन्ध, लघुकथा, नियात्रा, अन्तर्वार्तालगायत विधामा कृति प्रकाशित छन् । शङ्कर लामिछाने प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले भाषा शैलीमा विशिष्ट पक्ष रहेको कृति विशिष्ट व्यक्तिप्रति सम्मानसहितको संस्मरण भएको र यसले पाठकलाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । समीक्षक मोमिला जोशीले व्यक्तिमा आधारित निबन्धसङ्ग्रह मुक्तक शैलीमा रहेको बताए ।

अभिवन्द्य व्यक्तित्वमध्येका तेजेश्वरबाबु ग्वङ्ग्व र तुलसी दिवसले कृतिमा नयाँ शैली रहेकामा लेखकहरूले परम्परागत शैली भत्काउनुपर्नेमा जोड दिए । डा चिन्तामणि योगीले लेखकले आफूजस्ता अरूमा पनि सकारात्मकता देखेको बताए । प्रा डा लक्ष्मणप्रसाद गौतमले जीवित व्यक्तिबारे लेखन गर्नु चुनौतीपूर्ण रहे पनि श्रेष्ठले कृति तयार गरी सफलता कायम गरेको विचार व्यक्त गरे । प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेलले जीवनमा हरेकले लेखक श्रेष्ठले जस्तै सत्यको उद्घोष गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा कलाकार मदनदास श्रेष्ठ, साहित्यकार मञ्जुल, अशेष मल्ल, यादव भट्टराईलगायतले सर्जकहरूलाई अक्षरबाट सम्मान गरेर प्रशंसनीय काम गरेको विचार राखे । लेखक श्रेष्ठले आफूले पत्याएका र सम्मान गर्नलायक व्यक्तित्वलाई छानेर कृति प्रकाशन गरेको जानकारी दिए । आयोजक प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले लेखकलाई संस्थाका तर्फबाट सम्मान गर्दै लेखकबाट यस्तै कृति आइरहनुपर्ने सुझाव दिए । कृतिमा इन्दिरा श्रेष्ठ, सत्यमोहन जोशी, डायमनशम्शेर, गोविन्द भट्ट, जनकबहादुर राणा, प्रचण्ड मल्ललगायतसँग सम्बन्धित निबन्ध समाविष्ट छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *