‘निर्वाचनमा नागरिक सहभागीता बढाउन मिडियाको भूमिका छ’

डिसी नेपाल
९ पुष २०७८ १८:५९

काठमाडौं। सरोकारवाला निकायका प्रतिनिधिले निर्वाचनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको महिला पत्रकारका लागि तालिमको आज यहाँ आयोजित समापन कार्यक्रममा निर्वाचन आयुक्त, आयोगका कर्मचारी र सञ्चारकर्मीलगायतले मिडियाले निष्पक्ष भएर सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए । सो अवसरमा आयुक्त जानुकाकुमारी तुलाधरले आमनिर्वाचनमा सबै वर्गको सहभागिता बढाउन र बदर हुने सङ्ख्या घटाउन मिडियाले सहयोग गर्नसक्ने उल्लेख गरे ।

पत्रकार महिलाले नै महिलालगायत समावेशी वर्गको आवाज उठाउनेमा उनले विश्वास व्यक्त गरे । उनले भने, “अहिले मतदाता नामावली सङ्कलनका क्रमदेखि नै मिडियाले नागरिक सूचित गर्नुपर्ने छ ।”आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा मिडिया संवेदनशील हुनुपर्नेमा जोड दिए । पत्रकारलाई अरुले अङ्कुस लगाउन नमिल्ने हुँदा स्वनियमन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “पत्रकारले अनुमानका भरमा होइन तथ्यपरक समाचार लेख्न जरुरी छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा मिडियामा गलत सूचना प्रवाह हुँदा त्यसको नियमन र कारवाहीको काम प्रेस काउन्सिल नेपालले गरिरहेको बताए । उनले भने, “एउटै दलले सधैँ नै त्यही नै चिन्ह किन पाइरहने भन्ने पनि बहस गर्न जरुरी छ ।” सञ्चारीका समुहका अध्यक्ष नितु पण्डितले अहिलेको निर्वाचन पद्धतिमा महिला राजनीतिकर्मीलाई अघि आउन गाह्रो भएको बताए । महिला राजनीतिज्ञ र जनप्रतिनिधिले राम्रो काम गर्दागर्दै त्यो विषयले सधैँ मिडियामा कम स्थान पाउने गरेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *