भारतमा त्यस्तो के गरियो जसका कारण संसारभरी मोदी सरकारको कडा आलोचना भइरहेको छ ?

डिसी नेपाल
१० पुष २०७८ १४:०९
2.3k
Shares

काठमाडौं। भारतको उत्तराखण्डको हरिद्वारमा १७ देखि १९ डिसेम्बरसम्म आयोजित ‘धर्म संसद’का कारण ठूलो विवाद भएको छ । जूना अखाडाका महामंडलेश्वर यति नरसिंहानन्द गिरीको अध्यक्षतामा आयोजित यो धर्म संसदमा साधु संतहरुले हिन्दुत्वका विषयमा निकै विवादित र अल्पसंख्यकलाई निशाना बनाउँदै कैयौं यस्ता भाषण दिए जसको भारतभित्रै र भारतबाहिर विश्वभरी नै कडा आलोचना भइरहेको छ ।

भारतको यो धर्म संसदको विषयमा विदेशी मिडियामा आलोचनासहितका रिपोर्ट आएका छन् । पाकिस्तानका मिडियाले पनि यसलाई प्रमुखता दिएका छन् । पाकिस्तानको प्रमुख समाचार च्यानल जियो न्यूजले धर्म संसदलाई ‘हेट स्पिच कंक्लेभ’ भनेको छ । उसले शीर्षकमै ‘हेट स्पिच कंक्लेभः भारतका हिन्दूत्ववादी नेताहरुले मञ्चबाट मुस्लिम नरसंहारको आह्वान गरे’ भनेको छ । जियोका अनुसार यो धर्म संसदमा हिन्दू समूहलाई अल्पसंख्यकविरुद्ध हतियार उठाउन अपिल गरिएको थियो ।

जियोले यति नरसिंहानन्द गिरीको बयान प्रकाशित गरेको छ जसमा उनले भनेका थिए ‘हतियार नउठाइ पृथ्वीको कुनै समुदाय न बच्न सक्छ न कहिल्यै बच्नेछ । यो धर्म संसदको एकमात्र विषय यही हो कि २०२९ मा भारतको प्रधानमन्त्री एक मुस्लिम हुनेछ । यो कुनै आधारहीन सोच होइन । जुन हिसाबले मुसलमान जनसंख्या बढिरहेको छ र हिन्दूहरुको जनसंख्या घटिरहेको छ ७ वर्षमा सडकमा केवल मुस्लिम मात्रै देखिनेछन् ।’

पाकिस्तानी अखबार डनले यो समाचार भारतीय मिडियालाई उद्धृत गर्दै प्रकाशित गरेको छ । डनले लेखेको छ हिन्दू महासभाकी साध्वी अन्नपूर्णले पनि हतियार र नरसंहारका लागि मानिसहरुलाई उक्साउने काम गरिन् । डनले साध्वी अन्नपूर्णाको अल्पसंख्यकविरुद्ध बयान पनि प्रकाशित गरेको छ । अखबारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि उनको सरकारले मुसलमानहरुप्रति भेदभाव गरेको आरोप लगाएको छ ।

अर्को पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले यो समाचारको शीर्षक लेखेको छ ‘हिन्दूत्ववादी नेताहरुले भारतमा मुसलमानको नरसंहारको आह्वान गरे ।’ टिब्युनले समाचारमा ‘मोदीको नेतृत्वका भाजपासँग सम्बन्धित हिन्दूवादी समूहले अल्पसंख्यकलाई मार्ने र उनीहरुको धार्मिक स्थलमा आक्रमण गर्न आह्वान गरे’ लेखेको छ ।

टर्कीको सरकारी मिडिया टिआरटी वर्ल्डले पनि धर्म संसदका विषयमा नरेन्द्र मोदी सरकारमाथि निशाना बनाउँदै एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टमा लेखिएको छ ‘प्रधानमन्त्री मोदीले अमेरिकाले आयोजना गरेको डेमोक्रेसी समिटमा भनेका थिए कि भारतीयहरुमा कानुनको शासनको सम्मान र सर्वधर्म सम्मानको लोकतान्त्रिक भावना निहीत छ । हिन्दूत्वका नेताहरुको विवादास्पद सम्मेलन यसको एक हप्तापछि भएको छ ।’

रिपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै लेखिएको छ ‘२०१४ मा मोदी सत्तामा आएपछि हिन्दूहरुको भिडले दर्जनौं मानिसहरु, मुख्य रुपले मुस्लिम र दलित हिन्दूहरुलाई अवैध रुपमा गाईको बिक्री वा गाईको मासु खाएको आशंकामा कुटेर मारेका छन् ।’

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले एशिया प्रोग्रामका डेप्युटी डाइरेक्टर माइकल कुगेलमनको एक ट्वीटलाई रिट्वीट गरेका छन् जसमा लेखिएको छ ‘गत हप्ता भारतमा ३ दिवसीय हेट स्पिच कार्यक्रमको आयोजना गरियो जसमा अल्पसंख्यकको विरुद्ध हिंसालाई उकास्ने काम पनि भएको थियो । यो निकै भयावह छ । सरकारको तर्फबाट यसको निन्दा पनि गरिएन । दुखद सत्य यो हो कि सरकारको मौनता आश्चर्यजनक होइन ।’

बाइलाइन टाइम्सका पत्रकार सीजे वार्लमनले पनि हिन्दू संसदमाथि आफ्नो टिप्पणी गरेका छन् । उनले आफ्नो एक ट्वीटमा हिन्दूत्वको तुलना हिटलरको यहुदीवादसँग गरेका छन् । वार्लमनले लेखेका छन् ‘यहुदीवाद र हिन्दूत्व दुवै एउटै हुन् ।’ अमेरिकाकी टेनिस स्टार मार्टिना नवरातोलियाले पनि यो मुद्दामा आफ्नो आक्रोश पोखेकी छिन् । उनले धर्म सभा कार्यक्रमको भिडियो ट्वीट गर्दै लेखेकी छिन् ‘यो के भइरहेको छ ?’

पाकिस्तानका पत्रकार हामिद मीरले धर्म संसदको एक भिडियो रिट्वीट गर्दै लेखेका छन् ‘यी महिला भारतीय मुसलमानहरुविरुद्ध हिंसाको लागि मानिसहरुलाई उक्साइरहेकी छिन् । यो हिटलरको महिला संस्करण हो जसले आउने समयमा नरसंहारको योजना बनाइरहेकी छिन् । यी महिलाले प्रमाणित गरिरहेकी छिन् कि मोहम्मद अली जिन्ना बिल्कुल सही थिए । उनले मुसलमानहरुको लागि अलग पाकिस्तान बनाए । धन्यवाद जिन्ना साहब ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *