इतिहासकै सबैभन्दा ठूलो स्पेस टेलिस्कोप आफ्नो मिशनमा निस्कियो, यस्ता छन् यसका विशेषता

डिसी नेपाल
११ पुष २०७८ ११:४२
1.2k
Shares

काठमाडौं। दक्षिण अमेरिकाको फ्रेन्च गुयानाको कौरुबाट इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्पेस टेलिस्कोप लञ्च गरिएको छ । १० अर्ब डलरको लागतमा बनेको जेम्स वेब विशाल टेलिस्कोपलाई युरोपेली स्पेस एजेन्सीको एरियन रकेटबाट लञ्च गरिएको हो । नासाका वैज्ञानिकका अनुसार जेम्स वेबले ब्रह्माण्डको जन्मको समयसम्म जाने आफ्नो यात्रा सुरु गरेको छ ।

वैज्ञानिकहरुका अनुसार आफ्नो कक्षमा पुग्न यो रकेटलाई आधा घण्टाभन्दा कम समय लाग्नेछ । कक्षमा गएपछि रकेटबाट सिग्नल प्राप्त हुनेछ जसबाट यो कुराको पुष्टि हुनेछ । जेम्बर वेबलाई हब्बल टेलिस्कोपको स्थान लिनको लागि बनाइएको हो । यसलाई क्रिसमसअघि २२ डिसेम्बरमै लञ्च गर्ने योजना थियो तर मौसम खराब भएका कारण यसको लञ्चिङ केही दिनका लागि स्थगित गर्नुपरेको थियो ।

यो परियोजनालाई २१ औं शताब्दीको सबैभन्दा अहम वैज्ञानिक प्रयासहरुमध्ये एक भनिएको छ । नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडाको सहयोगबाट बनेको यो टेलिस्कोपलाई तयार गर्न करिब ३० वर्षको समय लाग्यो । लक्ष्यका विषयमा धेरै महत्वाकांक्षी यो परियोजनामा एक अनुमानका अनुसार १० अर्ब डलर लगानी भएको छ ।

वैज्ञानिकहरुका अनुसार यो टेलिस्कोपका लक्ष्यहरुमध्ये एक ब्रह्माण्डमा सबैभन्दा पहिले चम्किएका ताराहरु र आकाशगंगाहरुको तस्वीर हासिल गर्नु हो । वैज्ञानिकहरुले यसबाट सुदूरस्थित ग्रहहरुको वातावरणको तस्वीर पनि प्राप्त गर्न सकिने र यसबाट त्यहाँ जीवनको सम्भावना छ वा छैन भन्ने समेत पत्ता लगाउन सकिने अपेक्षा गरेका छन् ।

अमेरिकी स्पेस एजेन्सी नासाका प्रशासक बिल नेल्सनले जेम्स वेब टेलिस्कोप प्रोजेक्टलाई एक असाधारण मिशन भनेका छन् । उनले भने ‘यो यो कुराको शानदार उदाहरण हो कि जब हामी ठूलो कुरा सोच्छौं त्यसलाई कसरी पूरा गर्न सक्छौं । हामीलाई पहिलेदेखि नै थाहा छ कि यो परियोजनामा धेरै खतराहरु छन् । तर, जब तपाइँ केही ठूलो चाहनुहुन्छ भने तपाइँले प्रायः ठूला खतरा पनि उठाउनुपर्छ ।’

नासाका अनुसार यो टेलिस्कोपले काम गर्ने समय १० वर्ष तय गरिएको छ तर यसले यो भन्दा कैयौं धेरै समयसम्म काम गर्न पनि सक्छ । यसअघिका यस्ता परियोजनामा पनि तय गरिएको समयभन्दा धेरै समयसम्म काम गरेको उदाहरण छ । टेलिस्कोपको क्यामेरा ६.५ मिटर लामो छ । यसको तौल ६२ क्विन्टल छ । यसले माइनस २३० डिग्रीको तापक्रममा पनि काम गर्न सक्छ ।

यो टेलिस्कोपलाई अहिलेसम्म शानदार प्रदर्शनको रेकर्ड बनाएको टेलिस्कोप हब्बलको स्थान लिनको लागि बनाइएको हो । हब्बललाई १९९० मा लञ्च गरिएको थियो र यसले ३१ वर्ष पछि अहिलेसम्म पनि काम गरिरहेको छ । हब्बलको क्यामेरा २.४ मिटर मात्रै लामो छ र यसको तौल १२२ क्विन्टल छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *