प्रचण्ड निर्विकल्प अध्यक्ष हुँदा पदाधिकारीमा नयाँ नेतृत्व कति सम्भव ?

सम्भव सिंह ठकुरी
११ पुष २०७८ १४:०२

काठमाडौं। आजबाट काठमाडौंमा नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक राष्ट्रिय सम्मेलन हुँदैछ। आगामी १३ गतेसम्म हुने सम्मेलनमा माओवादीको नयाँ पदाधिकारी कस्तो हुन्छ? भन्ने चासोको विषय बनेको छ।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने निश्चित भइसकेको छ। बिगत तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेको प्रचण्डको विकल्प नभएको माओवादी नेताहरु नै बताउँदै आएका छन्। तर अध्यक्ष पछाडिको पद उपाध्यक्ष, महासचिव, सचिव जस्ता पदाधिकारीमा भने प्रचण्डको जस्तो निर्विकल्प छैन।

दर्जनौं नेताहरु पदाधिकारीमा दावी पेश गरिराखेका छन्। भन्नेहरुले राप्रपामा कमल थापा र माओवादीमा प्रचण्डको पार्टीभित्र विकल्प खोज्न सक्ने नेता छैन भनेर टिप्पणी हुनेगथ्र्यो। तर गत महिनामात्र भएको महाधिवेशनमा कमल थापा राजेन्द्र लिङलेनसँग अध्यक्ष पदमा पराजित भए।

त्यतिमात्र नभएर प्रचण्ड र कमल सत्ता र शक्तिकोलागि जस्तो सुकै सौदावाजी गर्ने समान गुण भएका नेता भनेरपनि टिप्पणी हुने गर्छ। तर माओवादीमा राजेन्द्र लिङदेनजस्तो प्रचण्डलाई चुनौती दिने नेता देखिएको छैन।

यो वर्ष नेपालको राजनीति महाधिवेशनमय बन्यो। गत महिनामात्र एमाले, कांग्रेस र राप्रपाले महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरिसकेको छ। माओवादीले सम्मेलन भनेपनि मुलतः नीति र नेतृत्व नै चयन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो।

एमाले र कांग्रेसको नेतृत्वमा पुरानै अनुहार दोहोरिएपनि राप्रपामा भने नयाँ नेतृत्व आएको छ। कांग्रेसमा नेतृत्व पुरानो भएपनि पदाधिकारीमा धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नयाँ नेतृत्व आएको छ।

पुरानो पार्टी कांग्रेसमा नेतृत्व पुरानो भएपनि पदाधिकारी र केन्द्रीय कार्यसमितिमा उल्लेखनीय रुपमा नयाँ नेतृत्व आएको छ। कांग्रेसको १४ औँ महाधिवेशनमा रुपान्तरण भएको र अन्य दलहरुलाईपनि चुनौती र प्रभावित तुल्याइएको विश्लेषकहरुले नै टिप्पणी गर्दै आएका छन्।

माओवादी केन्द्रका युवा नेता कमल क्षेत्री भने माओवादीमा अहिलेनै यो खाले पूस्तान्तरण नहुने तर्क गर्छन्। ‘आकांक्षा त पुराना नयाँ सबैखाले नेताहरुले गर्नुभएको छ। तर अहिलेको अवस्थामा हाम्रो पार्टीमा नयाँ र युवा नै नेतृत्वमा चयन हुने सम्भवना म देख्दिन,’ उनले भने।

अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखराज न्यौपाने भने प्रतिनिधित्वको हिसावले नयाँ पदाधिकारी आउने सम्भावना देख्नछन्। ‘हाम्रो पार्टी समावेशी प्रतिनिधित्वमा विश्वास गर्ने पार्टी हो। त्यसकारण समावेशी प्रतिनिधित्वबाट स्वभाविकरुपमा नयाँ पदाधिकारी आउँछ,’ उनले भने, ‘अर्को कुरा अहिले पार्टी अन्तरिम विधानबाट संचालन भइराखेको छ। अब यो सम्मेलनबाट नै विधान संशोधन भएर पूर्णविधान आउँछ। त्यसपछि पदाधिकारीको पद के कति भनेर निर्धारण हुन्छ। सोही आधारमा मात्र भन्न सकिन्छ।’

सहमति कि निर्वाचन ?

गतसाता माओवादीको इतिहासमा पहिलो निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भयो। बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भए। सहयात्रीले १६२ मतसहित प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई पराजित गरेका थिए। जम्मा २६१ भोट खसेको थियो । गौतमले ८६ मत ल्याएका थिए।

त्यसकारणपनि पदाधिकारी चयन गर्ने कुरामा सहमति गर्ने प्रचण्डलाई सकस परेको छ। प्रचण्डपछि पार्टीभित्र जनार्दन शर्मा र बर्षमान पुनबीच तीब्र प्रतिस्पर्धा रहेको माओवादी बृत्तमा चर्चा हुने गर्दछ। माओवादी निकट विभिन्न जनवर्गीय संगठनभित्रपनि शर्मा र पुनबीच नै हुने गरेको छ।

पुन उपचारका लागि विगत केही महिनादेखि विदेश छन्। तर पुनलाई महासचिव बनाउनै पर्ने दवाव प्रचण्डलाई रहेको स्रोतले बताएको छ। शर्मा र पुनसँगै महासचिवको दावेदारीमा कृष्णबहादुर महरा,पम्फा भुसाल रहेका छन्।

यो अवस्थामा प्रचण्डलाई सहजै रुपमा नेतृत्व चयन गर्न सकस भएपनि पहिलो र अन्तिम प्रयास सहमतिमै खोज्ने नेता न्यौपाने बताउँछन्। ‘हामी सकभर सहमतिमै नेतृत्व चयनको प्रयास गर्ने छौँ। सम्भव भएन भने विधान अनुसार जान्छौँ। हाम्रो विधानमा निर्वाचनपनि सहमतिपनि दुवै विकल्प भएकाले आवश्यक्ता अनुसारको विकल्प प्रयोग गछौँ,’ न्यौपानेले भने।

संविधानसभा सदस्य क्षेत्री भने कम्युनिष्ट पार्टी भएकाले निर्वाचन भन्दापनि सहमतिमा जोड हुने दावी गर्छन्। र सोही अनुसार सहमतिमै नेतृत्व चयन हुने उनको विश्वास रहेको छ।

‘हाम्रो पार्टीमा बैचारिक प्रष्टता, सैद्धान्तिक र कार्यगत नीतिहरुमा जसले ‘फोकस’ गर्नसक्छ। उही नै अगाडि आउने हो। हाम्रो प्रष्ट कुरा छ। जस्को नीति उसकै नेतृत्व। प्रचण्ड आजसम्म पार्टीमा लोकप्रिय हुन सक्नुको कारण भनेकै राम्रो नीति ल्याउन सक्नु भएर हो। त्यसकारण नीति राम्रो हुनेलाई पदाधिकारीमा चयन गर्छौं,’ क्षेत्रीले भने।

एससीसीबारे कस्तो धारणा ?

अमेरिकी अनुदान सम्झौता मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली राजनीतिको चर्चा र बहसको विषय बनेको छ। यो विषयले सत्ता गठबन्धन नै संकटमा हुनेपनि विभिन्न टिकाटिप्पणी दिनहुँ भइराखेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि पास गर्ने पक्षमा उभिँदा प्रचण्ड पछिल्लो समय केही लचिलो बन्दै गएका छन्। एसससीसीको विषयमा एमाले अध्यक्षपनि सकारात्मक देखिएपछि गठबन्धनका प्रचण्ड र माधव कुमार नेपाललाई झस्काउने गरेको छ।

त्यसैलेपनि प्रचण्ड पछिल्लो समय प्रधानमन्त्री देउवासँग भन्दापनि ओलीसँग आक्रोस पोख्दै आएका छन्। ओलीले सत्तारूढ गठबन्धन भत्काउन खोजेको आरोप लगाउँदै त्यसप्रति आफूहरू सतर्क भएको टिप्पणी गर्दै आएका छन्।

एमसीसीको विषयमा माओवादी भित्रपनि प्रष्ट दुई खेमा रहेको छ। प्रचण्ड केही संशोधन गरेर प्रक्रिया अगाडि बढाउन चाहन्छन्। तर माओवादी भित्र पूर्व जनमोर्चा धारका नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल कुनैपनि हालतमा पास गर्न नहुने अडानमा रहेका छन्। यदि प्रचण्डले साथ दिएको खण्डमा पार्टीनै विभानसम्म हुनसक्ने माओवादी निकटस्थको विश्लेषण रहेको छ।

नेता क्षेत्री यो सम्मेलनले माओवादीको अधिकारीक र प्रष्ट धारणा खोज्ने बताउँछन्। तर न्यौपाने भने देशको हित विपरित कुनैपनि मुद्दा आफ्नो पार्टीभित्र बहसको विषय नहुने तर्क गर्छन्। उनका अनुसार यो विषयले सम्मेलनमा प्रवेश नै नपाउने भएकाले राष्ट्रघाती सम्झौताको धेरै बहस गर्न नहुने उनको धारणा रहेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *