इण्डोनेसियाकी विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्रीको आग्रह मानिनन्, ठाडो जवाफ दिएर फर्काइदिइन्

डिसी नेपाल
१२ पुष २०७८ १४:२७
4.0k
Shares

काठमाडौं। गत हप्ता इण्डोनेसियाको भ्रमणमा गएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले इण्डोनेसियालाई इजरायलसँग आफ्नो सम्बन्ध सामान्य बनाउन आग्रह गरेको तर इण्डोनेसियाले यसलाई अस्वीकार गरेको खुलासा भएको छ । एसिया निक्केइ अखबारसँग इण्डोनेसियाको विदेश मन्त्रालयले यसको पुष्टि गर्दै दुई देशका विदेश मन्त्रीहरुको बैठकमा यो मुद्दा उठाइएको बताएको छ ।

इण्डोनेसिया विश्वको सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । इण्डोनेसियाले प्यालेस्टाइनलाई समर्थन दिएका कारण उसको इजरायलसँग कुनै पनि कूटनीतिक सम्बन्ध छैन । इण्डोनेसियाको विदेश मन्त्रालयका प्रवक्ता तेउकु फैजास्याहले एसिया निक्केइसँग कुरा गर्दै ब्लिंकेन र इण्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदीबीच यो विषयमा चर्चा भएको बताएका छन् ।

ब्लिंकनको यो प्रयासबारे सबैभन्दा पहिले अमेरिकी समाचार वेबसाइटहरुले समाचार प्रकाशित गरेका थिए । यी रिपोर्टमा अमेरिकी राष्ट्रपति बाइडेनको प्रशासनले ट्रम्पको समयको ‘अब्राहम अकार्डस’को विस्तारको कोसिस गरिरहेको बताइएको थियो । अमेरिका मध्यपूर्व बाहिर ती ठूला देशहरुलाई फकाउने प्रयासमा छ जसले इजरायललाई मान्यता दिएका छैनन् ।

ट्रम्प राष्ट्रपति छँदा इजरायल, युएइ, बहराइन र अमेरिकाबीच एक सम्झौतामा हस्ताक्षर गरिएको थियो जसमा इजरायलसँग शान्ति बहाली र कूटनीतिक सम्बन्ध कायम गर्ने विषयमा सहमति भएको थियो । यही सम्झौतालाई ‘अब्राहम अकार्डस’ भनिएको थियो ।

इण्डोनेसियाको विदेश मन्त्रालयका प्रवक्ता फैजास्याहले बैठकका विषयमा बताउँदै उनकी विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई ठाडो जवाफ दिएको बताए । फैजास्याहका अनुसार मर्सुदीले ब्लिंकेनलाई ‘इण्डोनेसियाको प्यालेस्टाइन र त्यहाँका जनताको न्याय र स्वतन्त्रताको लडाइँका विषयमा दृढ स्थिति रहेको र प्यालेस्टाइन मामिलामा इजरायलप्रति आफ्नो नीति परिवर्तन नहुने’ बताएकी थिइन् ।

इण्डोनेसियाको यो स्पष्ट र ठाडो जवाफ बाइडेन प्रशासनको लागि एक झट्काको रुपमा हेरिएको छ । अमेरिकी समाचार वेबसाइटका अनुसार अमेरिकी र इजरायली अधिकारीहरुले हालै अब्राहम अकार्डसको विस्तारबारे छलफल गर्दा इण्डोनेसियाको नाम आएको थियो । रिपोर्टका अनुसार बाइडेन प्रशासन अब्राहम अकार्डसलाई विस्तार गर्न गोप्य तर निकै गम्भीर तरिकाले लागेको छ र यसमा केही समय पनि लाग्न सक्छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका थिए ‘अवस्था सामान्य बनाउनको लागि हामी अतिरिक्त अवसरको खोजी गरिरहेका छौं तर सही अवसर आउँदासम्म हामी यो चर्चालाई बन्द ढोकापछाडि राख्ने छैनौं ।’ यसअघि ट्रम्प प्रशासनले कथित रुपमा इण्डोनेसिया र इजरायलबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *