समुद्र किनारमा २७ जना शरणार्थीको लाश तैरिरहेको भेटिएपछि पूरै क्षेत्रमा त्रासदी

डिसी नेपाल
१३ पुष २०७८ ११:२५
7.9k
Shares

काठमाडौं। राम्रो जीवनको खोजीमा अवैध रुपमा युरोप प्रवेश गर्ने प्रयास गरिरहेका कम्तीमा २७ जना शरणार्थीको लाश पश्चिमी लिबियाको समुद्र किनारमा भेटिएका छन् । लिबियाको रेड क्रिसेन्टले यसको पुष्टि गर्दै यी शरणार्थीको मृत्यु डुङगा पल्टिएका कारण भएको बताएको छ । युरोप जाने यो बाटो अवैध प्रवासीहरु जाने सबैभन्दा खतरनाक बाटो मानिन्छ । यहाँ कैयौं पटक प्रवासीहरु डुबिरहन्छन् ।

रेड क्रिसेन्टका अनुसार राजधानी त्रिपोलीबाट करिब ९० किलोमिटर टाढा तटीय सहर खोम्समा यी शव भेटिएका हुन् । शव दुई अलग अलग स्थानमा शनिबार अबेर राती भेटिएका थिए । यी शवहरुमध्ये एक बालक र २ महिला पनि छन् । रेड क्रिसेन्टले ३ शरणार्थीहरुलाई बचाइएको र अरुको खोजी भइरहेको बताएको छ ।

एक सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीसँग भने ‘जहाज जति सडेको अवस्थामा भेटिएका छन् त्यसबाट जहाज कैयौं दिन पहिले डुबेको थाहा हुन्छ ।’ सुरक्षा अधिकारीले मृतकको संख्या बढ्न सक्ने बताए । लिबियाका मिडिया संस्थानले प्रकाशित गरेका तस्वीरमा लाशहरु किनारामा सुताइएको र त्यसपछि बडी ब्यागमा राखिएको देखाइएको छ । त्रासदीका यी भयानक तस्वीरले कसैलाई पनि विचलित बनाउन सक्छन् ।

यी शरणार्थीहरु लिबिया हुँदै युरोप जाने प्रयासमा थिए तर डुंगा पल्टिएपछि उनीहरुको मृत्यु भयो । एसियाली र अफ्रिकी शरणार्थी अवैध रुपमा युरोप जाने यो प्रमुख र सबैभन्दा खतरनाक बाटो मानिन्छ । संयुक्त राष्ट्रसंघीय प्रवासन एजेन्सीका अनुसार यस वर्ष भूमध्यसागरीय मार्गमा डुङगा दुर्घटनामा लगभग १५०० शरणार्थीको मृत्यु भइसकेको छ ।

उत्तरतिर जानुभन्दा पहिले यी शरणार्थीहरु लिबिया आसपासबाट क्षमताभन्दा धेरै भिडभाड र समुद्रमा जान अयोग्य जहाजमा जान्छन् जसका कारण यी जहाज दुर्घटना भइरहन्छन् । अन्तर्राष्ट्रिय प्रवासन संगठनका अनुसार यस्तै किसिमको घटनामा एक हप्ताभित्र १६० जना शरणार्थीको मृत्यु भएको केही दिनपछि यो घटना भएको हो । यससँगै यस वर्ष यस्ता घटनामा मारिने शरणार्थीको संख्या १५०० पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *