निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

डिसी नेपाल
१५ पुष २०७८ १८:५७

काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका हुन् ।

राष्ट्रियसभाको पहिलो निर्वाचन र दोस्रो, २०७५ को निर्वाचन डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने राष्ट्रियसभाको निर्वाचन धनगढीमा गरिने भएको हो । सुदूरपश्चिममा रिक्त हुने तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य, एक सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित दुई सय २७ जना मतदाता रहेका छन् । उनीहरूको मतभारका आधारमा राष्ट्रियसभा सदस्य चयन हुनेछ ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइनेछ ।

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने निर्वाचन अधिकृत पनेरुले बताए । मतदानकेन्द्रमा तीनवटा मतपेटिका राखिनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *