प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी

डिसी नेपाल
१६ पुष २०७८ १६:५९

काठमाडौं। अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ ।

‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ५९ घटनाबाट ८३ सञ्चारकर्मी प्रभावित भएका छन् । यस वर्ष आक्रमण/हातपातमा २०, समाचार सङ्कलन रोक र तोडफोडमा २०, दुव्र्यवहारमा २०, ज्यान मार्ने र धम्कीमा १५, प्रहरीद्वारा पक्राउमा सात र समाचार लेखेकै भरमा एक पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । ति घटनामा २४ सञ्चारकर्मी सुरक्षाकर्मीबाट, १५ सरकारी कर्मचारीबाट, १० राजनीतिक व्यक्तिबाट, चार गुण्डागर्दीमा संलग्नबाट र अन्य व्यक्तिबाट ३० सञ्चारकर्मी प्रभावित भएको तथ्याङ्क छ ।

सबैभन्दा बढी २९ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बागमती प्रदेशमा रहेका छन् । प्रदेश नं २ र कर्णाली प्रदेशमा सात–सात, लुम्बिनी प्रदेशमा ६ वटा, गण्डकी र सुदूरपश्चिम प्रदेशमा चार–चार र प्रदेश एकमा दुई प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना छन् । मिडियामैत्री कानुनको निर्माण नहुनु, राजनीतिक व्यक्तिबाट प्रेस स्वतन्त्रताविरुद्धका घटनामा कमी ल्याउन पहल नहुनु, पत्रकारविरुद्ध भएका दण्डहीनता अन्त्यको गति सुस्त हुनु, पत्रकार तथा नागरिकलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्नुलगायत कारणले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अझै खतरामा रहेको फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले बताए ।

प्रतिवेदनमा प्रतिनिधि घटनाका रुपमा समाचार लेखेकै कारण काठमाडौँबाट पत्रकार अनिश तामाङ पक्राउ, गोरखापत्र दैनिकको अनलाइन संस्करणबाट पत्रकार घनश्याम भट्टको लेख हटाइएको, सर्वोच्च अदालतले समाचारको विषयमा पत्रकारद्वय राजन कुइँकेल र नारायण अमृतलाई सोधपुछका लागि बोलाएको, समाचार सङ्कलनका क्रममा फोटो पत्रकार निमेशजङ्ग राईलाई प्रहरीद्वारा साङ्घातिक कुटपिट, स्थानीय समाचारको विषयमा धनुषाका पत्रकार सुरेन्द्रकुमार यादवमाथि कुटपिट प्रतिवेदनमा समावेश गरिएको छ । अवैध गिट्टी बालुवा ओसारपसारको समाचारको विषयमा बाँकेका पत्रकार हेमन्त चौधरीमाथि कुटपिटलगायतका घटना पनि उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *