जाडो बढ्दा किन काटियो बिजुली ?

डिसी नेपाल
१६ पुष २०७८ १७:५१

काठमाडौं। मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी पर्‍यो। जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो । पुसको जाडोमा बिजुली काटिँदा धेरैले के भएको हो भनेर जिज्ञासा राखे । सामाजिक सञ्जालमा अघोषित लोडसेडिङ भएको त होइन भनेर चासो उत्पन्न भयो ।

विशेषगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न तेस्र्याउँदै उपभोक्ताले चासो राखे । जाडोको समयमा सकेको जति बिजुली चलाऊ भन्दै आएको प्राधिकरणले किन बिजुली काटियो भन्ने बारेमा उपभोक्तालाई जानकारी त दियो, तर सबैले थाहा पाउन सकेनन् । वर्षात्का काराण बुधबार २०० मेगावाट बराबरको बिजुली प्रणालीले उपलब्ध गराउन कठिनाइ भयो । त्यसकारण उपभोक्तामा के भएको होला वा के गरेको होला भनेर चिन्ता वा चासो व्यक्त हुनु स्वभाविक नै थियो ।

आम रूपमा चासो व्यक्ति भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, “एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।”उनले बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको जानकारी दिए ।

प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उनको भनाइ छ । उनले बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताए । उनले काठमाडौँ उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा नौ वटा सबस्टेशन निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्याङ्क पेश गरे ।

“दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा २ हजार मेगावाट बराबर बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ”, उनले भने, “केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागे ।” उनले पछिल्ला केही दिनदेखि आपूर्ति व्यवस्थापनमा समस्या आएको जनगुनासो आएको र त्यो देशभर नभई काठमाडौँमा मात्रै भएको दावी गरे । उनले भने, “यो सप्लाइको कारणले उत्पन्न भएको समस्या होइन । सप्लाई नपुगेकाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौँका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरूमा मात्र समस्या भएको हो ।”

उनले साँझको समयको अधिकतम माग हाल एक हजार ७०० मेगावाट र बिहान एक हजार ५५० मेगावाटदेखि एक हजार ६०० मेगावाटको हाराहारीमा रहेको जानकारी दिए । माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको जानकारी दिँदै उनले बढी माग हुने साँझ बिहानको समयमा व्यवस्थापन गर्न सहज भएको बताए । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *