अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार

डिसी नेपाल
१७ पुष २०७८ १७:५८

काठमाडौं।चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।

हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए ।

उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ । “हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ”, शेर्पाले भने । हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।

मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *