हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

डिसी नेपाल
१९ पुष २०७८ १४:२९

काठमाडौं।हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो ।

गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *