कर्णालीका सात जिल्लामा एमाले जिल्ला अधिवेशन सुरु

डिसी नेपाल
२३ पुष २०७८ १७:३३

काठमाडौँ ।कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेकपा (एमाले) को जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालीकोटबाहेकका सात जिल्लामा एमालेको अधिवेशन पूर्व निर्धारित समयमै प्रारम्भ भएको हो ।

एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहका अनुसार आज सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, जुम्ला र डोल्पामा जिल्ला अधिवेशन भइरहेको छ । उनले अधिवेशनको पहिलो दिन उद्घाटनसँगै बन्दसत्र हुने र शनिबार नेतृत्व चयनको प्रक्रिया थालिने बताए । कालीकोटको अधिवेशन शनिबार, मुगुको अधिवेशन पुस २७ गते तथा हुम्लाको अधिवेशन आगामी माघ २३ गते हुने भएको छ । तयारी अपुग, मौसम बदलीलगायत कारणले ती जिल्लामा निर्धारित समयमा अधिवेशन हुन नसकेको हो ।

यसैबीच, सुर्खेतकमो वीरेन्द्रनगरमा एमालेको जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य यामलाल कँडेलले आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सङ्गठनलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए । अधिवेशनमा एमाले सुर्खेत जिल्ला इञ्चार्ज नवराज रावत, प्रदेश कमिटी सचिव कमल शाही, केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय बालाराम शर्मा र बालकृष्ण बिसीलगायतले शुभकामना दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *