चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव स्थगित

डिसी नेपाल
२६ पुष २०७८ १९:१०

चितवन । चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द हुनेछन्।

कोरोना संक्रमण बढ्दै गएपछि मेला महोत्सव बन्द गरिएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधि, भरतपुर अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रतिनिधि, चिकित्सकलगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमाले चितवनको अधिवेशन पनि स्थगित

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी गृहमन्त्रालयलाई सिफारिस गरेअनुसार स्वास्थ्य जोखिमलाई मध्यनजर गरी जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको एमाले चितवनले जनाएको छ ।

अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा जारी गरिएको विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *