जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम, व्यवसायी भन्छन्- लागू गर्न सकिँदैन

डिसी नेपाल
३० पुष २०७८ १०:२२

जुम्ला। जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ। यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो।

अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ। जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएकाे छ।

जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएकाे छ । जीपमा जाँदा झन बढी १ हजार २ सय ९ रुपैयाँ तिर्नुपर्नेछ। जुम्लादेखि काठमाडौंकाे बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएकाे छ । डिलक्स र एसी बसकाे भाडा अझ बढी हुन्छ।

छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएकाे छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ। जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएकाे छ । जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएकाे छ।

जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएकाे छ । जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेकाे छ।

जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए। उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएकाे छ।

सरकारले निर्धारण गरेकाे भाडादर लागू नगर्ने व्यवसायीको अडान

यातायात व्यवसायिकले भने सरकारबाट निर्धारण भएकाे भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन्। तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएकाे बताए।

विगतमा छोटो दूरीमा कम्तिमा ६० र लामाे दूरीमा १ हजार ५ सय कायम हुनुपर्ने उनकाे माग छ। सरकारी भाडादर लागू गर्न नसकिने उनले बताए। जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *