टुट, फुट र सत्ता राजनीतिमा रूमल्लिएका मधेस केन्द्रित दल

विजयप्रसाद मिश्र
५ माघ २०७८ ९:५१

काठमाडाैं। मधेसमा मधेसीहरुको लागि मधेसीमूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो। अपवादको रुपमा केही पहाडीमूलका मानिसहरु पनि विभिन्न कारणले मधेस आन्दोलनको पक्षमा देखिएका थिए र छन्।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा आम मधेसीहरुले वि.सं. २०६३ माघमा गरेको आन्दोलनलाई पहिलो मधेस आन्दोलन भनेर चिनिन्छ।

माघ २ गतेबाट औपचारिक रुपमा सुरु भएको मधेस आन्दोलनमा माघ ५ गते लहानमा   पूर्व सञ्चारमन्त्री माओवादीका नेता  राम  कार्कीले नेतृत्व गरेको टोलीबाट चलेको गोली लागि स्कूले विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेसमा आगो झैं सल्किएको मधेस आन्दोलनलाई आजको दिन सम्झनास्वरुप मधेसकेन्द्रित दलहरुले मनाउने गर्दछन्।

आज पनि मधेस प्रदेशले सार्वजनिक विदा दिएर नै मधेस आन्दोलन मनाइरहेको छ । यसबर्षको मधेस आन्दोलनको उत्सवमा उनीहरुले प्रदेश नं. २ लाई मधेस नामाकरण गर्न पाएकोमा गौरबसाथ उठाइरहेका छन् ।

माघ ५ गते लहानमा रमेश महतोको हत्या हुँदा उनी वा उनको परिवार मधेस केन्द्रित दलमा आवद्ध थिएनन्। तर मधेसको हकहितको लागि भएको आन्दोलनमा विद्यालय नजिकै महेन्द्र राजमार्गमा माओवादी र मधेसमा आन्दोलनगरी चक्काजाम गरिरहेका समूहबीच बादविवाद भएको हेर्न आएका रमेश महतोलाई माओवादीका स्थानीय कार्यकर्ता सियाराम ठाकुरले बस भित्रबाट गोली हानेकाले उनको घटनास्थलमै मृत्यु भएको थियो।

मधेस आन्दोलनको सकारात्मक र नकारात्मक दुबै पाटो थियो। आन्दोलन नेताको हातमा थिएन। नेतृत्व विहिन आन्दोलन थियो । बरु आन्दोलनले नयाँ नयाँ नेताहरु बनाउने काम गरेको थियो। माघ ५ गतेदेखि साच्चिकै मधेस आन्दोलनले एउटा रुप लिएपनि लामो समयसम्म आन्दोलन चल्यो जसले विद्रोहको रुप धारण गरेको थियो।

रमेश महतोको मृत्युपछि माओवादीको दादागिरीलाई सहन नसकी आम मधेसीहरु आक्रोशित भएर यातायातका साधनहरु, सरकारी कार्यालयहरु जलाउने काम गरेका थिए। तत्काल सुरक्षा निकायले आन्दोलनमा हस्तक्षेप नगरेकोले अराजक स्थिति सृजना भएको थियो।

उक्त आन्दोलनमा केही स्वार्थी तत्वहरु वा भारतबाट नेपाल आई बसेका नवनागरिकहरुले पहाडी मधेसीको नारा लगाएर सर्वसाधारण पहाडी समुदाय प्रति लक्षित गरी हत्या हिंसा, अपहरण, चन्दा असुलीजस्ता क्रियाकलापहरु गरेका थिए।

मधेस आन्दोलनको सकारात्मक र नकारात्मक दुबै पाटो थियो। आन्दोलन नेताको हातमा थिएन। नेतृत्व विहिन आन्दोलन थियो । बरु आन्दोलनले नयाँ नयाँ नेताहरु बनाउने काम गरेको थियो। माघ ५ गतेदेखि साच्चिकै मधेस आन्दोलनले एउटा रुप लिएपनि लामो समयसम्म आन्दोलन चल्यो जसले विद्रोहको रुप धारण गरेको थियो।

पहिलो मधेस आन्दोलन मधेसी जनअधिकार फोरम नेपालको नाममा संचालित थियो तर यसमा मधेसका राप्रपा, सद्भावना पार्टी र अन्य राजनीतिक पार्टीका मधेसीमूलका नेताहरु पनि सहभागी भएका थिए।

बौद्धिक समाज, नागरिक समाज, संघसंस्था, कर्मचारी, शिक्षक प्राध्यापक, किसान, मजदुर, विद्यार्थी, महिला,बालबालिका, मधेसी दलित, जनजाति सबैको सहभागिता रहेको मधेस आन्दोलनमा केही जिल्लाहरुमा पहाडी समुदायले पनि समर्थनमा जुलुश निकालेका थिए भने केही जिल्लामा पहाडी समुदायले मधेस आन्दोलनको प्रतिकार गरेका थिए।

प्रतिकार भएका स्थानहरुमा दुबैपक्षमा झडप भई केही मानिसको मृत्यु भएको थियो। मधेस आन्दोलनले जातीय हिंसाको रुप पनि कुनै कुनै क्षेत्रमा लिएको थियो।

मधेसमा मधेसीहरुको लागि धेरैले आन्दोलन गरेको पाइन्छ। संस्थागत रुपमा तराई कांग्रेसले वि.सं. २०१० बाट नै मधेसीको हक अधिकारको लागि आन्दोलनहरु गरेको थियो । तर तराईका नागरिकहरुले २०१५ सालको संसदीय निर्वाचनमा नराम्ररी हार्न बाध्य बनायो।

तराई कांग्रेसको मियो नै पञ्चायतमा प्रवेश गरी मन्त्री भएपछि यसको संगठन इतिहासमा मात्र कायम भयो। पछि परतन्त्र मधेसका लेखक रघुनाथ ठाकुरले प्राज्ञिक अनुसन्धान गरी मधेसीहरु माथि हुने विभेदको प्रचारप्रसार गरे।

संगठन निर्माण गर्ने कोशिसहरु पनि गरेका थिए। तर उनको मधेस प्रतिको विचार पुस्तकको रुपमा प्रेस विज्ञप्तीका रुपमा प्रशस्त देखिएपनि उनको संगठन प्रभावकारी हुन पाएन वा हुन दिइएन। उनी पनि इतिहासमै सीमित भएर बसे।

लगातार ६ महिनाको आन्दोलनले पनि कुनै उपलब्धी भएन। भारतले तराई हतियाउन खोज्दैछ भन्ने हाउगुजीका कारणले कांग्रेस, एमाले र माओवादी मिलेर संविधान पारित गरे। मधेस केन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाट बाहिरिए। अहिले मधेस केन्द्रित दलहरुबाट बनाइएको मोर्चा र संगठनहरुले आन्दोलनको विभिन्न रुपमा क्रियाकलापहरु गर्दै आएका छन्।

पञ्चायतकालमा मधेसीहरुले पञ्चायत विरुद्धका आन्दोलनमा एतिहासिक भूमिका निर्वाह गरेका छन्। जनकपुरमा राजामाथि बम हान्ने प्रयास गर्नेदेखि धनुषाको जदुकाहामा २०४६ सालको आन्दोलनमा सहिद हुने मधेसी परिवार हुन या सप्तरीका गजेन्द्र नारायण सिंहको नेतृत्वको मधेसीको हक हीतको लागि खोलिएको तराई परिषद नै किन नहोस सबैले मधेसीको हकआवाजको लागि संस्थागत प्रयासहरु गरेतापनि पञ्चायतको कोपभाजनमा परी मधेसी प्रति राज्य अनुदार रहेको थियो।

२०४७ सालमा आएको प्रजातन्त्र पछि नेपाल सद्भावना पार्टीको गठन संघीयता र मधेस हकहीतका कुराहरुलाई लिएर भएको थियो। यो पार्टीले आन्दोलनहरु गरिरहेको थियो। पार्टीमा नेतृत्वको टकरावले गर्दा फुट्ने र जुट्ने क्रम अहिले पनि जारी छ।

यही सद्भावना पार्टी फुटेर राजेन्द्र महतो, सरिता गिरी, बद्रिनारायण मण्डल, विकास तिवारी, अनिल झा लगायत धेरैले विभिन्न पार्टीको नाममा नेतृत्व गर्ने र अर्को पार्टीमा विलय हुने खेल खेल्न थाले कोही मन्त्री बन्नका लागि पार्टी फुटाउँथे भने कोही व्यक्तित्वको टकरावको कारणले।

कसैले पनि जनहीतको लागि पार्टी फुटाएको प्रमाण फेला परेको छैन वा भनाैं जनतालाई जनहीतको लागि पार्टी टुक्राएको विश्वास नै दिलाउन सकेका छन्।

माघ ५ गतेको आन्दोलन पछि रातारात चर्चामा आएका उपेन्द्र यादव वा उनले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम पनि पछि पार्टीको रुपमा परिणत भयो । मधेस आन्दोलन भएको १४ बर्ष पूरा भएको छ।

यसबीच मधेसी जनअधिकार फोरम पनि १० पटक भन्दा बढी फुट्ने,  जुट्ने, नाम फेर्ने कार्यमा अहिले पनि क्रियाशील छ। अहिले जनता समाजवादी दल भएको छ। अर्को लोकतान्त्रिक समाजवादी पार्टी भएको छ। शुरुमा उपेन्द्र यादवको पार्टी अशोक राईले नेतृत्व गरेको पार्टीसँग मिलेर नयाँ पार्टीको नाम दिएको थियो।

त्यसपछि डा. बाबुराम भट्टराई पनि मिले । पछि महन्थ ठाकुर राजेन्द्र महतोहरुको पार्टीहरु पनि मिल्ने काम गरे। तर फेरि फुटे। हिजो आज फेरि फुट्ने चर्चा छ।  नयाँ अध्यादेश जारी भइहाल्यो वा कानुनले छिद्र दियो भने मधेसी मुद्दाका लागि खुलेका पार्टी फटिहाल्छन् भन्ने धब्बा लागेको छ। मधेस केन्द्रित पार्टीहरु यति खुलेकी उनीहरुको सैद्धान्तिक अडानमा खासै फरक नभए पनि आफ्नो पकडका लागि पार्टी खोलेको देखिन्छ।

मधेस आन्दोलन निरन्तर चलिरहन्छ। यसका स्वरुपहरु मात्र परिवर्तन भइरहन्छन्। मधेसमा पार्टी खुल्ने, टुटने र जुट्ने क्रम पनि द्रूत गतिमै चलिरहन्छ। मधेस नेपालको लागि एउटा समस्याको रुपमा रहिरहन्छ। जबसम्म नेपाल र नेपाली भनाउँदा नेताहरुले मानवीय भावना, आत्मसम्मान, समावेशी, समानुपातिक, सहभागितामूलक सिद्धान्तलाई आत्मसाथ गर्दैनन् तबसम्म मधेस आन्दोलन चलिरहन्छ।

पछिल्लो समयमा पहिलो सम्बिधानसभा अघि मधेसमा पहिलो र दोस्रो आन्दोलन भए। त्यसपछि धेरै पटक संविधानमा आफ्नो माग सम्बोधन गराउन आन्दोलनहरु गरे। दोस्रो संविधानसभाले संविधान बनाउने बेलामा झन ठूलो आन्दोलन भयो। सीमाक्षेत्रमा बसे नाकाबन्दी गर्ने, राजमार्गमा बन्द आह्वान गर्नेकाम भयो।

लगातार ६ महिनाको आन्दोलनले पनि कुनै उपलब्धी भएन। भारतले तराई हतियाउन खोज्दैछ भन्ने हाउगुजीका कारणले कांग्रेस, एमाले र माओवादी मिलेर संविधान पारित गरे। मधेस केन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाट बाहिरिए। अहिले मधेस केन्द्रित दलहरुबाट बनाइएको मोर्चा र संगठनहरुले आन्दोलनको विभिन्न रुपमा क्रियाकलापहरु गर्दै आएका छन्।

तर सबै राजनीतिक पार्टी उनीहरुको माग पूरा गर्ने पक्षमा छैनन्। प्रदेश नं. २ लाई मधेस बनाउनमा माओवादी केन्द्रको पनि समर्थन रहेको र नेपाली कांग्रेस र एमाले वा माधव नेपालको पार्टीका केही मधेसीमूलका सांसदहरुले गोप्य मतदानको फाइदा उठाएर फ्लोर क्रश गरेकाले दुई तिहाईले मधेस नाम पास भयो।

यसले हेर्दा अबको संविधानमा संशाेधन गर्न जुन उपेन्द्र यादव र महन्थ ठाकुरले भनिहेका छन् त्यसमा भोटकै लागि भएपनि माओवादीले साथ दिने देखिएको छ।

नेपाल अहिले जुन परिस्थितिबाट गुज्रीरहेको छ त्यसलाई विश्लेषण गर्ने हो भने नेपाललाई मधेस नभइ हुँदैन । तर मधेसमा धेरै भारतीयहरुको घुसपैठ भएर नागरिकता लिएर बसोबास गरिरहेका छन् उनीहरु पहिले आदिवासीका रुपमा रहेका मधेसीहरुको जस्तो नेपालप्रति माया भएका होइनन् भन्ने अनुमान गरिँदैछ र राज्य सत्तामा बसेकाहरु सबै मधेसीलाई एउटै तराजुमा तौलिएर हेर्ने परम्परागत सोचका भएकाले मधेसीहरु भडकिरहेका छन्।

नागरिकता वितरणमा प्रशासकहरुले घुसखाएर गैर नेपालीलाई पनि नागरिकता दिने प्रचलनले गर्दा जो बास्तविक मधेसी मूलका नेपालीहरु उनीहरुलाई मधेसमा समस्या भइरहेको यसप्रति राज्य गम्भीर हुनुपर्दछ।

साच्चै भन्ने हो भने कृष्ण सिटौला वा केपी ओलीका पूर्खा भन्दा पहिले देखि नेपालमा बस्दै आएका मधेसीहरु छन् जसलाई सिटौला र ओलीको आँखाले नेपाली भनेर सम्मान गर्न सकिरहेको छैन। यसले मधेसीहरुको आत्मसम्मानमा ठेस पुगेको छ।

राजनेताहरुले अनुसन्धान गरेर मधेसीहरुबीचमा पनि नवनागरिकहरु को को हुन् तिनीहरुलाई नवनागरिक बनाउन ओली र सिटौलाको पार्टींको कत्तिको हात छ भन्ने कुरा स्वयंम मनन् र विश्लेषण गरेर मात्र सार्वजनिक अभिव्यक्ति दिनु पर्ने देखिन्छ। यसमा नेताहरु चुकेका छन्।

अहिले डा. सीके राउतले चलाएको भ्रष्टचार विरोधी र किसानको हकहितको लागि चलाएको आन्दोलनले मधेसको राजनीतिक माहौल तातिएको छ। जुलुश, सभाहरु हेर्दा मधेस आन्दोलनको सम्झना गराउँछ। सीके राउतको आन्दोलनले गर्दा पनि मधेसी सांंसदहरु दवावमा परेर यसपटक मधेस नामाकरण गर्न बाध्य भएको देखिन्छ।

तर नाममात्र प्राप्त भएर भएको छैन मधेसलाई। यहाँको नेता भ्रष्ट भए भन्ने प्रमाणित जनमत पार्टीको आन्दोलनले गरिरहेको छ। उखु किसान हुन वा अन्य किसानहरु अहिले पनि पीडामा रहेका छन्। नत समयमा बीऊ नै पाइन्छ नत मल नै यस्तो स्वतन्त्रता केको लागि भन्ने प्रश्न किसानहरुले सीके राउतको साथ पाएर उठाइरहेका छन्।

त्यसैले मधेस आन्दोलन भएको आज १५ बर्ष पछि पनि आर्थिक, सामाजिक समस्याहरु ज्यूका त्यूँ छन् । त्यसैले आज पनि मधेस आन्दोलन भइरहेको छ।

त्यसैले मधेस आन्दोलन निरन्तर चलिरहन्छ। यसका स्वरुपहरु मात्र परिवर्तन भइरहन्छन्। मधेसमा पार्टी खुल्ने, टुटने र जुट्ने क्रम पनि द्रूत गतिमै चलिरहन्छ। मधेस नेपालको लागि एउटा समस्याको रुपमा रहिरहन्छ। जबसम्म नेपाल र नेपाली भनाउँदा नेताहरुले मानवीय भावना, आत्मसम्मान, समावेशी, समानुपातिक, सहभागितामूलक सिद्धान्तलाई आत्मसाथ गर्दैनन् तबसम्म मधेस आन्दोलन चलिरहन्छ।

मधेस आन्दोलन मात्र होइन। नेपालमा जातिय आन्दोलनहरु चलिरहन्छ। ती जातीय आन्दोलनहरुमा मधेस आन्दोलनको खेती अरुभन्दा बढी चर्चा परिचर्चामा रहने मात्र हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *