मधेस र तराई शब्दको अर्थ – Dcnepal

मधेस र तराई शब्दको अर्थ

प्रदेश नं. २ ले आफ्नो नाम मधेस राखेपछि अहिले नेपाली राजनीतिमा तराई कि मधेस? भन्ने विवाद चुलिएको छ। नेपालमा मधेस आन्दोलनमा विद्यावारिधी गर्दा पंक्तिकारले मधेस र तराई शब्दको बारेमा ऐतिहासिक खोजविन गर्दा पाएका सन्दर्भहरुलाई आफ्नै शोधप्रबन्धमा समावेश गरेको छु। सोको आधारमा इच्छुक पाठकहरुको जानकारीका लागि यो विश्लेषण प्रस्तुत गरेको छु।

साधरण रुपमा हेर्दा नेपालको चुरे श्रृंखलाको दक्षिण भागमा रहेको समथर भूभागलाई मधेस वा तराई भनिन्छ। यो नेपालको भारतसँग जोडिएको दक्षिणी भूभाग हो। मधेस वा तराई शब्दमध्ये कुन उपयुक्त हो भन्ने विषयमा मानिस पिच्छे फरक फरक धारणा पाइन्छ। तसर्थ मधेस, तराई शब्दको सही अर्थ के हो? र नेपालको दक्षिणतर्फ रहेको समथर भूभागलाई मधेस या तराई मध्ये कुन शब्दले सम्बोधन गर्दा सही हुन्छ भन्ने खोज यसमा गरिएको छ।

मधेस’ शव्द संस्कृत भाषाको ‘मध्यदेश’ को अपभ्रंश हो। जसको अर्थ हुन्छ वीचको देश। मनुस्मृति (२ । २१) मा मध्यदेशको सिमानाको बारेमा निम्न कुरा बताइएको छ। यो उत्तरमा हिमाञ्चल पहाड, दक्षिणमा बिन्ध्याञ्चल पहाड, पश्चिमामा राजस्थान र पूर्वमा प्रयाग बीचको भाग हो।

डा. वी.एन. तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित सन् १९७५ को संस्करणमा प्रकाशित हिन्दी अंग्रेजी शव्दकोष अनुसार ‘मध्यदेश’ भन्नाले विन्ध्याञ्चल, कुरुक्षेत्र र अलाहावादको वीचमा पर्ने मध्यक्षेत्रको प्राचीन नाम हो भनी उल्लेख छ।

नेपाली बृहत शब्दकोषमा मध्यदेश भन्नाले मदेस : मधेस् वा बीचमा पर्ने ठाउँ : केन्द्रस्थल भनि अर्थाइएको छ। त्यसैगरी नेपाली शब्द सागर ( सोपपत्तिक कोश ) का सम्पादक बसन्तकुमार शम्र्मा ‘नेपाल’ले मध्येदेशलाई माझको देश वा क्षेत्र, मधेस, प्राचीन कालिक परिभाषामा हिमालय– विन्दयपर्वत–प्रयाग र प्राग्विनशन क्षेत्रको बीचमा पर्ने भूभाग भनी अर्थायका छन् भने मध्येदेशीयलाई मध्यदेश वा मधेसको, मदिसे भनी अर्थलगाएका छन्।

त्यसैगरी इतिहांस शिरोमणि वावुराम आचार्यले मधेस अम्वालादेखि प्रयागसम्मको समतल मैदानी भूभाग हो भनेका छन्। नेपाली संक्षिप्त शव्दकोषमा हिमालदेखि दक्षिण विन्ध्याञ्चल पर्वतदेखि उत्तर कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश भनिएको छ।

माथि उल्लेख भएको क्षेत्र भारत भित्र पर्दछ। इशा पूर्व छैठौं शताब्दी तिर उत्तर भारत तथा बर्तमान नेपालको दक्षिणी समतल मैदान तिर बुद्ध धर्मको प्रचार भइरहेको थियो। यसै वेला गंगा र यमुनाको मैदानी भागमा बसोबास गर्ने कट्टर बाहुनहरुले बुद्ध धर्मलाई त्यस क्षेत्रवाट विस्थापित गराएर अम्बालादेखि प्रयागसम्मको समतल मैदानलाई मध्यदेश भन्ने नाम दिए। मध्यदेशवाट मधेस भएको हो।

तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ। ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेसलाई गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ। बृटिशहरु मधेस बुझ्दैनथे। तर तराई बुझ्दथे। नेपाल सरकारसँग गरेको सम्झौतामा उनीहरुले ‘तराई’ शब्द नै राखेका छन्।

नेपालका पहाडी र हिमाली भेगका बासिन्दाहरुले विहार र अबधको समथर भुभागलाई मात्र होइन नेपालकै दक्षिणमा रहेको समथर भुभागलाई पनि मधेस भन्न थाले। मधेसमा बसोबास गर्ने जातिहरुलाई पछि मधेसी भनेर सम्बोधन गर्न थालियो। गोपाल सिंह नेपालीले मधेसको यो जातिलाई मधेसी संस्कृति समूह (Madhesi culture Group ) भनेका छन्।

गोपालबंशी राजा भुक्तमानले नेपाल राज्यको स्थापना गर्नु अघिदेखि नै अहिलेको नेपालको समथर भूभागको रुपमा रहेको मधेसमा विराट, सलहेस, विदेह, कपिलबस्तु जस्ता राज्यहरु अस्तित्वमा थिए। राज्य जनता विनाको हुँदैन।

त्यसैले मधेसमा परापूर्व कालदेखि नै मानिसको बसोबास भएकोले मध्यदेशवाट आएर तराई बसेकाहरु मधेसी भएका हुन भन्नु भन्दा नेपाल अस्तित्वमा आउनु भन्दा अघिदेखि तराई क्षेत्रमा विभिन्न राज्यको प्रजाका रुपमा बसिरहेकाहरु मध्येदेशको कला संस्कृति, रितिरिवाजसँग परिचित भएका र सोही क्षेत्रमा विवाहवारी, नाताकुटुम्ब जोड्ने चलनले गर्दा मध्येदेशको संस्कार अवलम्बन गर्ने वा मध्यदेशको संस्कार बोकेर नेपालको तराई भूभागमा आएर बस्नेहरुलाई समग्रमा मधेसी भन्न थालिएको हो।

नेपाली शब्द सागर ( सोपपत्तिक कोश) मा तराई भन्नाले पहाडभन्दा तल पर्ने समथर भूभाग, मैदानी फेदी भाग भनी उल्लेख गरिएको छ। त्यसैगरी नेपाली बृहत शब्दकोषमा तराई भन्नाले पहाडमनिको फराकिलो समतल भूभाग भनिएको छ। तराई र मधेसको परिभाषा आआफ्नै तरिकाले दिइएपनि मधेसलाई संस्कृतिसँग जोड्नेको मत धेरै छ भने तराईलाई भूगोलसँग जोड्नेको मत बढी देखिन्छ। मधेस र तराई शब्दको प्रयोगमा एकमत नहुँदा विभिन्न तर्कहरु आइरहेका छन्।

मध्यदेशवाट आएकाहरु मधेसी हुन भन्ने तर्क दिनेहरुसँग मधेसकर्मीहरु र मधेसी नेताहरु सहमत छैनन्। उनीहरुको तर्कमा नेपालको अस्तित्व हुनु भन्दा अघिदेखि मधेसमा राज्यहरु थिए र ती राज्यका नागरिकहरु मधेसी हुन भन्ने छ। मधेसको पक्षमा बोल्ने नेकपा माओवादीका नेता मातृका यादवले ‘मधेस देश हो यो कुनै भूगोल होइन’ भनेका छन्। यादवले मधेसी त राष्ट्रियता हो भनेका छन्। यादवले भनेजस्तै मधेसमा बसोबास गर्ने सबै मधेसी होइनन्।

यहाँ आफूलाई मधेसी होइनौं आदिवासी हौं भन्ने थारुहरु पनि बसोबास गर्दै आएका छन् भने सरकारी कामकाजको सिलसिलामा मधेस नेपालमा गाभिएदेखि नै पहाडी समुदायका मानिसहरु कर्मचारीका रुपमा, सुरक्षाकर्मीको रुपमा मधेसमा बस्दै आएका छन् र राजा महाराजा, श्री ३ सरकारवाट प्राप्त भएको जागिर, विर्ताका जग्गाहरु उपयोग गर्न उनीहरुका परिवारहरु तराईमा बसोबास गर्न आएको पाइनुले अहिलेको मधेस मिश्रित संस्कृति भएको मधेसको रुपमा परिचित भएको छ।

हो, नेपाल भित्र बसोबास गर्ने मधेसीहरु चाहे उनीहरु मधेसमा बसुन वा केश काट्ने पेशा गर्न होस वा शिक्षकको रुपमा पहाडको कुनै दुर्गम क्षेत्रमा बसोबास गरेका किन नहुन उनीहरुको आफ्नै संस्कृति छ। उनीहरु चाहे नेपालको राजधानी काठमाण्डौमा बसोबास गरेका किन नहुन सबै मधेसीहरुको आफ्नै संस्कृति, रितिरिबाज छ।

जसलाई नेपाल भित्रको उपराष्ट्रियताको रुपमा स्वीकार गर्नु पर्दछ। मातृका यादवकै शब्दमा मधेसी त राष्ट्रियता हो भन्ने कुरा सही हो। मधेसीलाई जातको रुपमा परिभाषित गरेर अल्मलाउने काम भएको छ। मधेसी एउटा पहिचान हो, एउटा उपराष्ट्रियता हो।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता शिवकुमार मण्डल भने मधेस एउटा भूगोल हो भनेका छन्। उनले मधेस एउटा भूगोल हो र त्यो भूगोलमा बस्ने मधेसी हुन् भन्ने तर्क गरेका छन्। उनका अनुसार मधेसमा विभिन्न जातिहरु बस्ने भएकाले केही जातिहरु आफूलाई मधेसी भनेको मन पराउँदैनन् र उनीहरुले मधेसलाई तराई भन्न मन पराउँछन्।

तर सप्तरीका विजेन्द्रकुमार सिंहले ७ बर्ष अघि दिएको तर्कमा प्राज्ञिक रुपमा मधेस शब्द भन्दा तराई शब्द प्रमाणिक हुन्छ भन्ने छ। मधेस शब्द राजनीतिक कारणले आएको हो भन्ने उनको तर्क छ। सिंहका अनुसार मधेसलाई कुन दृष्टिकोणले परिभाषा गर्ने? माओवादीको दृष्टिकोणले की मधेस समर्थित पार्टीको दृष्टिकोणले परिभाषा गर्ने? कि आर्यबर्तको आधारमा? त्यहाँको बसोबासको दृष्टिकोणले? वा अन्य कुनै दृष्टिकोणले?

सिंहका अनुसार नेपालमा सर्वसाधारणको जुन लेम्यान कन्सेप्ट छ, त्यसलाई प्राज्ञिक मान्यता दिने हो भने विश्वविद्यालय किन बनेको छ? विश्वविद्यालयहरु विश्वव्यापी अबधारणालाई स्थापित गर्नको लागि बनेको छ। उनको तर्क छ, ‘हामी नेताको परिभाषामा विश्वास गर्दछौं भने विश्वविद्यालयका प्रोफेसरहरुको के काम? प्रमाण सिद्ध तथ्यको आधारमा जुन कुरालाई प्रमाणिकता दिन सक्नु हुन्छ त्यसको आधारमा व्याख्या गरिनु पर्दछ।’ सिंहको तर्कमा मधेसको एतिहासिक परिभाषा मध्यदेशवाट बनेको हो।

नेपालको दक्षिणी समथर भूभागमा बसोबासगर्नेहरुको हक अधिकारका लागि आवाज उठाइरहेका मधेसी मूलकै नेताहरु बीचमा मधेस र तराई शब्दमध्ये कुन उपयुक्त भन्ने तर्कमा सहमति हुन नसकेको अहिलेको अवस्थामा मधेसीको पहिचान र संस्कृति जोडिने सन्दर्भमा मधेस र भुगोल देखाउन तराई लेख्न सकिन्छ। मधेसलाई राजनीतिक रुपमा स्थापित गरिएको शब्द भएकोले आन्दोलनको उपलब्धीका रुपमा मधेस भन्न सकिन्छ।

आर्यवर्तको मध्यभूमि हो। आर्यबर्तको आधारमा मधेस भन्नाले पहिलेको अलाहावाद त्रिवेणीदेखि पश्चिम कुरुक्षेत्रदेखि पूर्व हिमाञ्चलदेखि दक्षिण र विद्याञ्चलदेखि उत्तर जुन आर्यवर्तको मूल भनिन्छ त्यो नै हो। उनको तर्क एउटा प्रश्न उठाउन सकिन्छ। त्यसो भए भारतभरी कतै मधेस त छैन त? उनले भनेजस्तो मध्यदेशबाट मधेस बनेको हो भनी मान्ने हो भने भारतमा मधेस हुनुपर्ने हो नि? तर छैन। त्यसैले मध्येदेशबाट मधेस बनेको तर्ककै पछि लागिरहनु पनि आवश्यक छैन।

उनका अनुसार हाल सर्वसाधारणले प्रयोग गरेको मध्यदेश भन्नाले बफरपोर्सन हुन्छ। जहाँ कसैको सरकार हुँदैन। फिजिक्समा पनि संघर्ष नहुनुलाई नो म्यान्स ल्याण्ड राखिएको हुन्छ। के यो नो म्यान्स ल्याण्ड हो? उनको तर्क छ, मध्यदेश भनेको न यहाँको न उहाँको भन्ने हो? इतिहासले के भन्दछ भने जव सुगौलीको सन्धी भएको थियो। त्यसबेला यो मधेस जुन तराई भाग छ त्यो अंग्रेजहरुले लिएका थिए। २ लाख रुपैयाँ दिने र यसको शासन प्रशासन अंग्रेजले लिने भन्ने कुरा उल्लेख थियो।

अंग्रेजहरुले दुई लाख पनि उठाउन सकेनन् अनि फर्काए। कुन आधारमा तराई इष्ट इण्डिया कम्पनीलाई दिने निधो भएको थियो सुगौलीको सन्धीमा? त्यतिखेर कुनै शासन प्रशासन, सार्वभौम सत्ता इत्यादीको ‘कन्सेप्ट’ थिएन। जसको हातमा शक्ति थियो उसले आफ्नो बनाउँथ्यो। तर अहिले आएर यूएनओ, विश्वविद्यालयहरु स्थापित भइसकेकोले अधिकारको कुरा गर्न थालियो।

सिंहको तर्कमा तराईलाई भारतमा मधेस किन भनिँदैन। तराई भारतमा कश्मिरदेखी हिमालसम्म छ यसलाई किन भारतमा मधेस भनिँदैन। त्यसलाई किन मधेस नभनेर तराई भनिन्छ। तराई अंग्रेजी शब्द हो। नेपालमा किन यसलाई मधेस भनिन्छ? त्यतिखेरको शासकहरुले जे भन्थ्यो त्यो जनमानसमा र जनजिब्रोमा घुसी सकेको छ।

पृथ्वीनारायण शाहले तराईमा आक्रमण गर्न पठाएका सेनाहरुलाई पठाएको पत्रमा समेत मधेस शब्दको प्रयोग गरिएको छ। पहाडका मानिसहरु तराई आउनु परेमा मधेस झर्ने भन्दछन्। यसरी मधेस–मधेस भन्दा भन्दै यो मधेस भयो। तर प्राज्ञिक जगतमा यो प्रयोग हुने शब्द नै होइन। नेपाल र ब्रिटिश इष्ट इण्डिया कम्पनी बीच भएका संधीहरुमा तराई शब्दको प्रयोग भएका छन्। तराई अंग्रेजी शब्द हो र त्यो नेपालीकरण भएको छ। यसलाई नेपालीमा पनि तराई भनिन्छ।

मधेस शब्द मधेस आन्दोलनले स्थापित गरेको शब्द हो। राजनीतिक पार्टीहरुले मधेस सवाललाई उठाउने सन्दर्भमा मधेस शब्दको प्रचुर मात्रामा प्रयोग गरेका थिए र यो शब्द अहिले सरकारी रुपमा प्रयोग हुन थालेको छ। २०६३ साल माघ महिनामा भएको मधेस आन्दोलनको बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसको मागलाई सम्वोधन गर्ने क्रममा जारी गरेको पहिलो विज्ञप्तिमा मधेस शब्द कतै उल्लेख नभएको भन्दै मधेस आन्दोलन झन् भड्किएको थियो।

पछिल्लो विज्ञप्तिमा मधेस शब्दको प्रयोग गरेपछि मधेस आन्दोलन गर्नेहरुले सरकार प्रमुख जो मधेस शब्द बोल्न पनि चाहँदैनथे उनलाई उक्त शब्द प्रयोग गर्न बाध्य पारेकोमा गर्व गरेका थिए। यसबाट पनि के भन्न सकिन्छ भने पहिलेदेखि तराई भनिदै आएको नेपालको दक्षिणी समथल भुभाग नै राजनीतिक आन्दोलनका कारण मधेसमा रुपान्तरण भएको छ। र, अब यो शब्दले सबै पक्षबाट मान्यता पाइसकेको छ।

काठमाण्डौ चाहविल निवासी लेखक खगेन्द्र संग्रौलाले ‘तराई भनेको भूगोल हो। चुरेको फेदीमा रहेको समग्र समथर भूगागको कुरा गर्नु हुन्छ भने त्यो तराई हो। मधेस भनेको इतिहास, परम्परा, सभ्यता र संस्कृति हो। तर जब हामी मिथिलाञ्चलमा प्रवेश गर्दछौं तब त्यो नामले नै मिथिला सभ्यता र परम्पराको कुरा बुझिन्छ।

नेपालको दक्षिणभागको सबै समथर भूमि तराई हो। तराईमा विविधता छ। त्यसको विविधता भनेको साँस्कृतिक, जातिगत र भाषागत विविधता छ। थारुहरुले मधेस भन्ने चीज मान्दैमान्दैन। मधेस भन्नाले जनकपुरको सेरोफेरो भन्ने बुझिन्छ भनेका छन्।

त्यसैगरी तराई जलरही है नामक पुस्तकका लेखक सप्तरी जिल्ला निवासी आर.डी. आजाद (साह)ले तराई र मधेस दुईटै शब्दको महत्व रहेको बताएका छन्। साहले मधेस शब्द भनेको भूगोल पनि हो संस्कृति पनि हो भनेका छन्। उनले मधेस शब्दवाट भूगोल पनि इन्गित दिन्छ, संकेत दिन्छ र संस्कृति पनि हो। मतलब मध्येदेशको संस्कृति पनि बुझिन्छ। सिधै यो बैदिक संस्कृति हो भनुम। किन भने ऋगवेदको केही ऋचाहरु छोडेर बाँकी सबै बेदहरुको र पुराणहरुको उत्पत्ति मधेस मै भएको हो।

जन्म मधेस मै भएको हो। त्यस कारण मधेस तपाईको एउटा संस्कृति पनि हो। तर तराई भनेको संसारको धेरै देशमा छ। तराई भनेको एडभान्स लर्नर डिस्नरी अनुसार तराई भनेको प्लेन ल्याण्ड हो। तराई शब्द किन प्रचलित भयो भने १८१५ को सुगौली सन्धीमा तराई नै लेखिएको छ। ८ डिसेम्बर १८१६ को स्मरण पत्रमा मधेसलाई गोर्खाली समुदायलाई दान दियो त्यसमा पनि तराई शब्द नै छ। बृटिशहरु मधेस बुझ्दैनथे। तर तराई बुझ्दथे। नेपाल सरकारसँग गरेको सम्झौतामा उनीहरुले ‘तराई’ शब्द नै राखेका छन्।

उनले ‘दुर्भाग्यको कुरा १९५० को सन्धी, १९२३ को सन्धी र भारतले गरेको शान्ति सन्धीमा पनि तराई शब्द नै राखेको हो। जयकृष्ण गोइतले तराई हाम्रो स्वतन्त्र भन्ने तर्क दिँदा कसैले खोज्यो भने त्यसलाई देखाउनका लागि पनि तराई शब्द नै राख्नु पर्दछ भन्ने जयकृष्ण गोइतको दावा हो’ भने।

साहको तर्कमा एतिहासिक सन्धी सम्झौताको दृष्टिले तराई शब्द अनुपयुक्त होइन। तर हुनु पर्ने खास मधेस शब्द हो भन्ने छ। उनले यसलाई समष्टिगतमा यो एक अर्काको पर्यायबाची नै हुन्छ भनेर तराई र मधेस शब्द प्रतिको विवादलाई लम्ब्याउन नहुने बताए। नेपालमा पहाडी र जनजाति समुदायका मानिसहरु दक्षिणको समथर भूभागलाई तराई भन्न रुचाउँछन् भने मधेसमूलका मानिसहरु दक्षिणको समथर भूभागलाई मधेस भन्न रुचाउँछन्।

डाक्टर सिके राउतले आफ्नो पुस्तक ‘मधेसका इतिहास’मा मधेस शब्दलाई प्राज्ञिक रुपमा स्थापित गर्न अनेक प्रमाणहरु दिएका छन्। उनको पुस्तकमा पृथ्वी नारायण शाहले ई. सन् १७७१ नोभेम्बर १९ मा अभिमान सिंह बस्नेतलाई लेखेको पत्रमा ‘जेठा चौतारिया मदेशमा राजा हुन लाग्या भनि जेठि चौतार्नियै तैले कलपिकन भनिस भनि तैसित जेठा चौतारिया झगडा गर्न खोज्दछन् गरे त्यो कुरा यस्तो हो जेठा चौतारियाको …..’।

त्यसैगरी पृथ्वी नारायण शाहले भगवन्तनाथलाई ई.सन् १७७४ डिसेम्बर ९ मा पठाएको पत्रमा ‘… किराँतो अम्बल मदेश पहाड भोट जति थियो. आफ्ना आशीर्वादले सबै फत्त्य भयो. मधेशमाहाँ कनकाई नदी पहाडमाहाँ साभा षोलो तमोर नदीको साँध लाग्यो. मानिस काट्न पाइयेनन्. भाग्यो. कति मोगलानातिर गयो. कति सुषिमतिर गयो.अरु झार जङ्गलमहाँ जना ८५ बेसि काटिया. बाकी सुषिमसङ्ग हाम्रो घा हुन लागिरहेछ. …..’।

राउतकै पुस्तकमा पृथ्वी नारायण शाहले पूर्वी मोर्चामा गएका अभिमान सिंह बस्नेत, पारथ भण्डारी, कीर्तिसिंह खवासलाई ई.सन् १७७४ अक्टुबरमा लेखेको पत्रमा मधेस शब्दको प्रयोग भएको उदारहण दिएका छन्। उक्त पत्रको केही अंश ‘सुषिम चमकि गयो. घा तोडिहाल्यो त. आखिर. तेत्तिमहा. पनि. चटकिगयो त. मधेस छोडन्या होइन. ….’ ।

माथिका तीनवटै पत्रलाई आधार मान्दा नेपालको एकिकरण अभियान संचालन गर्नु भएका गोर्खाका राजा पृथ्वी नारायण शाहले पटक पटक लेखेको पत्रमा मधेस शब्द उल्लेख हुनुले नेपालको दक्षिणी भागमा रहेको समथल भूभाग नेपालमा एकीकरण हुनु अघि देखिनै यसलाई मधेस भन्ने गरिएको रहेछ भन्ने प्रमाणित हुन्छ।

स्थानीय रुपमा नेपालको पहाडी भेगका मानिसहरुले मधेस शब्द पहिले देखि प्रयोग गर्दै आएकाले पनि यो प्रमाणित हुन्छ। तर, जब नेपालको अन्य मुलुकसँग सन्धि सम्झौता भयो तब ती सन्धि संझौतामा तराई लेख्न थालियो। पश्चिमाहरुले यसलाई मधेस भनेर बुझ्नु भन्दा तराई भनेर बुझ्न सहज ठाने। अंग्रेजी भाषामा समथल भूमिलाई तराई लेखिएकोले संधिहरुमा पनि तराई लेख्न थालियो। पछि यही तराई शब्दको उच्चारण नेपालीमा पनि हुन थाल्यो र नेपाली भाषाको आगन्तुक शब्दको रुपमा तराई शब्द रहन गयो।

तराई शब्दको प्रयोग १८१४ ई.सन् देखि मात्र भएको हो। तर मधेस शब्दको बास्तविक परिभाषा स्वयं गौतम बुद्धले गर्नु भएको हो भन्ने तर्क रघुनाथ ठाकुरको पुस्तक परतन्त्र मधेश र उसकी संस्कृतिमा भनिएको छ। ठाकुरले तराई होइन मधेस भन्ने तर्क अघि सारेर सिके राउतले उल्लेख गरेकै शैलीमा लेखेका छन्।

उनले वि.सं. २००८ साल भाद्र २५ गते उद्योग र बाणिज्य मन्त्रालयको सूचना, नेपाल गजेट, भाग ३ मा मधेस शब्दको प्रयोग भएको उल्लेख गर्दै उक्त गजेटको केही अंश यसप्रकार राखेका छन्।

‘… नेपाल मधेश, पहाड सबै ठाउँको निमित्त चाहिने चाड्, गाध्रा, कर्कचरे ( करकच) साबरी, सीधे नून मध्ये कुन किसिमको नून कहाँवाट कुन ठाउँका निमित्त कति नून कति महिना भित्र ल्याई के दरमा बिक्री गर्ने हो आफ्नो सर्त समेत खोली नेपालका निमित्त ल्याउनेले १ महिना भित्र र मधेश पहाडका निमित्त ल्याउनेले २ महिना भित्र यस मन्त्रालयमा पुग्ने गरी दर्खास्त गर्नु होला।’

तराई शब्दको प्रयोग १८१४ ई.सन् देखि मात्र भएको हो। तर मधेस शब्दको बास्तविक परिभाषा स्वयं गौतम बुद्धले गर्नु भएको हो भन्ने तर्क रघुनाथ ठाकुरको पुस्तक परतन्त्र मधेश र उसकी संस्कृतिमा भनिएको छ। ठाकुरले तराई होइन मधेस भन्ने तर्क अघि सारेर सिके राउतले उल्लेख गरेकै शैलीमा लेखेका छन्।

त्यसैगरी वि.सं. २००५ सालमा प्रकाशन भएको मुलुकी ऐन, भाग ३ अध्याय ‘रुख काट्नेको’, कानून नं. ४ को पृष्ठ १४ मा उल्लेख भएको भन्दै रघुनाथ ठाकुरले आफ्नो पुस्तकमा निम्न कुरा राखेका छन्।

‘…. महाकाली पूर्व मेची पश्चिम गोरखा राजभर मुलुकका मधेश तराईका विर्ता, बेख, फिकदार, छाप सदावर्त,मानाचाँबल समेत गैह्र माफी विर्ता जङ्गलको रुख विना श्री प्राइम्मिनिष्टर को हुकुम सनद नभई कसैले काटी वा अरु कुनै किसिमसँग नोक्सान गर्न गराउन लिनसमेत हुँदैन।’

नेपालको दक्षिणी समथर भूभागलाई सिके राउत र रघुनाथ ठाकुरले ‘मधेस’ शब्द नै भन्न उपयुक्त भनेर तराईलाई उपेक्षा गरेको पाइदैन। तराई शब्दहरु प्रयोग भएका पनि प्रशस्त उदाहरणहरु दिएका छन्। सिके राउतकै तर्कमा तराई र मधेस शब्दलाई राजनीति मुद्दा बनाएर विवाद गरिरहनु उपयुक्त हुँदैन।

उनले आफ्नो पुस्तक मधेसका इतिहासमा मधेस शब्दको एतिहासिकताको व्याख्या गर्दै निष्कर्षमा ‘तराई वा मधेस शब्दको अस्तित्व र प्रयोगको विषयलाई लिएर एकअर्कोको विरोधपूर्ण रुपमा हेरिनु भन्दा दुबै प्रयोग गर्न सकिन्छ।’ जसरी तराई छुट्टै राज्यको माग गर्दै भूमिगत आन्दोलन गरिरहेका जयकृष्ण गोइतले आफ्नो पार्टीको नाममा शुरुदेखि नै तराई शब्द राख्दै आएका छन्।

उनको तर्कमा संयुक्त राष्ट्रसंघले ऐतिहासिक दस्तावेजको आधारमा कुनै कुराको पक्ष वा विपक्षमा लाग्दछ र जुन सन्धिसम्झौतालाई आधार मानेर तराई छुट्टै राज्य हुनु पर्दछ भनेर माग गरिँदैछ त्यो दस्तावेजहरुमा मधेस नलेखेर तराई शब्द देखिएकोले मधेस भन्दा तराई शब्द राख्न उपयुक्त हुन्छ भन्ने छ।

नेपालको दक्षिणी समथर भुभागमा बसोबासगर्नेहरुको हक अधिकारका लागि आवाज उठाइरहेका मधेसी मूलकै नेताहरु बीचमा मधेस र तराई शब्दमध्ये कुन उपयुक्त भन्ने तर्कमा सहमति हुन नसकेको अहिलेको अवस्थामा मधेसीको पहिचान र संस्कृति जोडिने सन्दर्भमा मधेस र भुगोल देखाउन तराई लेख्न सकिन्छ।

मधेसलाई राजनीतिक रुपमा स्थापित गरिएको शब्द भएकोले आन्दोलनको उपलब्धीका रुपमा मधेस भन्न सकिन्छ। जसरी मानिसलाई आफ्नो नाम राख्ने अधिकार छ। त्यसैगरी आफू बसोबास गर्ने वा आफूले शासन गने स्थानको नाम राख्ने अधिकार छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो