नबिल बैंकको सामान्य प्रगति, खुद नाफा ८.२० प्रतिशतले वृद्धि हुँदा जगेडा कोषमा कति ?

डिसी नेपाल
७ माघ २०७८ ९:१३

काठमाडौँ। नबिल बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।

पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा भने ८.६० प्रतिशत मात्र बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ९१ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफामा दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष २२.११ प्रतिशत घटेको छ । साथै बैंकको निक्षेप ४.०६ प्रतिशत र कर्जा ८.६८ प्रतिशत बढेको छ ।

यो दोस्रो त्रैमासमा बैंकको खुद नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । बैंकको प्रति सेयर आम्दानी ६ रुपैयाँ ४० पैसाले घटेर २३ रुपैयाँ ५९ पैसामा सिमित भएको छ । गत वर्षको यहि अवधिमा बैंकले २९ रुपैयाँ ९९ पैसा प्रति सेयर आम्दानी गरेको थियो। बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *