सवारी दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
२५ असार २०८३ ८:१५

इनरुवा (सुनसरी)। सुनसरीको कोशी गाउँपालिका–८, केराबारीस्थित महेन्द्र राजमार्गमा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा मोरङको रङ्गेली नगरपालिका–३, दर्वेशाका ४२ वर्षीय चालक पदम राईको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई महेन्द्र राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक राईलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पिकअपमा सवार सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.