आर्थिक असन्तोषले जन्मायो नयाँ राजनीतिक शक्ति, लोकप्रियतावाद दीर्घकाल टिक्दैन : शंकर पोखरेल

डिसी नेपाल
२५ असार २०८३ ८:२९

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक तथा सामाजिक असन्तोषको परिणाम भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षाले नयाँ राजनीतिक शक्तिहरूको उदय भएको उल्लेख गरेका छन्। तर, लोकप्रियतावाद, अवसरवाद र अराजकतावादमा आधारित शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने उनको दाबी छ।

पोखरेलका अनुसार पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा केही सुधार आएको भए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा समाजमा असन्तोष चुलिएको छ।

उनले जीवनस्तर र आम्दानीबीचको असन्तुलनले निराशा बढाएको उल्लेख गर्दै उपभोग क्षमता बढे पनि त्यसलाई धान्ने आम्दानी नहुँदा भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय तथा वैदेशिक पलायन बढेको बताएका छन्।

उनले राज्यले नागरिकका आर्थिक तथा सामाजिक समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा परम्परागत राजनीतिक दलहरूप्रति जनअसन्तोष बढेको बताए। आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, विकास र सामाजिक सुरक्षाका मुद्दा उठाए पनि मतदाताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरूले जनसमर्थन प्राप्त गरेको उनको विश्लेषण छ।

पोखरेलले भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका मुद्दालाई प्रभावकारी रूपमा उठाएर नयाँ शक्तिहरूले जनमत आकर्षित गरेको बताए। साथै, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले उनीहरूको पक्षमा जनधारणा निर्माण गर्न सहयोग पुगेको र पुराना दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको भनाइ छ।

उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गर्दै पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको आरोप लगाए। जेन्जी अभियानका नाममा भएका प्रदर्शनहरू भिडन्तमा रूपान्तरण गरी जनआक्रोश बढाइएको र भदौ २३ र २४ गतेका घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य प्रभाव रहेको उनको दाबी छ।

महासचिव पोखरेलले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्या समाधान गर्नुभन्दा स्वेच्छाचारी तथा अधिनायकवादी शैली अपनाउन खोजेको आरोप पनि लगाए। लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अभ्यास लामो समयसम्म स्वीकार नगर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.