कोरोनाको जस्तै लक्षण देखिएर बाख्रा मर्दै

डिसी नेपाल
१० माघ २०७८ २१:४०

बैतडी । बैतडीको मेलौली नगरपालिका ५ का किसानले पालेका बाख्रा मर्दै गएकाछन् । केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आख्रामा पिप्रा आउने तथा र्‍याल काढ्ने लक्षण देखिएपछि मर्न थालेको मेलौली ५ का गंगा पोख्रेलले बताए ।

‘एक महिनाको अवधिमा मैले पालेका पाँच बाख्रा मरिसकेका छन् । एक खसी त करिब ४० किलोको थियो । बेच्न ठिक्क भएका खसी बाख्रा मरेपछि मलाई झण्डै एक लाख रुपयाँ बराबरको नोक्सान भयो । बाख्रा मर्न थालेपछि व्यवसाय संकटमा परेको छ ।’

गत एक महिनाको अवधिमा मेलौली ५ का करिब २० बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले बताए । उनले भने,‘कसैका एकरदुई बाख्रा मरेका छन् भने, कसैका चाररपाँच बाख्रा मरेकाछन् । अधिकांश किसानका बाख्रा अझै पनि बिरामी भएका छन् ।’

बाख्रामा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै संकटमा परेको अर्का किसान वीरेन्द्र पोख्रेलले बताए । नगरपालिकाको पशु शाखामा खबर गरेर खोप लगाएको र खोप लगाए पनि केही बाख्रा मरेको उनले बताए ।

केही बाख्रामा समस्या देखिएपछि वडामा रहेका पशु प्राविधिकलाई समस्या बारे जानकारी लिन गाउँमा पठाएको नगरपालिकाका कृषि शाखा प्रमुख कमलापति भट्टराईले बताए । बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उनले बताए ।

बाख्रामा जटिल समस्या देखिएको मेलौली ५ का वडाध्यक्ष बलभद्र दयालले बताए । बाख्राहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार र संघ सरकारको कृषि मन्त्रालयसँग उनले आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *