महिला प्रधानमन्त्री भएको आफ्नो देशले अन्याय गर्यो, गर्भवतीलाई तालिबानले सहयोग गरिरहेछन्
काठमाडौं। न्यूजिल्याण्डकी एक गर्भवती पत्रकार चार्लोट बेलिस अहिले अफगानिस्तानमा छिन् । न्यूजिल्याण्डमा कोभिड नियम निकै कडा छन् । यही कारण बेलिस जस्ता कैयौं नागरिक अन्य देशमा फसेका छन् । उनीहरुलाई आफ्नो देश फर्किन अनुमति दिइएको छैन । अब यी नागरिकहरुले आफ्नो संगठन ‘ग्राउण्डेड किवीज’ बनाएका छन् र यो संगठनमार्फत जेसिन्डा अर्डर्न सरकारको विरोध गरिरहेका छन् । बेलिसलाई अहिले अफगानिस्तानको तालिबान सरकारले सहयोग उपलब्ध गराएको छ ।
बेलिस ७ महिनामा दोस्रो पटक समाचारमा छिन् । गत वर्ष उनी त्यतिबेला अफगानिस्तान गएकी थिइन् जतिबेला अमेरिकाले त्यहाँबाट आफ्ना सैनिक निकाल्दै थियो । त्यहाँ तालिबानको कब्जा भइसकेको थियो र यस क्रममा बेलिस अल जजीरा टेलिभिजनको लागि काम गरिरहेकी थिइन् । यो च्यानलको मुख्यालय कतारमा छ । त्यतिबेला टाउकोमा पछ्यौरा राखेर बेलिसले तालिबानसँग अफगानी महिला र छोरीहरुलाई अधिकार दिलाउने विषयमा तालिबानी नेताहरुसँग कडा प्रश्न गरेकी थिइन् । अहिले उनी गर्भवती छिन् र उनको देशको सरकारले उनलाई आफ्नै देशमा फर्किन दिएको छैन । उल्लेखनीय त के भने उनको देशको सरकार प्रमुख प्रधानमन्त्री महिला छिन् ।
बेलिसले न्यूजिल्याण्ड हेराल्डमा एक कोलम लेखेर आफू कति कठिन अवस्थामा छिन् भन्ने बताउकी छिन् । ३५ वर्षकी बेलिसले लेखेकी छिन् ‘म अफगानिस्तानमा फसेकी छु र यहाँ तालिबानले मलाई सहयोग गरिरहेका छन् । यसको कारण हाम्रो देशमा लागू कोभिड र क्यारेन्टाइन नियम हुन् ।’ ग्राउण्डेड किविज संगठनका प्रवक्ता मार्टिन न्यूबेलले भने ‘बेलिस मात्र किन, न्यूजिल्याण्डका सयौं जनता अन्य देशमा फसेका छन् । हामी आवाज उठाइरहेका छौं तर कोही सुन्न तयार छैन । के यही सभ्यता र मानवअधिकार हो ?’
बेलिसले मे महिनामा बच्चा जन्माउँदैछिन् । गत वर्ष सेप्टेम्बरमा उनी कतार गएकी थिइन् । त्यहाँ अल जजीराको मुख्यालय छ । कतारमै उनले आफू आफ्ना पार्टनर फ्रिलान्सर पत्रकार जिम हुलीब्रोकको बच्चाको आमा बन्न लागेको थाहा पाइन् । जिम न्यूयोर्क टाइम्सका लागि काम गर्छन् । समस्या यो हो कि कतारमा अविवाहित महिलाले बच्चा जन्माउनु अपराध हो ।
यही कारण कतारमा सबै सुविधा भएर पनि बेलिस त्यहाँ बस्न सक्दिनन् । नोभेम्बरमा उनले जागिर पनि छोडिदिइन् । जिम बेल्जियमका नागरिक हुन् तर बेलिस धेरै समय बेल्जियम पनि बस्न सक्दिनन् । यही कारण उनी अफगानिस्तान फर्किनुपर्यो । तालिबानले पनि उनलाई अफगानिस्तान फर्किन अनुमति दियो ।
बेलिस भन्छिन् ‘तालिबानले मलाई अफगानिस्तानमा आउने अनुमति त दिए तर एक शर्तका साथ । उनीहरुले मलाई भने – तपाइँ कसैलाई यो नभन्नु कि तपाइँ विवाहित होइन । मैले न्यूजिल्याण्ड सरकारलाई ५९ दस्तावेज पठाएँ र मलाई आकस्मिक केस अन्तर्गत फर्किने अनुमति दिन आग्रह गरें तर लट्री सिस्टमका कारण यो सम्भव हुन सकेन ।’
न्यूजिल्याण्ड सरकारले भने बेलिसको आवेदन सही नभएको भन्दै आफ्नो स्टाफले उनलाई नयाँ आवेदनको लागि सहयोग गरिरहेको बताएको छ । बेलिस भन्छिन् ‘अफगानिस्तानमा गर्भवती हुनु मृत्युको सजायभन्दा कम छैन किनकि यहाँ स्वास्थ्य सुविधा नगण्य छ ।’ गत वर्ष पनि यही नियमका कारण न्यूजिल्याण्डकी एक गर्भवती महिला अमेरिकामा फसेकी थिइन् । ग्राउण्डेड किवीजले यो नियमलाई अदालतमा चुनौती दिएको छ जसमा १४ फेब्रुअरीमा सुनुवाइ हुँदैछ ।







डिसी नेपाल







Facebook Comment