के ओमिक्रोन बीए.टु चिन्ता लिनुपर्ने भेरिअन्ट हो?

डिसी नेपाल
२ फागुन २०७८ ७:४४

बीबीसी। काेरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरिअन्टले अहिले विश्वभरिका आधा कोभिड-१९ सङ्क्रमणका लागि जिम्मेवार छ। तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरिअन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार बीए.वान हो।

तर अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन्। डब्ल्यूएचओका अनुसार उक्त सबभेरिअन्ट फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ।

बीए.टुलाई कहिलेकाहीँ ‘लुकेर बस्ने’ उपप्रजाति भनिने गरिएको छ। यो सबभेरिअन्टमा अनुसन्धानकर्ताहरूले डेल्टा र ‘नियमित’ बीए.वान ओमिक्रोनलाई छुट्टाउन प्रयोग गर्दै आएको जेनेटिक मार्कर अर्थात् आनुवंशिक चिन्ह हुँदैन।

अरू भेरिअन्ट जस्तै बीए.टुको सङ्क्रमण नाक वा घाँटीबाट निकालिएका र्‍यालजस्ता तरल पदार्थ र पीसीआर कोभिड परीक्षण किटहरूले पत्ता लगाउँछन् तर तिनले बीए.टु र डेल्टाबीचको फरक पत्ता लगाउन सक्दैनन्। सुनिश्चित हुनका लागि थप परीक्षणहरू गराउनुपर्ने हुन्छ। बीए.टु विगतका भेरिअन्टभन्दा अझ सङ्क्रामक रहने ठानिएको छ तर अहिलेसम्मको तथ्याङ्कले तिनले गम्भीर समस्या निम्त्याउने सङ्केत दिएका छैनन्।

ओमिक्रोन बीए.टु के हो?
भाइरसहरू उत्परिवर्तन भइरहँदा उनीहरू बेलाबेलामा विभिन्न उपसमूहमा टुक्रिन्छन्। ओमिक्रोनको हकमा पनि त्यस्तै भएको छ र यसको उपसमूहमा बीए.वान, बीए.टु, बीए.थ्री र बी.वान.वान.फाइभटुनाइन देखा परेका छन्। बीए.वानका कारण अहिलेका अधिकांश सङ्क्रमण भएका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी जीआईएसएड तथ्याङ्क भण्डारमा ज्यानुअरी २५, २०२२ सम्म उपलब्ध गराइएका भाइरल डीएनएमध्ये करिब ९९ प्रतिशतमा यो सबभेरिअन्ट देखिएको उल्लेख गरेको छ।

के कोभिड खोपले रुघाखोकी, ज्वरो र घाँटी दुखेको निको हुन्छ?

सबैभन्दा पहिले कहाँ बीए.टु देखियो प्रस्ट छैन तर सबैभन्दा सुरुमा गएको नोभेम्बरमा अपलोड गरिएको सिक्वेन्सीङको फिलिपिन्सबाट प्राप्त तथ्याङ्क भण्डारमा यो पाइएको थियो।

बीए.टु कहाँ फैलिरहेको छ?

नोभेम्बरयता ४० वटा देशले आफ्नो तथ्याङ्कमा हजारौँ बीए.टु पुष्टि गरेका छन्। कतिपय ठाउँमा उक्त सबभेरिअन्टको वृद्धि उच्च छ। डेनमार्कको स्टाटेन सीरम इन्स्टिच्युटका अनुसार त्यहाँको आधा नयाँ कोभिड सङ्क्रमण बीए.टुका कारण भएको छ।

मोलिक्युलर बायोलोजिस्ट विजय ढकालका अनुसार भारतमा द्रुत गतिमा बीए.टुले डेल्टा र ओमिक्रोन बीए.वान भेरिअन्टलाई प्रतिस्थापन गरिरहेको छ। कैयौँ प्रदेशहरूमा त्यो मूल भेरिअन्ट बनिसकेको छ र हालैको तेस्रो लहरलाई उक्त भेरिअन्टले नै डोर्‍याएको ठानिन्छ।

फिलिपिन्सको डिपार्टमेन्ट अफ हेल्थले बीए.टुको प्रकार ज्यानुअरीको अन्त्यमा आफूले प्राप्त गरेका नमुनामा देखा परिसकेको जनाएको छ। र ब्रिटेनमा एक हजारभन्दा बडी बीए.टु सङ्क्रमणका घटना पहिचान भएको यूके हेल्थ सेक्युरिटि एजेन्सीले जनाएको छ।

ब्रिटेनका स्वास्थ्य निकायहरूले बीए.टुलाई “अनुसन्धानको चरणमा रहेको” भेरिअन्टका रूपमा सूचीकृत गरेका छन्। त्यसको अर्थ उनीहरूले उक्त भेरिअन्टलाई नजिकबाट निगरानी गरिरहेका छन् तर त्यसबारे एकदमै चिन्तित छैनन्। जर्मनीमा बीए.टु सङ्क्रमण बीए.वान र डेल्टाभन्दा द्रुत गतिमा फैलिरहेको यूके एचएसएकी कोभिड निर्देशक डा. मीरा चन्दले बताएकी छन्।

के बीए.टु थप सङ्क्रामक छ?

डेनमार्कको एसएसआईले ८,५०० घरधुरी र १८,००० व्यक्तिहरूमा गरेको अध्ययनले बीए.वानभन्दा बीए.टु उल्लेख्य रूपमा बढी सङ्क्रामक रहेको पाएको थियो। उक्त भेरिअन्ट खोप लगाएका र अघिल्ला भेरिअन्टका कारण प्रतिरोधी क्षमता हासिल गरेका व्यक्तिहरूलाई सङ्क्रमण गराउन सफल देखिएको अध्ययनले जनाएको छ।

तर खोप लगाएका व्यक्तिले त्यसलाई सार्ने सम्भावना कम रहेको भनिएको छ। यूकेमा गरिएको अलग्गै अध्ययनले पनि बीए.टु सर्ने दर बीए.वानभन्दा उच्च रहेको देखाएको थियो। तर एउटा प्रारम्भिक मूल्याङ्कनले लक्षण सहितको बिरामी निम्त्याउने दुवै सबभेरिअन्टविरुद्ध खोप कम प्रभावकारी हुने कुनै पनि प्रमाण फेला नपरेको जनाएको छ।

के बीए.टु अझ घातक छ?

विगतको ओमिक्रोन भेरिअन्टका अरू प्रजातिभन्दा बीए.टुले अझ गम्भीर बिरामी निम्त्याउँछ भनेर पुष्टि गर्ने कुनै तथ्याङ्क छैन। “अरू देशहरूलाई हेर्दा बीए.टुले अहिले (बीए.वान)लाई जितिरहेको छ। हामीले अपेक्षा गरेको भन्दा ठूलो परिमाणमा अस्पताल जानुपर्ने अवस्था देखेका छैनौँ,” डब्ल्यूएचओको कोभिड रेस्पोन्स टिमका डा. बोरिस पाभ्लीनले भने।

उनका अनुसार बीए.टुले बीए.वानलाई विस्थापित गरेको अवस्थामा पनि त्यसले महामारी अघि बढ्ने क्रम र उपचार गर्ने प्रक्रियामा खासै असर नगर्ने बताए। “त्यसको प्रभाव उल्लेखनीय हुने सम्भावना छैन तर पनि थप तथ्याङ्क आवश्यक पर्छ,” डा. पाभ्लीनले थपे।

विगतका अरू भेरिअन्ट जस्तै विज्ञहरूले गम्भीर बिरामी, अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु रोक्न खोप प्रभावकारी भइरहने विश्वास व्यक्त गरिरहेका छन्। डा. चन्दका अनुसार अहिलेसम्म बीए.टु वा बीए.वान कुनले गम्भीर बिरामी निम्त्याउँछ भन्नेबारे अपर्याप्त प्रमाण रहेको छ तर सो विषयमा अनुसन्धान जारी छ।

उनले मानिसहरू चनाखो हुनुपर्ने र खोप लगाउनुपर्नेमा जोड दिइन्। त्यसबाहेक लक्षण देखिएको अवस्थामा पीसीआर सहितका परीक्षण गर्नुपर्ने उनको भनाइ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *