एमसीसी संसदमा पेश गर्न अर्थमन्त्रीले मानेनन्

डिसी नेपाल
४ फागुन २०७८ १२:००

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्न अस्वीकार गरेका छन् । अर्थमन्त्रीले एमसीसी पारित गराउने प्रस्ताव संसदमा पेश गर्न अस्वीकार गरेपछि संचारमन्त्री ज्ञानेन्द्र बहादुर शाहीले प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । यो सम्झौता सुरु हुँदा शाही नै अर्थमन्त्री थिए र उनैले यसमा हस्ताक्षर गरेका हुन् ।

अर्थमन्त्री शर्माले सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नभइ प्रस्ताव पेश नगर्ने अडान लिएका हुन् । अर्थमन्त्री शर्मा माओवादीका हुन् । एकीकृत नेकपा माओवादीले यो सम्झौताका केही बुँदा राष्ट्रिय हित विपरित भएकोले संशोधन गर्नुपर्ने, यो सम्झौता गर्ने विषयमा सकेसम्म राष्ट्रिय सहमति हुनुपर्ने र त्यो नभए गठबन्धनभित्र भए पनि सहमति हुनुपर्ने भनेको छ । यही बीचमा माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो पटक यो प्रस्ताव चुनावपछि संसदमा पेश गर्ने समेत विकल्प सुझाएका थिए ।

केही समयअघि माओवादी अध्यक्ष प्रचण्डले यो सम्झौता संसदबाट पारित गराउने प्रतिबद्धतासहित एमसीसी मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएको थियो । तर प्रचण्डले भने पारित गर्ने प्रतिबद्धता नगरेको दावी गरिरहेका छन् । यसैबीच माओवादीले एमसीसी पारित गर्ने प्रस्ताव संसदमा पेश भए सरकारबाट बाहिरिने र संसदमा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *