अमेरिकाले नेपालसँग एमसीसीमार्फत गरेको धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौंः चीन

डिसी नेपाल
६ फागुन २०७८ १७:४६

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने वा नगर्ने विषयमा यतिबेला नेपालमा तीव्र मतभेद भइरहेका बेला चीनले यसबारे मुख खोलेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वन पिनले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत धम्कीपूर्ण कूटनीति सुरू गरेको आरोप लगाएका छन् ।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ ।

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले ‘दबाबपूर्ण कूटनीतिक’ विरोध गरेका हुन् ।

‘चीनले नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’  ग्लोबल टाइम्सले आफ्नो समाचारमा वाङको भनाई उद्वृत गरेको छ ।

उनले पत्रकार सम्मेलनमा नेपाललाई दिने विकास सहयोग निरन्तर जारी रहेन प्रतिबद्धता समेत जनाए ।

‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ,’ वाङले भने ।

केहीदिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरी फेब्रुअरी २८ भित्र एमसीसी अनुमोदन गर्न दबाब दिएका थिए । त्यति मात्र होइन उनले एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुर्नविचार गर्ने र चीनको दबाबको कारण अनुमोदन हुन नसकेको भनि बुझ्ने समेत जनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *