रगत लुट्ने ग्याङ ! जागिरको प्रलोभनमा बोलाएर हरेक महिना ८०० मिली रगत चोरी

डिसी नेपाल
९ फागुन २०७८ ११:५४

काठमाडौं। आपराधिक समूहहरुले पैसा, गरगहना तथा अन्य बहुमूल्य वस्तु लुटपाट गरेको हामीले धेरै सुनेका छौं । पछिल्ला केही वर्षयता मानव अंक समेत लुटपाट र तस्करीका घटनाहरु पनि सुनिन थालेका छन् । यही बीचमा मानव शरीरको रगत समेत लुट्ने ग्याङ सक्रिय भएको खुलासा भएको छ ।

चीनका ३१ वर्षका युवकहरुलाई केही व्यक्तिहरुले जागिरको नाममा धोका दिएका हुन् । त्यसपछि उनीसँग जे गरियो त्यसबारे सुन्दा जो कोही पनि तर्सिन्छन् । यी व्यक्तिको शरीरबाट विगत ६ महिनादेखि अपहरणकारीहरुले रगत निकालिरहेका थिए । यसरी लगातार रगत निकालिँदा यी व्यक्तिका कैयौं अंगले काम गर्न बन्द गरिसकेका थिए । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

यी व्यक्तिको थर ली मात्र खुलाइएको छ र पूरा पहिचान खुलाइएको छैन । उनको रगत निजी ग्राहकहरुलाई अनलाइन बेचिएको दावी गरिएको छ । गत वर्ष जूनमा लीलाई मानव तस्करहरुले कम्बोडिया लगेका थिए । पीडितले बेइजिङ युथ डेलीलाई बताए अनुसार उनले चीनको गुआंग्जी क्षेत्रमा जागिरको एक विज्ञापन देखेका थिए । लीलाई उनले नाइट क्लवमा बाउन्सरको जागिर पाउने बताइएको थियो ।

पहिले जुन ग्याङले उनलाई चीनबाट कम्बोडिया ल्याएको थियो त्यसले उनलाई अर्को ग्याङलाई बेचिदियो । त्यसपछि यो ग्याङले उनलाई ६ महिनासम्म बन्धक बनाएर राख्यो । हरेक महिना उनको ८०० मिलिलिटर रगत निकालिन्थ्यो । सामान्य अवस्थामा रक्तदानका क्रममा एक वयस्कको शरीरबाट केवल ३५० मिलिलिटर रगत निकालिन्छ । अमेरिकी रेडक्रस सोसाइटीले रक्तदाताले एक पटक रगत दान गरेको कम्तीमा ५६ दिनपछि मात्र फेरि रक्तदान गर्नुपर्ने बताएको छ तर तीको भने हरेक महिना ८०० मिलिलिटर रगत निकालिन्थ्यो ।

रिपोर्टका अनुसार यही महिना उनी ग्याङको कैदबाट भागेका थिए । साउथ चाइना मर्निङ पोस्टका अनुसार लीले आफूसँगै कम्तीमा ७ जना अरुलाई पनि बन्धक बनाएर रगत निकालिरहेको देखेका थिए । यद्यपि अरुको रगत लीको जति धेरै निकालिँदैनथ्यो किनकि लीको रगत ओ समूहको थियो जसलाई युनिभर्सल टाइप भनिन्छ । कैदबाट भाग्दा लीका कैयौं अंगले काम गर्न छाडिसकेका थिए । १२ फेब्रुअरीदेखि उनी अस्पतालमा भर्ना छन् र उनको अवस्था स्थिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *