रुसले निकाल्यो आणविक हतियार, बेलारुसले रुसलाई साथ दियो

डिसी नेपाल
९ फागुन २०७८ १२:२२

काठमाडौं। रुस–युक्रेन युद्धको आशंकाका बीचमा रुसले आणविक हतियार निकालेको छ । रुसले बेलारुसमा आणविक हतियारसहित ‘न्यूक्लियर ड्रिल’ गरेको छ । यसका साथै रुसको नौसेनाले पनि ब्ल्याक सीमा युद्धाभ्यास गरेको छ । यतिबेला रुसले युक्रेनलाई तीन तिरबाट घेरेर राखेको छ । युक्रेनसँगको सीमामा डेढ लाखभन्दा धेरै रुसी सैनिक तैनाथ छन् । केही दिन पहिलेसम्म १ लाख सैनिक तैनाथ भएको रिपोर्ट थियो ।

केही दिन पहिले रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता बोलाएको घोषणा गरेको थियो । तर, त्यहाँ सेनाको संख्या कम हुनुको सट्टा बढ्दै गएको छ । रुसले युक्रेनको सीमामा लडाकू विमान, सैन्य वाहन र उपकरण पनि तैनाथ गरेको छ । रुस र बेलारुसको सम्बन्ध निकटको मानिन्छ । बेलारुसको सीमा युक्रेनसँग जोडिएको छ । यहाँ कैयौं दिनदेखि रुसी सैनिकको युद्धाभ्यास चलिरहेको छ । बेलारुसमा पनि रुसका ३० हजार सैनिक छन् ।

अल जजीराका अनुसार शनिबार रुसले आणविक हतियार पनि निकालेको छ । यसले बेलारुसमा न्यूक्लियर ड्रिल गरेको छ । दुई देशबीच युद्धको खतरा बढिरहेको बेला यसरी आणविक हतियार निकालेर न्यूक्लियर ड्रिल गर्नुलाई निकै खतरनाक मानिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो युद्धको तयारी गरिरहेको टिप्पणी गरेका छन् ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसलाई वार्ताको लागि आमन्त्रण गरेका छन् । उनले वार्ताको स्थान रुसले तय गर्ने र त्यहाँ आफू वार्ताको लागि जाने बताएका छन् । उनले युक्रेन यो समस्यालाई कूटनैटिक तरिकाले समाधान गर्ने पक्षमा भएको बताउँदै रुसबाट अहिलेसम्म कुनै जवाफ नआएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *