रुपन्देहीका सञ्चारकर्मीबीच मिडियाकप फुटसल प्रतियोगिता

डिसी नेपाल
१३ फागुन २०७८ १७:१६

बुटवल । रुपन्देहीका सञ्चारगृह तथा सञ्चारकर्मीबीच दोस्रो ‘टेन स्टिल्स मिडियाकप फुटसल–२०७८’ आयोजना गरिने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजले यही फागुन २० गते उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । कोभिड सङ्क्रमणका कारण सङ्कटमा परेका सञ्चारगृह र सञ्चारकर्मीलाई मानसिक र शारीरिकरुपमा स्फूर्त बनाई भ्रातृत्व भाव विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको प्रतियोगितामा जिल्लाका एक दर्जनभन्दा बढी सञ्चारगृहको सहभागिता रहने र प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको थियो ।

प्रतियोगिताले सञ्चारकर्मी र सञ्चारगृहबीच भ्रातृत्व विकास गर्नाका साथै थप नयाँ ऊर्जा प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका प्रबन्धक गौतम भुसालले बताए। गत वर्षदेखि आयोजना गरिएको प्रतियोगिताबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई मध्यनजर गरी वार्षिकरुपमा नियमित प्रतियोगिता सञ्चालन गर्ने गरी दोस्रो पटक पनि फुटसल प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु २५ हजार र दोस्रो पुरस्कार रु १५ हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु तीन हजार ५०० तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही रु दुई हजार ५००का साथै कप, पदक तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न रु चार लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा महिला पत्रकारबीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *