पल शाहलाई भाग्न सहयोग गरेको आरोपमा सुदर्शन थापा पक्राउ

डिसी नेपाल
१४ फागुन २०७८ १५:५६
29.6k
Shares

काठमाडौं । नाबालिग गायिकालाई जर्वजस्ती करणी गरेको आरोप लागेका नायक पल शाहलाई भाग्न सहयोग गरेको आरोपमा फिल्म निर्देशक सुदर्शन
थापा पक्राउ परेका छन् ।

नायक पलसँग निरन्तर सम्पर्कमा रहेका निर्देशक थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले उनलाई पक्राउ गरिएको नभई सोधपुछका लागि ल्याइएको बताए । ‘उहाँलाई पक्राउ गरिएको भन्न मिल्दैन केही कुरा सोधपुछ गर्नु थियो’, एसपी मैनालीले भने ।

प्रहरीमा पल शाह विरुद्ध उजुरी परेपछि थापाले भगाएको आरोप लागेको छ । थापा र पल शाह निरन्तर सम्पर्कमा रहेको देखिएका छन् । पलले अभिनय गरेको फिल्म ’म यस्तो गीत गाउँछु–२’ का निर्देशक हुन् । अहिले सो फिल्म रिलिज भइरहेको छ ।

जाहेरी दर्तापछि पलले प्रहरीमा आफैँ आत्मसमर्पण गर्ने दाबी गरिए पनि उनी लुक्दै बसेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको भोलिपल्ट फेसबुकमा घटनालाई प्रभावित पार्ने गरी अडियो सार्वजनिक गराएका उनलाई लुकाउन प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नेहरुको प्रहरीले खोजी गरिरहेको छ । सोही अनुसन्धामा निर्देशक थापा फरार आरोपीको निरन्तर सम्पर्कमा देखिएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुलुकी अपराध संहितामा कुनै अपराधको आरोप लागेका ब्यक्ती लाई भगाउने वा लुकाउने काम गरेको पुष्टि भएमा त्यस्ता व्यक्तिलाई समेत कारबाही हुने प्रावधान छ । संहिताको दफा ३६ मा मतियार हुन नहुने उल्लेख गरिएको छ ।

त्यसमा कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्‍याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गाउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमको सहयोग पुर्‍याउने व्यक्ती लाई मतियार मानिने उल्लेख छ । आपराधिक षड्यन्त्रमा संलग्न भएर कसुर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्ध कसुर गरिएको मानिने र कसुरको आधा सजाय हुने व्यवस्था छ ।

संहिताको दफा २८ बालबालिकाबाट गराएको कसुरमा उमेर पुगेकालाई सजाय हुने व्यवस्था छ । सो दफामा कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसुर गर्न लगाएको रहेछ भने त्यसरी कसुर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तो कसुर गरे सरह सजाय हुने उल्लेख छ ।

नायक पलको विषयमा जाहेरी परेको तीन दिन वितेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । जहाँ भेट्यो त्यहीबाट पक्राउ गर्ने गरी खोजिरहेको प्रहरीले शुक्रबार साँझ निर्देशक थापासँगै रहेको जानकारी पाएको थियो । तर थापाले प्रहरीलाई झुक्याएर पललाई भगाएको थाह पाएपछि प्रहरीले थापालाई नै नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार पल शाहलाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई एक साथ सर्कुलर जारी भएको छ । ‘पललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयमा सर्कुलर भएको छ, धेरै दिन लुकेर बस्न सक्दैनन् चाँडै पक्राउ पर्छन्’, एसएसपी केसीले भने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *