आदर्श कपको उपाधि मसिना फुटबल क्लबलाई

डिसी नेपाल
२१ फागुन २०७८ २०:३४

तनहुँ । १० औं आदर्श तथा पाँचौ तारा स्मृति कप फुटबलको उपाधि मसिना फुटबल क्लब कास्कीले जितेको छ । शनिबार आदर्श नमुना खेल मैदान मनहरीमा भएको फाइनल खेलमा समृद्धि युवा क्लब तनहुँलाई २–० गोल अन्तरले पराजित गर्दै मसिनाले उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा मसिनाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । पहिलो हाफको १६ औं मिनेटमा मसिनाका युनिक तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफ सकिन दुई मिनेट मात्र बाँकी रहँदा क्षितिजराज जिटिले थप एक गोल गर्दै मसिनाको जित सुनिश्चित गराए ।

उपाधिसँगै मसिनाले नगद एक लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता समृद्धिले नगद ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

मसिनाले डिजी युनाइटेड क्लबलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । समृद्धिले आयोजक आदर्श नमूना क्लब ‘ए’ लाई हराउँदै फाइनल यात्रा तय गर्दै मसिनासँगको फाइनल भिडन्त पक्का गरेको हो ।

फाइनल खेलको म्यान अफ दि म्याच मसिनाका युनिक तामाङ घोषित भए । विधागत तर्फ पनि मसिनाका खेलाडी हावि भए । सर्वोत्कृष्ट खेलाडी मसिनाका सुनिल गोतामे, सर्वाधिक गोलकर्ता क्षितिराज जिटि, डिफेन्डर अनिष तामाङ र उत्कृष्ट गोल रक्षक समृद्धिका सुनिल गोतामे बने ।विजेता खेलाडी र टिमलाई म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कृत गरे ।

अध्यक्ष रानाले आदर्श नमुनाको खेलमैदानमा प्यारापिट निर्माणको योजना रहेको बताईन् । गाउँपालिकाको स्थायी खेल खेल मैदान बनाउन चाहेको उनको भनाई छ ।

उपाध्यक्ष घिमिरेले खेलकुदको माध्यमबाट गाउपालिकाको पहिचान बढेको बताए । स्रोत र साधन अनुुसार लगानी गरिरहेको उनको भनाई छ ।

आदर्श नमुना क्लबका अध्यक्ष गौरवराज रानाका अनुसार २०६८ सालमा खसी कपबाट सुरु भएको प्रतियोगिता १० औं संस्करणसम्म जारी रहेको छ ।

प्रतियोगिता १४ फागुनबाट सुरु भएको थियो । तनहुँ र कास्कीका ३२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *