नारी दिवसः सुत्केरीलाई प्रोत्साहन भत्ता

डिसी नेपाल
२४ फागुन २०७८ २२:०८

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाले गाउँपालिकामा रहेको सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो ।

मंगलबार गाउँपालिकाले जामुनेमा आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । उनीहरु दशैँयता गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । दशैँ अगाडी सुत्केरी भएकालाई पोषण भत्ता दशैँको बेलामा वितरण गरिएको थियो ।

नारी दिवसको दिन सुरक्षित तरिकाले आमा बनेकोलाई सम्मान गर्दै सुत्केरी पोषण भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताईन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ गत आर्थिक बर्षदेखी म्याग्देमा सुरु भएको हो । मातृ शिशु मृत्युदर कम गराउनलाई यो कार्यक्रम सुरु गरेको अध्यक्ष रानाको भनाई छ ।

‘गर्भावस्थामा स्वास्थ्य परिक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउदा महिलाहरुको ज्यान जाने खतरा हुन्छ । त्यसैले पोहोरबाट सुत्केरीसँग अध्यक्ष कार्यक्रम सुरु गरेका छौँ । कार्यक्रमबाट पोषण भत्ता वितरण गर्न थालेपछि गाउँपालिकाको स्वास्थ्य संस्थामा परिक्षण गराउन र सुत्केरी हुनलाई आउनेको संख्या बढेको छ’, उनले भनिन् ।

संस्थागत सुत्केरी बढवा गर्नलाई ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । ‘घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गरेको छ’, उनले भने । घिमिरेका अनुसार गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पोषण भत्ता लिनलाई गर्भवतीले कम्तिमा चार पटक स्वास्थ्य परिक्षण गराएको हुनपर्छ । उनका अनुसार म्याग्दे बाहिर गएर सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पनि सुविधा दिईदैन् ।

कार्यक्रम सुरु भएपछि १७९ जनालाई संस्थागत सुत्केरी सेवा दिएको उनले जानकारी दिए । संस्थागत सुत्केरी बढाउन भुमिका खेल्न महिला स्वयंमसेविकालाई समेत गाउँपालिकाले सम्मान गरेको छ ।

म्याग्दे गाउँपालिकाले नारी दिवसको दिनमा असल बुहारी सम्मान पनि गरेको छ । अशक्त सासु ससुराको स्याहार गर्ने तीन उत्कृष्ट बुहारीलाई गाउँपालिकाले ‘असल बुहारी’ सम्मान गरेको हो ।

म्याग्दे–७ कि नन्दुमाया थापा र उमा सेन, म्याग्दे–४ कि चन्द्रकुमारी कुमाललाई असल बुहारी सम्मान गरिएको हो । यि तिनै जनाले अशक्त सासु ससुरालाई बर्षौदेखी स्याहारसुसार गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *