वस्तिबीचका क्रसर उद्योग हटाउँदै हलेदावासी

डिसी नेपाल
२५ फागुन २०७८ १७:१३

तनहुँ । वस्तिको बिचमा रहेको क्रसर उद्योग हटाउन तनहुँका स्थानीय जुटेका छन् । जिल्लाको शुक्लगण्डकी नगरपालिका-२ हलेदावासी वस्तिको बिचमा रहेका क्रसर उद्योगलाई हटाउन जुटेका हुन् ।

हलेदीको वस्तिमा दुई क्रसर उद्योग सञ्चालनमा छन् । तत्कालीन दुलेगौँडा गाविससँग १० वर्षे सम्झौता गरेर क्वालिटी क्रसर एण्ड एग्रिगेट प्रालिले सार्वजनिक जग्गामा उद्योग सञ्चालन गरिरहेको छ । सार्वजनिक जग्गा प्रयोग गर्न पाउने क्वालिटीको म्याद गत पुसमा सकिएको छ ।

म्याद सकिएसँगै क्वालिटीसँगै वस्तिमा जोडिएको महालक्ष्मी एग्रिगेट प्रालिलाई पनि हटाउन हलेदावासी एकमत भएका छन् । यद्यपि महालक्ष्मीले भने व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा उद्योग सञ्चालन गरेको छ । उद्योगले स्थानीयको स्वास्थ्यमा असर पुर्‍याइरहेकाले हटाउनुपर्ने माग छ ।

अबको दुई महिनाभित्र क्वालिटी र महालक्ष्मीलाई हलेदीबाट स्थानतरण हुनलाई समय दिएको शिलादेवी टोल विकास संस्थाका अध्यक्ष हरिलाल रिमालले बताए । २९ फागुनपछि बाहिरबाट कम्पनीमा ढुंगा, गिट्टी, वालुवा भित्र्याउन नदिने निर्णय गरेको उनले बताए । ‘क्रसर उद्योगले मौज्दात गरेको ढुंगा, गिट्टी, बालुवाको थुप्रो हटाउन दुई महिने समय दिएका छौं’, उनले भने । क्रसरलाई स्थानतरण गर्न दिएको समय अवधिमा अटेरी गरेर नहटाए आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

वस्तिमा रहेको क्रसर उद्योगलाई हटाउन स्थानीय सरकार र प्रशासनलाई पटक-पटक अनुरोध गरे पनि कानमा तेल हालेर बसेको उनले आरोप लगाए । ‘दोस्रो दर्जाको नागरिकको आभास हुन्छ । स्वच्छ हावापानीमा बाँच्न पाउने अधिकार कुण्ठित गरिएको छ । धुलो-धुवाँबाट आजित भएका छौं । अब सार्वजनिक जग्गामा रहेको क्रसरलाई हटाएर मानव वस्ती बसाल्न योग्य क्षेत्र बनाउनु पर्नेछ’, उनको भनाई छ । एकतिर राजमार्गको धुवाँ-धुलो त अर्कोतर्फ क्रसर उद्योगको प्रदुषणले हलेदी क्षेत्र बस्न योग्य नभएकाले क्रसरलाई हटाउनु आवश्यक रहेको उनले बताए ।

क्रसरका कारण हलेदी क्षेत्रमा दैनिक प्रदूषण बढिरहेको उदयराज गुरुङ बताउँछन् । क्रसरबाट निस्कने धुलो, धुवाँसँगै ध्वनि प्रदुषणले दैनिकी कष्टकर बनेको उनको भनाई छ । ‘प्रदुषणले हाम्रो स्वास्थ्य र वातावरण बिगारेको छ । सम्झौता अवधि सकिएपछि उद्योग हटाउनलाई अनुरोध गर्‍यौँ सुनवाइ भएँ । म्याद सकिएपछि उद्योग यहाँबाट हटाउनुपर्ने हाम्रो माग हो’, उनले भने । क्रसरको प्रदुषणले बस्तुभाउले घाँसपातसमेत खाने अवस्थामा नरहेको गुरुङले बताए ।

क्वालिटी क्रसर १५ वर्षदेखी हलेदीमा सञ्चालित छ । २०६३ सालमा सञ्चालमा आएको क्रसर उद्योगले पाँच वर्षपछि २०६८ सालमा १० वर्षका लागि तत्कालिन दुलेगौँडा गाविससँग ३० रोपनी सार्वजनिक जग्गा भाडामा लिएर सञ्चालन गर्दै आइरहेको छ । सम्झौतामा प्रति रोपनी जग्गाको भाडा दुई हजार ४२० रुपैयाँ तोकिएको थियो । उक्त रकम प्रत्येक दुई वर्षमा १० प्रतिशत बढ्ने उल्लेख थियो । सार्वजनिक जग्गा प्रयोग गरे बापत क्वालिटीले तिर्ने भाडाको २० प्रतिशत दुलेगौँडा गाविसको आम्दानी हुने र ८० प्रतिशत यहाँको शिलादेवी प्राथमिक विद्यालयको भौतिक र शैक्षिक विकासमा खर्चिने भनेर क्रसर उद्योग, विद्यालय र तत्कालीन गाविसले गरेको सम्झौतामा उल्लेख छ ।

तर, सम्झौतामा उल्लेख सर्तहरू कार्यान्वयन नभएको शिलादेवी प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टिकाराम रिमालले बताए । ‘पहिला विद्यालयले ताकेता गर्दा पनि उद्योगले रकम तिरेन् । त्यसपछि नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरपालिकाले भाडा लिने भन्यो । नगरपालिकालाई पनि जग्गा भाडा दिएको पाईदैन्’, उनले भने । जग्गा भाडा पनि नतिर्ने र वस्तिलाई प्रत्यक्ष असर भएकाले हलेदीबाट हटाउन खोजेको उनले उल्लेख गरे ।

पृथ्वी राजमार्ग र सेती नदीको बिचमा सञ्चालित यहाँका क्रसर उद्योग मापदण्ड विपरित छन् । हलेदी क्रसर उद्योग हटाउन बाहिरबाट ढुंगा गिट्टी बालुवा ल्याए नल्याएको अनुगमन गर्न स्थानीयले अनुगमन समिति नै बनाएका छन् । रवीन्द्र रिमालको संयोजकत्वमा १२ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । २९ फागुनपछि क्रसर उद्योगमा बाहिरबाट कच्चा पदार्थ ल्याउन नदिनका लागि समितिले अनुगमन गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *