होलीलाई व्यवस्थित गर्न कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

डिसी नेपाल
२ चैत २०७८ १८:१८

धनगढी । प्रहरीले होलीलाई मध्यनजर गर्दै कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।

बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी परिचालन गरिने प्रवक्ता जोशीले बताए । यसका अलावा मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने उनले बताए । ‘आवश्यक परेको स्थानमा खटाउनका लागि हामीले रिजर्भ फोर्स पनि राखेकाछौं,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘भिडभाड हुने स्थानमा विशेष निगरानी गरिने छ ।’ उनले मोटरसाइकलमा तीनरचार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने बताए ।

प्रवक्ता जोशीले होलीका नाममा मादकपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्नेलाई कारबाही गरिने बताए । उनले चाडपर्वका नाममा लागूपदार्थ सेवन गर्ने, लागूऔषध सेवन गर्ने गरिएको भन्दै त्यसो गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए ।

सभ्य होली खेल्न आग्रह

होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता उत्छृङखल क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ । सांस्कृतिक परम्पराको रक्षा गर्दै एक आपसमा मित्रता कायम गर्न आग्रह गर्दै प्रहरीले रमाइलो तथा मनोरञ्जनका नाममा उच्छृङ्खल तथा आपराधिक गतिविधि नगर्न सुझाव दिएको हो । होलिका नाममा उत्छृङखल क्रियाकलाप गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ । साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जनाइएको छ ।

त्यसैगरी प्रहरीले जथाभावि होली नफ्याक्न पनि अनुरोध गरेको छ । कसैको इच्छा विपरित रंग दल्नु अपराध हुने भन्दै प्रहरीले आपराधिक क्रियाकलापमा सहभागी नहुन र सभ्य नागरिकको भूमिका निर्वाह गर्न अपिल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *