पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू

डिसी नेपाल
११ चैत २०७८ १३:२३

बीबीसी। पश्चिमा राष्ट्रका गुप्तचरहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले सिर्जना गरेको बन्द संसारभित्र थुनिएको ठान्छन्। त्यसबाट उनीहरू चिन्तित देखिएका छन्। वर्षौँदेखि उनीहरू पुटिनको मनभित्र छिरेर तथा उनको मनसाय बुझ्ने प्रयास गरिरहेका छन्।

रुसी सेना युक्रेनमा फसेको देखिएको हुनाले पुटिनको मनसाय बुझ्नु निकै आवश्यक भएको छ। किनभने पुटिनले दबाव पर्दा कसरी प्रतिक्रिया गर्छन् भन्ने प्रयासमा उनीहरू छन्। पुटिनको मनस्थिति बुझ्न सकिए अझ खतरनाक क्षेत्रमा सङ्कट बढ्नबाट रोक्न सकिने उनीहरूको बुझाइ छ।

रुसी राष्ट्रपति बिरामी भएको आशङ्का गरिएको थियो। तर धेरै विश्लेषकहरू उनी एकाकी बनेको र कुनै फरक धारणा सुन्न तयार नरहेको ठान्छन्। उनी सहभागी बैठकका तस्बिरहरूले पुटिन एकाकी बनेको देखाउँछन्। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको भेटमा दुई जना एउटा लामो टेबलको दुई छेउमा बसेको देखिन्छ। अर्को आधार युद्धअघि उनको राष्ट्रिय सुरक्षा टोलीसँगको भेट पनि हो।

एक पश्चिमा गुप्तचर अधिकारीका अनुसार पुटिनको प्रारम्भिक सैन्य योजना कुनै केजीबी अधिकारीले तयार गरे जस्तो देखिएको थियो। एउटा “षड्यन्त्रकारी समूह”ले गोपनीयतामा जोड दिएर उक्त सैन्य योजना बनाएको उनीहरूको भनाइ छ। तर त्यसको परिणाम भद्रगोल देखियो। रुसी सैन्य कमान्डरहरू त्यसका लागि तयार थिएनन् भने केही सैनिकहरू उनीहरू के गर्ने भन्ने थाहै नपाई सीमामा परिचालित भएका थिए।

पश्चिमा जासुसहरूले आफ्ना स्रोतहरूबाट धेरै रुसी नेतृत्वकर्ताहरूभन्दा पहिले यो सूचना पाएका थिए। तर उनीहरूले अहिले नयाँ चुनौती सामना गरिरहेका छन्। त्यो भनेको रुसी नेताले अब के गर्छन् भन्ने थाहा पाउनु। तर त्यो काम सहज छैन। “मस्कोमा पुटिन एकमात्र निर्णयकर्ता भएकाले क्रेम्लिनको कदम थाहा पाउनु चुनौती हो,” रुस अभियानमा परिचालित अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वअधिकारी जोन साइफर भन्छन्।

सार्वजनिक वक्तव्यमार्फत् पुटिनले समयसमयमा आफ्ना धारणा सार्वजनिक गर्ने गरे पनि उनले के कदम चाल्न लागेका छन् भन्ने थाहा पाउन गुप्तचरहरूलाई कठिन छ।

“रुसजस्तो प्रणाली र गोप्यता भएका ठाउँमा नेताको मस्तिष्कमा के कुरा खेलिरहेको छ भन्नेबारे राम्रो गुप्तचरी सूचना पत्ता लगाउन धेरै कठिन हुन्छ। किनभने यहाँ उनकै धेरै मानिसहरूलाई के भइरहेको छ भन्ने सूचना हुँदैन,” ब्रिटेनको एमआई६ का पूर्वप्रमुख सर जोन सोअर्सले बीबीसीसँग भने।

गुप्तचर अधिकारीहरूका अनुसार पुटिन आफैँले सिर्जना गरेको घेरामा एक्लिएका छन्। त्यहाँ बाहिरबाट निकै कम सूचनाले प्रवेश पाउँछ। विशेषतः उनको धारणालाई चुनौती दिने कुराले प्रवेश पाउने सम्भावना त हुँदै हुँदैन।

“उनी आफ्नै प्रोपागान्डाबाट पीडित भएका छन्। उनी निश्चित व्यक्तिका कुरा मात्रै सुन्छन् र बाँकी सबैलाई निषेध गर्छन्। यसले उनलाई विश्वबारे अनौठो परिदृश्य दिन्छ,” मनोविज्ञानका प्राध्यापक एड्रिन फर्न्‌हम भन्छन्।

पुटिनले कहिल्यै पनि ठूलो समूहसँग छलफल नगर्ने र युक्रेन आक्रमणबारे निर्णय लिनुअघि उनले हातमा गन्न सकिने व्यक्तिसँग मात्रै छलफल गरेको पश्चिमा गुप्तचर अधिकारीहरू ठान्छन्। उनले जति जनासँग सल्लाह लिए ती सबै पुटिनकै जस्तो सोच राख्ने मानिसहरू थिए।

उनको भित्री घेरा कति साँघुरो थियो भन्ने उनले आक्रमणअघिको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा आफ्नै विदेश मामिला गुप्तचर सेवाका प्रमुखलाई अपमानपूर्वक हप्काएको घटनाले प्रष्ट पारेको थियो। उनको भाषणबाट पुटिन युक्रेन र पश्चिमसँग कति रिसाएका थिए भन्ने देकाएको थियो।

उनलाई नजिकबाट बुझ्नेहरूका अनुसार पुटिन सन् १९९०को दशकमा रुसमाथि भएको अपमानबाट माथि उठ्ने उत्कट चाहनाबाट प्रेरित छन्। उनलाई पश्चिमाहरू रुसलाई सधैँ तल पार्न र उनलाई शक्तिबाट हटाउन लागिपरेका छन् भन्ने पनि परेको छ। उनलाई भेटेका एक व्यक्तिका अनुसार उनी सन् २०११ मा शक्तिबाट हटाएपछि मारिएका लिबियाका कर्नेल गद्दाफीको भिडिओ हेरेर विचलित भएका छन्।

अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक विलियम बर्न्सलाई पुटिनको मानसिक अवस्थाको मूल्याङ्कन गर्न भनिएको थियो। उनले पुटिन “धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको विस्फोटक ज्वलनशील संयोजनमा उम्लिरहेको” बताएका थिए। रुसी राष्ट्रपति विक्षिप्त छन्? यो प्रश्न धेरै पश्चिमाहरूले गरेका छन्।

यो क्षेत्रमा विशेषज्ञता हासिल गरेका एक मनोवैज्ञानिकले कुनै कुराको अनुमान गर्नु गल्ती हुने बताए। उनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय नबुझेकै आधारमा उनलाई विक्षिप्त भन्न नहुने बताए।

सीआईएमा विदेशी निर्णयकर्ताहरूको नेतृत्व विश्लेषण गर्ने एउटा समूह नै छ। उनीहरूले हिट्लरको पनि अध्ययन गरेका छन्। उनीहरू पृष्ठभूमि, स्वास्थ्य र सम्बन्धबारे गुप्तचरी गर्छन्।

उनीहरूको सूचनाको अर्को स्रोत प्रत्यक्ष सम्बन्ध हुने अरू नेताहरू हुन्। सन् २०१४ मा एङ्गेला मर्केलले अमेरिकी राष्ट्रपति बराक ओबामालाई पुटिन “अर्कै संसारमा बसिरहेको” बताएको समाचारहरू आएका थिए। फ्रान्सका राष्ट्रपति माक्रोँले हालै पुटिनलाई भेट्दा यसअघिका भेटहरूभन्दा उनलाई धेरै “सङ्कुचित र एक्लिएको” पाएको बताइएको थियो।

केही परिवर्तन आएको हो। ठोस आधार नभए पनि केहीले कमजोर स्वास्थ्य र औषधिको प्रभाव हुनसक्ने अनुमान गरेका छन्। कतिले रुसको पुरानै भव्य अस्तित्वमा फर्काउने उनको चाहना पूरा हुन समयले साथ नदिएकोबारे परेको मनोवैज्ञानिक दबाव हुनसक्ने ठानेका छन्।

यी रुसी नेता कोभिड महामारीको समयमा देखिनेगरी एकान्तवासमा थिए। यसले पनि उनलाई मनोवैज्ञानिक असर गरेको हुनसक्ने कतिपयको आकलन छ। “पुटिन मानसिक रूपमा बिरामी पनि होइनन्, उनी परिवर्तन भएका पनि होइनन्। तर उनी हतारमा छन् र पछिल्ला वर्षहरूमा एक्लिएका छन्,” चिकित्सक समेत रहेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केन डिक्लेभा भन्छन्।

तर अझै पनि चासो के छ भने भरपर्दो सूचना अझै पनि पुटिनको भित्री घेरासम्म पुग्न सकेको छैन। उनका गुप्तचर निकायहरू उनले सुन्न नचाहने कुनै पनि सूचना सुनाउन आनाकानी गरिरहेका छन्। उनीहरू युद्ध कसरी अघि बढ्छ र रुसी सेना कसरी अघि बढ्छ भन्नेबारे फूलबुट्टे कुरा मात्रै सुनाउँछन्।

आफ्नै सेनाले कति कठिनाइ भोगिरहेको छ भन्नेबारे पश्चिमा गुप्तचरसँग भए जति सूचना पनि पुटिनसँग नभएको गत साता एक पश्चिमा अधिकारीले बताएका थिए। यसले रुसको बिग्रिँदो अवस्थाबारे पुटिनले थाहा पाए भने उनले कस्तो प्रतिक्रिया जनाउलान् भन्ने चासो बढाएको छ।

पुटिन आफैँले आफू सानो छँदा मुसो खेदाएको र एउटा कुनामा पुगेपछि मुसाले आफूलाई झम्टिन खोजेपछि भागेको कथा सुनाएका छन्। अहिले पश्चिमा नीतिनिर्माताहरूले पुटिनले आफूलाई चेपुवामा पारिएको महसुस गरे के हुन्छ भनेर प्रश्न गरिरहेका छन्।

“उनले क्रूरता प्रदर्शनलाई दोबर बनाउँदै तयार राखेका हतियारहरूको प्रयोग गर्छन् कि भन्ने प्रश्न हो,” एक पश्चिमा अधिकारी भन्छन्। उनले रासायनिक हतियार वा परमाणुअस्त्र प्रयोग गर्छन् भन्ने चिन्ता व्यक्त भएका छन्। “चिन्ता के हो भने उनले अविश्वसनीय शैलीमा बटन दबाउन सक्छन्,” एड्रिन फर्न्‌हम भन्छन्।

म्याडम्यान सिद्धान्तअनुसार पुटिनको मनमा उनी आफू खतरनाक र तर्कशून्य छु भन्ने धारणा विकास हुनसक्छ। यस्तो अवस्थामा परमाणुअस्त्र भएको मान्छेले प्रतिद्वन्द्वी पक्षलाई आफू उक्त अस्त्र चलाउन सक्नेगरी सन्काहा हुनसक्ने भन्दै पछि हटाउने रणनीति लिन खोज्छ।

पश्चिमा जासुस र नीतिनिर्माताहरूका लागि पुटिनको उद्देश्य र मनसाय बुझ्नका लागि योभन्दा महत्त्वपूर्ण समय अर्को नहुन सक्छ। उनको प्रतिक्रियाको आकलन गर्दै खतरनाक अस्त्र चलाउने परिस्थितिसम्म नपुग्नेगरी उनलाई कतिसम्म दबाव दिन सकिन्छ भन्ने उनीहरूका लागि महत्त्वपूर्ण छ। “पुटिनको आफ्नै अवधारणाले उनलाई कमजोर हुन र हार्न दिँदैन। उनी त्यस्ता कुराहरूलाई मन पराउँदैनन्,” केन डिक्लेभा भन्छन्।

“चिन्तित र कमजोर पुटिन थप खतरनाक पुटिन हुन्। कहिलेकाहीँ भालुलाई खोरमा थुन्नुभन्दा जङ्गलमै छोड्नु राम्रो हुन्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *