एक अर्कालाई गलाउने रणनीतिमा देउवा-कोइराला, भ्रातृ संस्थाको मनोनितले विवाद सतहमा

सम्भव सिंह ठकुरी
११ चैत २०७८ १४:२८

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच आन्तरिक संघर्ष चर्किन थालेको छ।

सभापतिमा निर्वाचित भएको तीन महिना नपुग्दै देउवा र कोइरालाबीच खटपट सुरु भएको छ। देउवाले पार्टीमा एकलौटी ढंगबाट निर्णय गरेर आफूहरुलाई किनारा लाउन खोजेको कोइराला समूहको आरोप रहेको छ।

कांग्रेसको १४ औँ महाधिवेशनमा ४० मत प्राप्त गरेका कोइराला समूहलाई देउवा समूहले उपेक्षा गरिएको ठम्याई रहेको छ। महाधिवेशनमा ४० मत प्राप्त गरेको नेतासँग कुनैपनि सल्लाह नगरि देउवा एकल ढंगबाट रहेको भन्दै कोइराला समूहका नेताहरु आक्रोशित भएका छन्।

देउवा र कोइरालाबीच चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने बीचमा तीब्र मतभेद हुँदा हुँदै बुधबार कांग्रेसको प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुणदलको तदर्थ समितिको अध्यक्ष चयन गर्दा आफ्नो समूहसँग सल्लाह समेत नगरि निर्णय गरेको भन्दै विवाद सतहमा आएको हो।

नेता गुरु घिमिरे पनि यो निर्णयप्रति असन्तुष्ट ब्यक्त गरेका छन्। उनले कांग्रेसको कसैको निजी संस्था नरहेकाले एकलौटी निर्णय मान्य नहुने भन्दै आक्रोश ब्यक्त गरेका छन्। ‘नेपाली कांग्रेस कसैको निजी प्रभाव क्षेत्र होइन। यो कसैको बपौती या निजी उद्यम पनि होइन। कार्यसम्पादन समितिको निर्णय अनुरुप सामान्य परामर्श समेत नगरी भ्रातृ संगठन गठनको घोषणा गर्नुलाई स्वेच्छाचार बाहेक केही भन्न सकिन्न,’ उनले भने।

घिमिरेले भने, ‘लोकतन्त्र भनेको  सह–अस्तित्व हो। सहअस्तित्व अस्वीकार गर्नु लोकतन्त्रको मर्म बिपरित हो। अस्तित्व रक्षाका लागि जुनसुकै मुल्य चुकाउन तयार छौं।’

घिमिरे नेविसंघको पूर्वअध्यक्ष पनि हुन्। यसरी कांग्रेस भित्रको आन्तरिक संघर्ष सतहमा आएपछि कोइराला समूहका विद्यार्थीले शुक्रबार केन्द्रीय पार्टी कार्यलय सानेपामा पनि विरोध जनाएका छन्।

विद्यार्थीहरुले पार्टी भित्र एकाधिकार लाद्न पाइँदैन, सभापति साझा हो गुट चलाउन पाइँदैन, भ्रातृसंस्थाको एकलौटी मनोनयन अन्त्य गर भन्दै नाराबाजी गरेका छन्।

कोइराला निकट एक नेताका अनुसार देउवाले पार्टीमा एकलौटी ढंगबाट निर्णय गरेर आन्तरिक एकता कमजोर बनाएको आरोप लगाए।

‘लामो समयदेखि रिक्त रहेको पद पूर्ती गर्नुपर्ने अहिलेको आवश्यक्ता हो। नेविसंघ र तरुण दलको अध्यक्ष मनोनयन गर्नु स्वागत योग्य कुरा हो। तर पार्टीमा एक शब्द पनि छलफल नगरि आफ्नो ढंगबाट सभापति चल्न खोज्नु भयो यसरी पार्टीलाई हित गर्दैन,’ एक नेताले भने, ‘अर्को कुरा सत्तारुढ गठबन्धलाई चुनावसम्म नै तालमेल गर्ने उहाँको प्राथमिकता देखिन्छ तर यो विषयमा पार्टीमा छलफल सम्म गर्नुभएको छैन।’

उनले अगाडि भने, ‘यो गठबन्धन चुनावसम्म लग्यो भने कुनै व्यक्तिलाई फाइदा त होला तर सिंगो पार्टी र संगठनलाई हित हुँदैन। त्यसकारण कांग्रेस एक्लै चुनावमा सहभागी हुनुपर्छ।’

नेविसंघको मनोनयनमा संस्थापन पक्षकै विद्यार्थी असन्तुष्ट

कांग्रेस र नेविसंघको इतिहास हेर्दा प्रमुख भ्रातृसंस्थाको तदर्थ समिति मनोनित गर्दा संस्थापन पक्ष अर्थात् पार्टी सभापति निकट कै हुने गरेको छ।

सोही  इतिहास दोहोर्याउँदै सभापति देउवाले आफ्नो दुई कार्यकालमा दुई नेविसंघका अध्यक्ष मनोनित गरे। तत्कालीन नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि देउवाले आफ्नो पहिलो कार्यकालमा राजीव ढुंगानालाई २०७६ माघ १६ गते ६ महिना भित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गराउने उद्देश्यका साथ अध्यक्षमा मनोनयन गरे। तर उनको दुई वर्ष भन्दा लामो समयको कार्यकाल अपूर्ण केन्द्रीय कमिटी र एउटा जिल्लाको समेत अधिवेशन सम्पन्न नगराई बित्यो।

तर ढुंगाना मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। त्यसपछि रिक्त रहेको नेविसंघको अध्यक्षमा ३२ वर्ष भन्दा मुनीका दुजाङ शेर्पा तदर्थ समितिको अध्यक्षमा सभापति देउवाले आफ्नो दोस्रो कार्यकालमा मनोनित गरे। देउवाको सो निर्णयपछि संस्थापन पक्ष अर्थात् सभापति देउवा समूहकै विद्यार्थी नेताहरु असन्तुष्ट भएका छन्।

नेविसंघमा उमेर हकबन्दी निकै लामो समयदेखि विवाद बन्दै आएको छ। नेविसंघको ११ औँ महाधिवेशन पश्चात संगठनमा ३२ वर्षे उमेद हकबन्दी लगाउने निर्णय भएको थियो। तर समयमा विधिवत् महाधिवेशन हुन नसकेपछि लामो समय पछि भएको ११ औँ महाधिवेशनमा व्यवस्थापन हुन नसेका विद्यार्थी नेताहरुको लागि सो निर्णय अस्वभाविक थियो। र उमेर बाधक बनेको थियो।

तर ११ औँ महाधिवेशन भएको ४ वर्ष भन्दा धेरै समय बित्दा समेत १२ औँ महाधिवेशन हुन नसक्दा पुराना विद्यार्थी नेताहरुका लागि नेविसंघको राजनीतिमा पूर्णबिराम लागेको छ।

नेविसंघको विधान अनुसार २ वर्षमा महाधिवेशन हुनुपर्ने हो। तर कांग्रेसको नर्सरीको रुपमा चिनिएको नेविसंघको महाधिवेशन परम्परागत ढंगबाट चल्दै समयमा महाधिवेशन हुन नसकेपछि पुराना विद्यार्थी नेतालाई आफ्नै उमेर बाधक बन्यो।

यसरी शेर्पा नेविसंघको अध्यक्षमा मनोनित भएसँगै पूर्वमहामन्त्री सरोज थापाले असन्तुष्ट ब्यक्त गरेका छन्। थापा सभापति देउवा समूहका प्रभावशाली विद्यार्थी नेताका रुपमा चिनिन्छन्।

नेविसंघको ११ औँ महाधिवेशनमा देउवा समूहकै विद्यार्थी प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका थापालाई पनि नेविसंघको सम्भावित अध्यक्षका रुपमा हेरिएको थियो।

यसरी तदर्थ समितिमा ३२ वर्ष माथिको अध्यक्षसहित सिंगो केन्द्रीय समितिलाई पूर्णता दिएर १२ औँ महाधिवेशनमा ३२ मुनीको हकबन्दी लगाउँदा संगठनलाई न्याय हुने पुराना विद्यार्थीको बुझाइ थियो।

तर ३२ मुनीका शेर्पा नेतृत्वमा आएपछि थापाले न्यायको संघर्ष गर्दा गर्दै  आफैं अपमानित र तिरस्कृत हुन पुगेको बताएका छन्। उनले पार्टी भित्रकै न्याय प्राप्तिको लडाइँमा खेप्नु परेको दुख मिठो स्मरण मात्र वन्न पुगेको बताएका छन्।

‘पार्टी भित्रकै न्याय प्राप्तिको लडाइँमा खेप्नु परेको दुख र संघर्ष आज मेरो लागि मिठो स्मरणमात्र बन्न पुगेको छ। राजनीतिमा (इमानदारिता, सार्वजनिक नैतिकता, न्याय) र विवेकशीलतालाई कायम गर्ने मेरो प्रयत्नको कारण भोग्नुपरेको व्यक्तिगत र पारिवारिक पीडालाई इतिहासको विरासतको रुपमा लिएको छु।’

थापाले भनेका छन्, ‘न्यायको लडाइँ भनेर संघर्ष गर्दागर्दै आफै अपमानित र तिरस्कृत हुन सक्ने नियतीको मैले कल्पना गरेको थिएन। आज मेरो लामो विद्यार्थी राजनीतिको यात्रामा अल्पविराम लागेको छ। तर मेरो राजनीतिक यात्रालाई कहिल्यै पूर्णविराम हुन दिने छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *