उग्रतारा शीत भण्डारले दिएको खुसी

डिसी नेपाल
१५ चैत २०७८ १६:४९

 

डडेल्धुरा ।आलुको बिउ कुहिने तथा किरा लाग्ने समस्या थियो। उत्पादन गरेको बिउ एक दाना नराखेर बिक्रि गर्थ्यौँ । तर, शीत भण्डारण बनेपछि निकै सहज भएको छ। आलुको उत्पादन पनि बढ्दै गएको छ। भण्डारणको क्षमता अझ बढाउनु पर्दछ,’ यस्तै खुसी साट्दै थिए गन्यापधुराका अगुवा कृषक प्रशाददत्त अवस्थी।

अवस्थी त एउटा उदाहरण किसान मात्र हुन्। डडेल्धुराका सातवटै स्थानीय तहका कृषक पछिल्लो समयमा आलु खेती गरेर मनग्य आमदानी गरिरहेका छन्। बजारदेखि भण्डारण गर्न समस्या नभएपछि यहाँका कृषक आलु खेतीमा अग्रसर भएका हुन्।

आलु भण्डारणका लागि अमरगढी नगरपालिका(१ दहमा उग्रतारा शीत भण्डार सञ्चालनमा आएपछि कृषक झनै हर्षित छन्।

‘लगाएका आलु तत्काल सस्तो मूल्यमा बिक्री गर्नु पर्थ्यो । नत्र त खराब भइहाल्थ्यो। तर, अहिले उत्पादन भएको आलु शीत भण्डारमा राख्ने गरेका छौं,’ कृषक अवस्थीले भने, ‘अब आलु मात्र होइन अन्य तरकारीको भण्डारणको पनि व्यवस्था गर्नुपर्छ।’

बारीमा उत्पादन भएको आलु तत्काल तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता थियो । तर, उक्त समस्या टरेको अर्का कृषक दत्तराज अवस्थीले बताए।

उनी भन्छन्, ‘शीत भण्डार सञ्चालन भएसँगै बिउ लामो समयसम्म राख्न पाउँछौं। खायान (खाने) आलु भण्डार पनि गछौं।’

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना(रिज्मएफपी) को ६५ प्रतिशत अनुदान र स्थानीय उद्योगी व्यपारीहरूको ३५ प्रतिशत लगानीमा २०७४ सालमा शीत भण्डारको स्थापना गरिएको शीत भण्डारका अध्यक्ष भोजराज भट्टले बताए। शीत भण्डारमा आजसम्मको लगानी हेर्दा साढे सात करोड बढी पुगिसकेको उनको भनाइ छ।

‘आवश्यक चिस्यान नहुँदा शीत भण्डारमा भण्डार गरिएका आलुमा टुसा पलाएपछि शीत भण्डारलाई दुई पार्टमा व्यवस्थापन गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाईको सहयोगमा शीत भण्डार पूर्ण रूपमा सञ्चालनमा आएको छ,’ उनले भने, ‘शीत भण्डारको क्षमता १४ सय ५० मेट्रिक टन (१४ हजार पाँच सय क्विन्टल) छ।’

प्रतिकिलो पाँच रूपैयाका दरले शीत भण्डारमा कृषकले बिउ आलु ६ महिना र खायान आलु तीन महिनासम्म भण्डारण गर्ने गरेको शीत भण्डारका सञ्चालक लालमणि पन्तले बताए । दक्ष प्राविधिक नहुँदा कोल्ड स्टोरमा आइरहने समस्या समाधान गर्न समस्या हुने गरेको उनको भनाइ छ।

कोल्ड स्टोरमा भण्डारण गरेवापत कृषकले एक किलाको पाँच रूपैयाँ तिर्नुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत खेमराज जोशीले बताए।

उनी भन्छन्, ‘कोल्ड स्टोरमा आलु राखेवापत किसानलाई प्रतिकिलो दुई रूपैयाँका दरले अनुदान दिने गरेका छौं। दुई रूपैँया सम्बन्धित स्थानीय तहले दिन्छन् र एक रूपैयाँ कृषकको गरि पाँच रूपैयाँ पर्छ।’

कृषकहरू लामो समयदेखि गर्दै आएको खेती छोडेर व्यावसायीक आलु खेती गरिरहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *