छ महिनामा पनि न्यायिक समितिले निर्णय नदिएको भन्दै स्थानीयवासी आक्रोशित

डिसी नेपाल
२१ चैत २०७८ २१:४३

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका न्यायिक समितिले परम्परादेखि चलिआएको बाटो बन्द गर्ने केही स्थानीयवासीको कदमका विरुद्ध परेको उजुरीमा छ महिना बितिसक्दा पनि निर्णय दिन नसकेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

वडा नं ५ थली चौरबाट पश्चिमतर्फको नगरपालिकाले नै कैलाश मार्ग नामकरण गरेको सडक राजु सिम्खडा र जगन्नाथ पौडेलले रोकेको भनी स्थानीयवासी तुलसीप्रसाद चौँलागाईँलगायत १० जनाले गत असोजमा न्यायिक समितिमा उजुरी दर्ता गराएका थिए । यो बाटो २०३० सालदेखि चलेको स्थानीय बूढापाका बताउँछन् ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) ठ ले यस्ता मुद्दामा न्यायिक समितिले तीन महिनाभित्र निर्णय गर्नुपर्ने व्यवस्था गरेको छ । तर कागेश्वरी मनोहरा नगरपालिकाको न्यायिक समितिले छ महिना बितिसक्दा पनि निर्णय गर्न नसकेको पीडितको गुनासो छ ।

न्यायिक समिति सदस्यसमेत रहेका वडाध्यक्ष राजाराम पुडासैनी पनि पीडकका पक्षमा लागेको पीडितको भनाइ छ । स्थानीय तह सञ्चालन ऐनले न्यायिक समितिले गर्न सक्ने भनी तोकेको मुद्दाको पेसीमा चैत २० गते आइतबार जाँदा जिल्ला अदालत जानू भनी पन्छिन खोजेको उजुरीकर्ता चौँलागाइँले बताए ।

न्यायिक समिति संयोजकसमेत रहेका नगर उपप्रमुख विन्दु सिम्खडा पुडासैनीलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक सम्पर्क गरे पनि उनी सम्पर्कमा आएनन् । नगर प्रवक्ता र न्यायिक समिति सदस्यसमेत रहेका वडाध्यक्ष राजाराम पुडासैनी पनि सम्पर्कमा आउन चाहेनन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *