स्व पत्रकार विश्वकर्मालाई ‘सामाजिक न्याय सम्मान २०२२’ सम्मान तथा पुरस्कार प्रदान

डिसी नेपाल
२१ चैत २०७८ २१:५८

काठमाडौं । स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । सहयात्रा नामक संस्थाले यहाँ आज सम्मान कार्यक्रमको आयोजना गरी अधिकारकर्मी स्व रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि गत माघ ६ गते ललितपुरस्थित पाटन अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्व पत्रकार विश्वकर्माको परिवारलाई पुरस्कार हस्तान्तरण गर्दै स्व एलबीको परिवारलाई राहत तथा सहयोगका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ÷सङ्गठनले विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।

श्रमजीवी–पत्रकार सङ्घ नेपालले घटनाका दोषीउपर छानबिनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *