घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्या आशंकामा दुई जना पक्राउ

डिसी नेपाल
२२ चैत २०७८ १७:५९

उदयपुर । घरबाट ट्युसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत छात्रा १६ वर्षीया कविता सुनुवारको स्थानीय यसोदाखोलामा घरबाट विद्यालयमा हुने अतिरिक्त कक्षा पढ्न आउँदै गर्दा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको छ ।

साथीको हत्यापछि कोशी जनता माद्यामिक विद्यालय रामपुरका विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले रामपुर बजारमा प्रदर्शन गरेका छन् ।

उदयपुरको बेलका नगरपालिका-६ बुद्धचोक घर भएकी किशोरीको मंललबार बिहान विद्यालयमा अतिरिक्त कक्षा पढ्न जाने क्रममा हत्या भएको थियो । बेलका नगरपालिका–३ यसोदाखोलामा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल ९खत्री०को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल ९खत्री० रहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । टोलीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टम गर्न बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले अनुसन्धानका क्रममा करणी गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताए । उनले अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भई सकेकाले अनुसन्धानपछि मात्र घटनाको पहिचान गर्न सकिने बताए ।

कक्षा १० मा अध्ययनरत बालिका एसईईको तयारीका लागि ट्युसन पढ्न सधैँ बिहानै जाने गरेको परिवारका सदस्यले बताएका छन् । घटना स्थल विद्यालयदेखि करिब ७ सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयले बताए ।

मृतक बालिकाको टाउकोमा चोट लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *