पाँच दलीय गठबन्धनलाई प्रदेश एकमा राप्रपाको साथ, ओलीको गृहनगर दमक राप्रपालाई दिने सहमति

डिसी नेपाल
४ वैशाख २०७९ १३:२६

काठमाडौं। सत्तारुढ पाँच दलीय चुनावी गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि साथ दिने भएको छ।

प्रदेश एकको राजधानी बिराटनगरमा आज बसेको गठबन्धनको शीर्ष नेता र राप्रपाका नेताहरुबीच भएको छलफलमा राप्रपालाई झापाको दमक नगरपालिका दिएर अन्य स्थानमा पनि आवश्यक्ता अनुसारको तालमेल गर्ने निर्णय भएको गठबन्धनका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार दमक नगरपालिकामा राप्रपाको उम्मेदवारीलाई गठबन्धनले सहयोग गर्ने र अन्य स्थानहरुमा राप्रपाले सहयोग गर्ने निर्णय भएको हो। तर अन्य ठाउँहरुमा कुन दलले पाउने भन्ने विषय चाहीँ निर्णय नभएको बताएका छन्।

उनले भने, ‘हामी र राप्रपाबीच प्रदेश एकका दमक नगरपालिका राप्रपालाई दिएर जाने सहमति भइसकेको छ। अन्यको हकमा छलफल जारी छ।’

यता राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पनि स्थानीय आवश्यक्ताको आधारमा जो कोहीसँग तालमेल हुने बताएका छन्। प्रदेश एकमा राप्रपाले मा सत्ता गठबन्धनसँग तालमेल गर्ने निर्णय गरेपनि आवश्यक परे अन्य ठाउँहरुमा अरु दलहरुसँग पनि तालमेल हुने बताए।

डिसी नेपालसँग कुराकानी गर्दै उनले भने ‘हामीले केन्द्रबाट नै फलनो दलसँग तालमेल गर्ने भनेर नीतिगत निर्णय गरेका छैनौँ। तर आवश्यक्ताको आधारमा जो कोहीसँग पनि तालमेल गछौँ भनेका छौँ। सोही निणर्य अनुसार प्रदेश एकमा सत्तागठबन्धनसँग तालमेल भएको हो र झापाको दमकमा राप्रपाको उम्मेदवारीलाई सहयोग गर्ने र अन्य ठाउँहरुमा राप्रपाले अरुलाई सहयोग गर्ने निर्णय भएको हो।’

‘मैले पनि प्रदेश एकका हाम्रो पार्टीका साथीहरुसँग राम्रोसँग कुरा गर्न पाएको छैन। तर यो सत्तागठबन्धनसँग चुनावी तालमेल गर्ने भन्ने निर्णय भएको चाहीँ सुनेको छु।’श्रेष्ठले भने ‘सायद त्यहाँको राजनीतिक धरातल अनुसार पार्टीलाई सत्तागठबन्धनसँग तालमेल गर्न आवश्यक ठान्नु भयो होला त्यही अनुसार निर्णय भएको हो।’

अघिल्लो निर्वाचनको मतपरिणाम अनुसार राप्रपा दमक नरपालिकाको दोस्रो शक्ति रुपमा उदाएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत पर्ने दमकमा राप्रपा र सत्तागठबन्धनबीच तालमेल भएपछि चासोको रुपमा हेरिएको छ।

यसरी निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी परिणाम आफू अनुकूल ल्याउन विभिन्न तालमेल र गठबन्धन गर्ने सहमति गरिराखेका छन्। प्रदेश एकको का १४ जिल्लामध्ये झापामा जिल्लामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । झापा जिल्ला अध्यक्ष्य राजेन्द्र लिङदेनको गृह जिल्ला पनि हो।

झापाको तीन वटा स्थानीय तहको प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो ।राप्रपाले यसअघि नै प्रदेश एकका अध्यक्ष राम थापालाई मेयर बनाउने घोषणा गरेको थियो।

अघिल्लो निर्वाचनमा दमक नगरपालिकाको निर्वाचन परिणाम

रोमनाथ ओली १० हजार ८ सय ६ (एमाले)

राम थापा ७ हजार ६ सय ५५ (राप्रपा)

रेवतराज पुरी ६ हजार ८९८ (माओवादी केन्द्र)

ढुंडीराज भण्डारी ५ हजार ५ सय ४९ (कांग्रेस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *