गठबन्धनलाई संयुक्त चुनावी सभा गर्नै मुस्किल

डिसी नेपाल
५ वैशाख २०७९ ११:०६

काठमाडौं। पाँच दलीय गठबन्धनले मनोनयन दर्ता गर्न ६ दिन बाँकी छँदा पनि संयुक्त चुनावी सभा गर्नै सकेको छैन। संयुक्त अपिल भने २९ चैत २०७८ मा जारी गरेको थियो । तर, अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त चुनावी गर्ने सुरसार नै छैन।

मतदातालाई प्रभावित पार्न चुनावी सभा अनिवार्य मानिन्छ। ठाउँठाउँमा चुनावी सभा गरिँदा मतदाता प्रभावित हुन्छन्। अर्कोतिर चुनावी माहोल सिर्जना हुन्छ। तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले बताएका छन्।

उनले तालमेलबारे नीतिगत निर्णय मात्र भएको बताए ।व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने उनको भनाइ छ।

१७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जानेगरी सहमति गरेका थिए। लमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठनसमेत भएको छ।

समितिको बैठक पटकपटक बैठक बसिसकेको छ। गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि नसकेको होइन। तर, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँगै वडापालिकासम्म तालमेलको टुं‍गाे गर्न नसक्दा संयुक्त चुनावी गर्न गठबन्धन असक्षम भएको हो।

अर्कोतिर, गठबन्धन दलहरूबीच चुनावी तालमेल पेचिलो बन्दै गएको छ। मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताएका छन्।

प्रदेश १ मा पनि उस्तै छ । धनकुटा र उदयपुरबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ। त्यहाँका कांग्रेस महामन्त्री भूपेन्द्र राईले सांगठनिक हैसियतभन्दा बढी स्थानी तहमा दाबी गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताएका छन्।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ। ठाउँठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले तालमेलको प्राविधिक विषयमा सहमति हुन बाँकी छँदा कतै कतै समस्या देखिएको र गठबन्धन दलहरूले तालमेल टुंग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने बताए। निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ। ३० वैशाखमा भने मतदान नै हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *