नयाँ वर्षको अवसर पारेर डिसी नेपालले गर्‍याे विशेष कार्यक्रम

डिसी नेपाल
६ वैशाख २०७९ १३:२०

अमेरिका। नयाँ वर्ष २०७९ को अवसर पारेर डिसी नेपालले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई केन्द्रित गरी एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। अमेरिकामा रहेका नेपाली समुदायलाई केन्द्रित गरी लायन्स क्लबहरुलाई आव्हान गरेर ‘भर्चुअल’ माध्यमबाट रामाइलो हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । सो कार्यक्रममा १३ वटा लायन्स क्लबहरुले भाग लिएका थिए ।

१३ वटा लायन्स क्लबहरुलाई ‘प्रि–फाइनल’ मा ३ समूहमा विभाजन गरिएको थियो । पहिलो समूहमा ओक्ल्यान्ड फिड द निड, डालस पोखरा, क्विन्स नेप्लिज, न्यू इङ्लेन्ड हिमालय र क्विन्स बुद्ध लायन्स क्लबले प्रतिस्पर्धा गरेका थिए भने सो समूहबाट डालस पोखरा फाइनलमा पुगेको थियो । त्यसैगरी दोश्रो समूह अन्तर्गत वेस्ट हार्टफोर्ड लुम्बिनी, डालस एभरेष्ट, डालस बुद्ध, बर्कली अन्नपूर्णले प्रतिस्पर्धा गरेका थिए ।

सो प्रतिस्पर्धाबाट डालस बुद्ध फाइनलको लागि छनौट भएको थियो भने तेस्रो समूह अन्तर्गत बर्कली मकालु, अस्टिन एभरेस्ट, अर्भिङ एभरेस्ट र हार्टफोर्ड सेन्टेनियल एभरेस्ट लायन्स क्लबले प्रतिस्पर्धा गरेका थिए। तेस्रो समूहबाट हार्टफोर्ड सेन्टेनिएल एभरेस्ट लायन्स क्लब फाइनलमा पुगेको थियो । हरेक समूहको प्रतिस्पर्धामा प्रयवेक्षकको रुपमा लायनका नेतृत्वकर्ताहरुलाई राखिएको थियो ।

पहिलो प्रतिस्पर्धामा कृष्ण कँडेल र राधाकृष्ण काफ्ले, दोस्रो प्रतिस्पर्धामा मनिलबाबु श्रेष्ठ र बिएन पन्त रहेका थिए भने तेस्रो समूहको प्रतिस्पर्धामा मनिलबाबु श्रेष्ठ र महेश्वर पन्त पर्यवेक्षकको रुपमा रहेका थिए। अप्रिल महिनाको २ र ३ तारिकमा ‘प्रि फाइनल’ गरिए पनि फाइनल भने नयाँ बर्षको सुरुवातसँगै अप्रिलको १७ तारिकमा गरिएको थियो।

फाइनलमा तीन समूहहरुमध्ये डालस पोखरा प्रथम, डालस बुद्ध दोस्रो र हार्टफोर्ड सेन्टेनियल एभरेस्टले तेस्रो स्थान प्राप्त गरेका थिए । फाइनलको पर्यवेक्षकमा लयन राजन थापा र लायन राज श्रेष्ठ थिए । कार्यक्रममा प्राविधिक सहयोगीको रुपमा सुनिल हुमागाईंं थिए । कार्यक्रमको सञ्चालन डिसी नेपालका प्रस्तोता ‘नुन चिनी पानी’का परिकल्पनाकार अर्जुन दाहालले गरेका थिए।

सो कार्यक्रमलाई प्रतिस्पर्धा भन्दा पनि रमाइलो खेलको रुप दिन कार्यक्रमको नाम ‘नुन चिनी पानी क्विज विथ लायन्स क्लब’ राखिएको थियो । कार्यक्रमको समापन भएसँगै डिसी नेपालका प्रधान सम्पादक चूडामणि भट्टराईले सबै सहभागी, पर्यबेक्षकहरुलाई धन्यबाद ज्ञापन गर्दै प्रथमलाई ३०० डलर, दोस्रोलाई २०० डलर र तेस्रोलाई १०० डलर पुरस्कार हस्तान्तरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *