स्थानीय निर्वाचनः अघिल्लो महानगर निर्वाचनमा कुन दलको कति मतभार ?

सम्भव सिंह ठकुरी
८ वैशाख २०७९ १३:५३

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन २२ दिनमात्र बाँकी रहँदा राजनीतिक दलहरुले चुनावी प्रचारलाई व्यापक तीब्रता दिएका छन्।

सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दल र प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल परिवार दललगायत अन्य साना दलसहित दुई पक्षीय गठबन्धनबीच प्रतिश्पर्धा हुने निश्चित छ।

कुल ७५३ स्थानीय तह मध्ये ६ वटा महानगरपालिको चुनावी परिणामले आगामी संसदीय निर्वाचनमा पनि विषेश महत्व राख्दछ। ६ वटा महानगरमा सत्तागठबन्धनले गठबन्धन गरेर उम्मेदवार बनाउने निर्णय भइसकेको अवस्था छ। एमाले भने अन्य साना दलहरुसँग समीकरण गरेर जाने कि एक्लै जाने भन्ने विषयमा कुनै निर्णय भएको छैन।

यस्तो छ मतभार

भरतपुर महानगरपालिकाः चितवन जिल्लाको भतरपुर महानरपालिकाको चुनावी परिणामलाई अहिले सबैभन्दा चासो र महत्वका साथ हेरिएको छ।

नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमिति र भरतपुर महानगरपालिका कार्यसमितिको बहुमत सदस्यले नगरप्रमुख कांग्रेसले पाउनुपर्ने लामो समय देखिको अडान कांग्रेसको केन्द्रीय निर्णयले भंग गरिदिएको छ।

गठबन्धन गरे नगरप्रमुखले पाउनु पर्ने नत्र भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने स्थानीय कांग्रेसको चाहना भएपनि केन्द्रले माओवादीलाई नगरप्रमुख दिने निर्णय गरेपछि भरतपुरमा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार र एमालेका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने निश्चित बनेको छ।

यसरी स्थानीय कांग्रेसको असन्तुष्टिकाबीच भएको यो निर्णयले कस्तो परिणाम ल्याउला भन्ने विषय महत्वपूर्ण बनेको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४३१२७ मत प्राप्त गर्दै एमालेका देवी ज्ञवालीलाई पराजित गरेकी थिइन्। ज्ञवालीले ४२९२४ मत प्राप्त गरेका थिए। यो मतान्तर भनेको २०३ को फरक हो।

सो निर्वाचनमा पनि कांग्रेस र माओवादीको गठबन्धन बनेको थियो। कांग्रेसको तर्फबाट उपनगरप्रमुखमा पार्वती शाह ठकुरीले जितेकी थिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार बद्रीनाथ तिमल्सिनाले ६८४२ मत प्राप्त गरेका थिए।

काठमाडौं महानगरपालिकाः मुलुकको संघीय राजधानी काठमाडौं शहरमा पर्ने काठमाडौं महानगरपालिका नेपालको सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो। देशको राजधानी भएकाले यहाँको चुनावलाई दलहरुले राजनीतिक प्रतिष्ठाको विषय पनि बनाउँछन्।

अघिल्लो निर्वाचनमा स्वतन्त्र र नयाँ दलहरुले पनि उल्लेखनीय मत प्राप्त गरेको यो महानगरपालिकामा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले जितेका थिए। शाक्यको निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका राजुराज जोशी थिए।

सो निर्वाचनमा एमाले र राप्रपाको तालमेल भएको थियो। नगरप्रमुखमा एमाले र उपप्रमुखमा राप्रपाले पाउने गरि निर्वाचनमा होमिएका थिए। तर उपप्रमुख भने कांग्रेसकी हरिप्रभा खड्कीले जितेकी थिइन्।

यस्तो छ मतपरिणाम

विद्यासुन्दर शाक्य ६४९१३ (एमाले)

राजुराज जोशी ४५२७९ (कांग्रेस)

रन्जु न्यौपाने २३४४९ (विवेकशील नेपाली दल)

किशोर थापा १८४९६ (साझा पार्टी)

सर्वोतमदास ढंगोल ७०९०६ (माओवादी)

पवित्र बज्राचार्य ६०५० (नयाँ शक्ति)

यो पटकको निर्वाचनमा भने महानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकृकीत समाजवादीले पाउने गरि चुनावी गठबन्धन भएको छ।

ललिपुर महानगरपालिका

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो। ३०८ मतान्तरले कांग्रेसका उम्मेदवार चिरिबावु महर्जनले बाजी मारेका थिए।

सो निर्वाचनमा काठमाडौंमा झैं ललितपुरमा पनि एमाले र राप्रपाबीच तालमेल भएको थियो। तर यो पटकको निर्वाचनमा भने कांग्रेस नगरप्रमुख र माओवादीले उपप्रमुख पाउने गरि गठबन्धन गरेको छ।

यस्तो छ अघिल्लो मतपरिणाम

चिरिबावु महर्जन २४६४२ (कांग्रेस)

हरिकृष्ण बेञ्जनकार २४३१६ (एमाले)

रमेश महर्जन १३४५८ (साझा पार्टी) हाल उनको मृत्यु भइसकेको छ।

निदेश महर्जन १०६६१ (माओवादी)

लेखनाथ पोखरा महानगरपालिका

कास्की जिल्लामा पर्ने लेखनाथ पोखरा महानगरपालिकालाई एमालेको गढ भनेर चिनिन्छ। त्यसैलेपनि अघिल्लो निर्वाचनमा पनि निकटतम प्रतिस्पर्धीको भन्दा धेरै मतान्तरले एमालेका मानबहादुर जिसीले महानगर प्रमुख जितेका थिए।

सो निर्वाचनमा कांग्रेस र माओवादीले चुनावी तालमेल गर्दा पनि जिसीले १३७०२ मतान्तरले जितेका थिए। तर यो पटकको निर्वाचनमा भने गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले नगरप्रमुख र उपप्रमुखमा कांग्रेसले पाउने गरि केन्द्रबाट निर्णय गरिएको छ।

एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीको सांगठनिक संरचना गण्डकी प्रदेशमा कमजोर ठानिएको छ। तर समाजवादीले भने यो महानगरलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

तर स्थानीय कांग्रेसले भने एकृकीत समाजवादीलाई महानगरको उम्मेद्वार बनाउने निर्णय गरेपछि आपत्ति जनाइरहेका छन्। बुधवार कांग्रेस कार्यकर्ताले सो निर्णय पुर्नःविचार गरियोस् भन्दै जिल्ला पार्टी कार्यलयमा तालाबन्दी नै गरेका छन्। त्यसैले यो महानगरको चुनावलाई पनि चासोका साथ हेरिएको छ।

यस्तो छ अघिल्लो मतपरिणाम

मानबहादुर जिसी ६०११८ (एमाले)

रामजी कुँवर ४६४१६ (कांग्रेस)

हुमबहादुर गुरुङ ३१७० (संघीय समाजवादी)

बिराटनगर महानगरपालिका

प्रदेश एकको राजधानी बिराटनगर महानगरपालिका कांग्रेसको गढको रुपमा चिनिन्छ। कांग्रेसका संस्थापक नेता वीपी कोइरालादेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदै नेता डा. शेखर कोइरालासम्मको गृहनगर पर्ने भएकाले यहाँको राजनीति कोइराला परिवारको विरासतसँग जोडिएको छ।

अघिल्लो निर्वाचनमा कांग्रेसले नगरप्रमुख र उपप्रमुखसहित वडाहरुमा पनि बहुमतका साथ निर्वाचन जितेको छ। तर यो पटक भने गठबन्धनको तर्फबाट कांग्रेसले नगरप्रमुख पाएपनि उपप्रमुख जनता समाजवादी पार्टी (जसपा) ले पाएको छ।

गठबन्धनको कट्टर आलोचना गरेका शेखर कोइरालाको गृहनगरमै गठबन्धन भएपछि कोइरालाको भूमिकाले पनि महत्वपूर्ण अर्थ राख्छ।

यस्तो छ अघिल्लो मतपरिमाण

भीमप्रसाद पराजुली २३०३१ (कांग्रेस)

बिनोदप्रसाद ढकाल १७३२१ (एमाले)

उमेशकुमार यादव १४९५८ (संघीय समाजवादी फोरम)

प्रल्हादप्रसाद साह हलुवाई ५५२४ (राप्रपा)

वीरगंज महानगरपालिका

यो महानरपालिकाको राजनीतिले पनि निकै महत्वपूर्ण अर्थ राख्ने छ। यहाँ पाँच दलीय गठबन्धन भर्सेज (एमाले–लोसपा)बीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ।

गत निर्वाचनमा जसपाबाट निर्वाचित भएका नगरप्रमुख विजय सरावगी एमाले प्रवेश गर्नु गठबन्धनको तर्फबाट पुनः नगरप्रमुख जसपालाई नै दिनु र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध कांग्रेसी कार्यकर्ताले नाराबाजी लगाउनु यो सबै राजनीतिक घटनाक्रमले महत्वपूर्ण अर्थ बोकेको छ।

गत निर्वाचनको परिणाम हेर्दा यहाँ एमालेसँग भन्दापनि कांग्रेस र जसपाबीच नै तीब्र प्रतिस्र्धा भएको थियो। वीरगंजमा एमाले पाँचौँ शक्ति हो। त्यसैले पनि यहाँ कांग्रेस र जसपाबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। तर नगरप्रमुख जसपालाई र उपप्रमुख कांग्रेसलाई दिने निर्णय भएपछि स्थानीय कांग्रेस सन्तुष्ट छैनन्।

जसपाले मधेस आन्दोलनको केन्द्रमा रहेको वीरगंज कुनै पनि हालतमा आफैंले पाउनुपर्ने दावी गरेपनि कांग्रेसको पनि आफ्नै दावी थियो।
अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार २१९६ मतले पराजित भएका थिए।

तर चौथो मत ८०७१ मत प्राप्त गरेको तत्कालिन फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुनु, नगरप्रमुख सरावगी एमाले प्रवेश गर्नु, मधेस आन्दोलनको रापताप पहिले जस्तो नहुनेले महानगरको परिणाम आफ्नो पक्षमा हुने स्थानीय कांग्रेसीको ठहर थियो।

यस्तो छ अघिल्लो मतपरिणाम

विजय सरावगी १९३९३ (जसपा)

अजय द्विवेदी १७१९७ (कांग्रेस)

राजेशमान सिंह १२१६५ (राजपा)

विमल श्रीवास्तव ८७०१ (फोरम लोकतान्त्रिक)

बसरुद्दिन अन्सारी ८६८८ (एमाले)

रहवर अन्सारी ८३०५ (माओवादी)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *