‘रुसले दक्षिण युक्रेनलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिन चाहन्छ’

डिसी नेपाल
१० वैशाख २०७९ १२:४९
48
Shares

काठमाडौं । रूसले दक्षिण युक्रेन र पूर्वी डोनबास क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्ने लक्ष्य लिएको एक जना वरिष्ठ रुसी सैन्य कमान्डरले बताएका छन्।

मेजर जेनरल रुसत्म मिनकायफलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यममा सन् २०१४ मा रुसमा गाभिएको क्राइमियामा जोड्ने ‘स्थल पुल’ मस्कोले बनाउनसक्ने बाटो खोल्ने लक्ष्य राखिएको भनिएको छ।

उनले त्यसले मस्कोलाई रुसको समर्थन पाएको मोल्डोभाको पृथकतावादी क्षेत्र ट्रान्जनिस्ट्रियासम्म पहुँच उपलब्ध गराउने बताए।

ट्रान्जनिस्ट्रिया युक्रेनसँग सिमाना जोडिएको सानो क्षेत्र हो।

जेनरल मिनकायफको प्रतिक्रिया क्रेम्लिनले आधिकारिक रूपमा स्वीकृत गरेको हो या होइन प्रस्ट छैन तर इन्टरफ्याक्स र तास समाचार संस्थासहित रुसी सञ्चारमाध्यमहरूमा त्यसलाई व्यापक स्थान दिइएको छ।

रुसी रक्षा अधिकारीहरूले बीबीसीका स्टिभ रोजेनवर्गलाई उनीहरूले मिनकायफको प्रतिक्रियालाई हेरिरहेको बताएका छन्। यदि त्यो धारणा आधिकारिक पुष्टि भए त्यसले आगामी साताहरूका लागि रुसको सम्भावित योजनाबारे सङ्केत दिनेछ।

यसैबीच एक जना वरिष्ठ युरोपेली सङ्घका अधिकारीले रोयटर्स समाचार संस्थासँग रुसले पूर्वी युक्रेन र दक्षिणी तटीय क्षेत्रमा आगामी दिनमा आक्रमणलाई तीव्रता दिनसक्ने बताएका छन्।

उनले जारी लडाइँमा आगामी दुई हप्ता निर्णायक हुनसक्ने पनि बताए।

उता मोल्डोभाले सैनिक जनरलको प्रतिक्रियालाई लिएर मस्कोका राजदूतलाई बोलाएर त्यसबारे सोधेको छ। त्यहाँको विदेशमन्त्रालयले उक्त भनाइलाई ‘ज्यादै चिन्ताजनक’ भनेको छ।

रुसी भाषा बोल्नेहरू रहेको अलग्गै सानो क्षेत्र ट्रान्जनिस्ट्रिया युक्रेनसँग पश्चिमबाट जोडिन्छ।

सोभियत सङ्घको विघटनपछि रक्तपातपूर्ण द्वन्द्वपछि उक्त क्षेत्रले स्वतन्त्रता पाएको थियो तर त्यसलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिइएको छ। औपचारिक रूपमा त्यो अहिले पनि मोल्डभाकै हिस्सा रहेको छ।

सन् १९९५ मा भएको युद्ध विराम सम्झौता अनुसार अहिले पनि उक्त क्षेत्रमा करिब १५ सय रुसी फौजहरूको सानो इकाई खटिएको छ।

जेनरल मिनकायफ रुसी सेनाको केन्द्रीय सैन्य डिस्ट्रिक्टका उपकमान्डर हुन् र उनी शुक्रवार स्भेरलोफ्स्क क्षेत्रमा आयोजित एउटा सैनिक कार्यक्रममा बोलिरहेका थिए।

“दक्षिण युक्रेनमाथिको नियन्त्रण ट्रान्जनिस्ट्रिया, जहाँ रुसी भाषी जनसङ्ख्याले दमन व्योहोरिरहेको छन्, सम्म पुग्ने अर्को मार्ग हो,” उनले भने।

राष्ट्रपति पुटिनले पनि फेब्रुअरी २४ मा किएभमा आक्रमण थाल्नुअघि प्रमाण प्रस्तुत नगरी युक्रेनमा रहेका रुसी भाषीमाथि विभेद भएको यस्तै दाबी गरेका थिए।

युक्रेनको रक्षा मन्त्रालयले जेनरल मिनकायफको प्रतिक्रियालाई रुसी ‘साम्राज्यवाद’ भनेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा त्यसबारे थप धारणा राखेका थिए।

“युक्रेनमाथिको रुसी अतिक्रमण सुरुवात मात्रै थियो र उनीहरू अरू देश पनि कब्जा गर्न सक्छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *