कोरोनाका जुनसुकै भेरिएन्टविरुद्ध काम गर्ने ‘मून शट’ खोपको नतिजा आउँदै
काठमाडौं। अमेरिकी सेनाले विकास गरेको ‘मून शट’ भनिएको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलको नतिजा केही दिनमै आउने एक विज्ञले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने र कोरोनाभाइरसका सबै भेरिएन्टविरुद्ध काम गर्ने यो खोपको प्रारम्भिक नतिजा ‘उत्साहजनक’ भएको प्रोफेसर ल्युक ओनिलले बताएका छन् ।
ट्रिनिटी कलेज डब्लिनमा बायोकेमेस्ट्रीका प्राध्यापक ओनिलका अनुसार खोपको मानिसमा गरिएको पहिलो फेजको क्लिनिकल ट्रायलको नतिजा केही दिनमै सार्वजनिक गरिनेछ । बिहीबार प्रोफेसर ओनिलले न्युजटकसँग कुरा गर्दै भनेका छन् ‘यो मुन शट हो ।’ उनले यो युनिभर्सल भ्याक्सिन भएको र यसले कोरोनाभाइरसका भविष्यमा आउन सक्ने कुनै पनि भेरिएन्टविरुद्ध समेत काम गर्ने बताए ।
प्रोफेसर ओनिलका अनुसार यो खोपको परीक्षण सुरुमा जनावरमा गरिएको थियो । बाँदरमा गरिएको परीक्षणमा यो खोपले २००२ मा आएको सुरुवाती कोरोनाभाइरस सार्सदेखि २०१९ मा आएको सार्स कोभ २, अल्फा, बिटा, डेल्टा, ओमिक्रोन लगायत सबै भेरिएन्टबाट प्रतिरक्षा गरेको पाइएको थियो । अहिले वैज्ञानिकहरु यसको मानिसमा गरिएको ट्रायलको मध्यमा रहेको बताउँदै उनले केही दिनमै मानिसमा गरिएको फेज १ ट्रायलको नतिजा आउने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment