पिताको हत्याराकी छोरीसँग छोराले बिहे गरे, आमाले छोरालाई नरोक्नुको कारण बताइन्

डिसी नेपाल
१२ वैशाख २०७९ १४:५४
2.2k
Shares

काठमाडौं । एक युवकले आफ्नै बुबाको हत्या गर्ने व्यक्तिकी छोरीसँग बिहे गरेका छन् । ती व्यक्तिकी विधवा आमाले हत्याराकी छोरीलाई बुहारी बन्नदेखि रोक्ने प्रयास पनि गरिनन् । यो घटना पूर्वी अफ्रिकी देश रुवाण्डाको हो ।

कुरा सन् १९९४ को हो । त्यतिबेला रुवाण्डामा नरसंहार भएको थियो। सय दिनमा करिब ८ लाख मानिस मारिएका थिए । यसै क्रममा बर्नाडेट मुकाकबेराका श्रीमानको पनि हत्या भएको थियो । भर्खरैको एक अन्तर्वार्तामा बर्नाडेटले बीबीसीलाई भनिन्- ‘त्यतिबेला जे भयो, हाम्रा बच्चाहरूलाई त्यससँग कुनै सरोकार थिएन। यी दुई प्रेममा परे र एकअर्कालाई माया गर्न कसैले रोक्न सक्दैन।’

६ अप्रिल १९९४ मा रुवाण्डाका राष्ट्रपतिको हत्यापछि नरसंहार सुरु भएको थियो । उनी हुतु समुदायका थिए । घटना भएको केही घण्टापछि नै तुत्सी समुदायमाथि यसको आक्रोश पोखिन थाल्यो । हुतु समुदायका मानिसहरूले नजिकै बस्ने तुत्सी समुदायका मानिसहरूलाई मार्न थाले।

बर्नाडेट र उनका पति काबेरा वेदस्ती तुत्सी समुदायका हुन्। उनका छिमेकी ग्रेटियन न्यामिनानी हुतु समुदायका थिए। उनीहरु दुवै किसान थिए । नरसंहार सकिएपछि तुत्सी समुदायका जनता सत्तामा आए । त्यसपछि हत्यामा संलग्न लाखौंलाई पक्राउ गरिएको थियो । ग्रेटियनलाई पनि हिरासतमा लिइयो।

२००४ मा अदालतमा, ग्रेटियनले बर्नाडेटको अगाडि उनका पतिको हत्या गरेको स्वीकार गरे। यसका लागि उनले बर्नाडेटसँग माफी समेत मागेका थिए । महिलाले पनि ग्रेटियनलाई माफ गरिन्। जसका कारण ग्रेटियनलाई १९ वर्षको जेल सजाय सुनाइएको थिएन । र उनी दुई वर्षको सामुदायिक सेवाको सजाय काटेर रिहा भए।

यद्यपि, ग्रेटियन सुनुवाइको क्रममा १० वर्षसम्म हिरासतमा रहे। यस क्रममा दुई परिवारबीच घनिष्टता बढेको थियो । ग्रेटियनकी छोरी यान्कुरिजे डोनाटा उनलाई मद्दत गर्न बर्नाडेटको घरमा आइन्। हत्याकाण्डका बेला उनी ९ वर्षकी मात्र थिइन् । बर्नाडेटको छोरा अफ्रेड त्यतिबेला १४ वर्षका थिए।

यांकुरिजे डोनाटाले भनिन्– ‘म अफ्रेडकी आमालाई सहयोग गर्थें । मलाई लाग्छ यही कारणले उहाँ मसँग प्रेममा पर्नुभयो।’

बर्नाडेटले भनिन् – ‘यांकुरिजेलाई थाहा थियो कि उनका पिताले मेरो श्रीमान्को हत्या गरेका थिए । यति हुँदाहुँदै पनि उनी मलाई सहयोग गर्न आइन् । मलाई उनको स्वच्छ मन र व्यवहार मन पर्यो। त्यसैले मैले उनलाई बुहारी बन्नबाट रोक्न सकिन । त्यसपछि २००८ मा उनीहरूले विवाह गरे।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *