अमेरिकामा पनि फुट्यो एनआरएनए

डिसी नेपाल
१२ वैशाख २०७९ २२:४२

वासिंगटन डिसी । अमेरिकाको गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ। संघको अन्तर्राष्ट्रिय समन्वय समितिका तर्फबाट अमेरिकाज क्षेत्रीय संयोजक तथा सहसंयोजकहरुले अप्रिल २४ तारिक सांझ एक विज्ञप्ति जारी गरी बर्तमान अध्यक्ष बुद्धिसागर सुबेदीको कार्यसमिति विघटन गरेर नयां कार्यसमिति गठन गरेको घोषणा गरेको थियो। सो घोषणालाई अस्वीकार गर्दै सुवेदी नेतृत्वको एनआरएनएका तर्फबाट अर्को विज्ञप्ति जारी गर्दै निर्वाचित भएकाले आफू नै आधिकारिक भएको दावी गरिएको छ।

विगत केही समयदेखि गैरआवासीय नेपाली संघभित्र संसारभरि तमासा भइरहेको छ। अन्तर्राष्ट्रिय समितिमा एउटा पक्षले पद बांडफांड गरेर विधान नै परिवर्तन गरी तीनवटा अध्यक्ष र अन्य असिमिति पद सिर्जना गरेर भागवण्डामा नेतृत्व छानेको छ भने अर्को शेष घलेपक्षले छुट्टै एनआरएनए अन्तर्राष्टिय समिति बनाएको छ।

अमेरिकाको अहिलेको फुट भने तीन अध्यक्ष भएको एनआरएनएभित्रको हो । अहिलेको यो फुटलाई भागवण्डामा अन्तर्राष्टिय समितिमा महासचिवको पगरी पाएका गौरीराज जोशी र केशव पौडेल समूहका बीचको फुटका रुपमा हेरिएको छ ।

अमेरिकाका अध्यक्ष सुवेदीको नेतृत्व अस्वीकार गर्दै बनेको अर्को समितिको अध्यक्षमा कृष्ण लामिछाने छन्। सुवेदीलाई महासचिव पौडेलपक्षको समर्थन छ भने लामिछानेलाई  महासचिव जोशीपक्षको समर्थन छ । सुवेदी गतवर्ष निर्वाचित अध्यक्ष हुन् भने लामिछाने सोही निर्वाचनमा सुवेदीसंग अध्यक्ष पदमा हारेका व्यक्ति हुन् ।

लामिछानेलाई अध्यक्ष बनाएको घोषणा गर्दैै अन्र्ताष्ट्रिय समितिका तर्फबाट क्षेत्रीय संयोजक प्रकाश सापकोटा, उपसंयोजकहरु अभिमन्यु बस्नेत, पशुपति राज पाण्डे र पुरुषोत्तम बोहराले पूरै कार्य समिति नै अर्को गठन गरेको घोषणा गरेका छन् ।

उनीहरुले सुवेदी नेतृत्वको निर्वाचित कार्य समितिले अन्तर्राष्ट्रिय समन्वय समितिको निर्देशन अवज्ञा गर्दै सदस्यहरुबाट उठाएको रकम पटक पटक तागेता गर्दा पनि केन्द्रमा नबुझाएकोले बैधानिकता नै समाप्त भएको दावी गरेका छन् । केन्द्रलाई बुझाउनु पर्ने रकम नबुझाएकोले सुवेदी नेतृत्वको समितिको बैधानिकता समाप्त भएको भन्दै अर्को कार्यसमिति गठन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । नयां बनेको लामिछाने नेतृत्वको समितिमा गत निर्वाचनमा सुबेदी समूहसंग पराजित भएका अनुहारहरु पनि सामेल छन् ।

सुवेदी नेतृत्वको समितिभित्र पनि चर्को असन्तुष्टि सार्वजानिक हुँदै आएको छ । बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थसहित कार्यसमितिका ९ जना पदाधिकारी तथा सदस्यहरुलाई कार्य समितिको बैठकमा बोल्न पनि नदिने, एकपक्षीय निर्णय गर्ने गरेको आरोप सुवेदीमाथि लाग्दै आएको छ । त्यसैले लामिछाने नेतृत्वको विभाजित समूहलाई सुवेदीको कार्यसमितिका असन्तुष्ट पदाधिकारी तथा सदस्यहरुको समेत समर्थन रहेको बताइएको छ ।

सुवेदीसमूहका तर्फबाट गैर आवासीय नेपाली संघ अमेरिकाका प्रबक्ता तोया दाहालले एक विज्ञप्ति जारी गर्दै केन्द्रलाई बुझाउनु पर्ने रकम हाल छुट्टै राखी त्यसबारे केन्द्रलाई पत्राचार गरिसकिएको र एनआरएनए एनसीसी अमेरिकाको विधानमा भएअनुसारका डकुमेण्ट केन्द्रबाट प्राप्त हुनासाथ सो रकम केन्द्रमा पठाउन कुनै अपत्ति नभएको उल्लेख गरेका छन् । र, उनले विभाजनलाई संस्था विरोधी हर्कत भन्दै त्यस्तो हर्कत नगर्न सचेत समेत गराएका छन् ।

हेर्नुहोस् दुबै पक्षको विज्ञप्तिः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *