इजरायली प्रहरीसँगको झडपमा एक प्यालेस्टिनीको मृत्यु, ४० भन्दा बढी घाइते

डिसी नेपाल
१७ वैशाख २०७९ १२:४८

काठमाडौं । इजरायली प्रहरीसँगको भिडन्तमा प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टाइन सरकारले दाबी गरेको छ । शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षबाट ढुङ्गा हानेपछि विवाद सुरु भएको थियो । त्यसपछि इजरायली प्रहरीले रबरको गोली चलाएको थियो ।

इजरायली प्रहरीले प्यालेस्टाइनीहरूले अल-अक्सा मस्जिद परिसर भित्र कडा सुरक्षामा राखिएको गेटमा ढुङ्गा प्रहार गर्न थालेको बताएको छ। जहाँ ढुङ्गा हानिएको थियो त्यहाँ यहूदीहरू प्रार्थना गर्छन् । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेपछि प्यालेस्टिनी र प्रहरीबीच झडप भएको थियो । करिब एक घण्टापछि स्थिति नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार तीन जनालाई पक्राउ गरिएको छ । तीमध्ये दुई जना ढुंगा प्रहार गरेको र एक जनालाई भीडलाई उक्साएको आरोपमा पक्राउ गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट आपतकालीन सेवाहरूद्वारा यो झडपमा ४० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ, जसमध्ये २२ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

अल-अक्सा मस्जिद इस्लामको तेस्रो पवित्र स्थल हो। यो पहाडको टुप्पोमा बनाइएको छ जुन यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थल हो। इजरायल–प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । इजरायली प्रहरी र प्यालेस्टिनीबीच विगत केही दिनमा पटक पटक झडप भएको छ । इजरायली अधिकारीहरूले गाजामा शासन गर्ने लडाकु समूह हमासमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।

अल-अक्सा मस्जिदमा गत वर्ष रमजानमा पनि आक्रमण भएको थियो। जेरुसेलममा जारी आक्रमणले गाजा पट्टी नियन्त्रण गर्ने इस्लामिक आतंकवादी समूह हमास र इजरायलबीच युद्ध सुरु भयो जुन ११ दिनसम्म चलेको थियो ।

अप्रिलको दोस्रो हप्तामा, हमास र गाजाका अन्य आतंकवादी समूहहरूले प्यालेस्टिनीहरूलाई सप्ताहन्तमा अल-अक्सा मस्जिदमा भेला हुन आह्वान गरे। प्यालेस्टाइनीहरूले लामो समयदेखि इजरायलले मस्जिद कब्जा वा विभाजन गर्ने योजना बनाएको बताउँदै आएका छन्।

सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसेलम, अल-अक्सा र अन्य प्रमुख पवित्र स्थलहरू कब्जा गरेको थियो। प्यालेस्टाइनीहरू इजरायलले कब्जा गरेको सहरको पूर्वी भागलाई आफ्नो स्वतन्त्र देशको राजधानी बनाउन चाहन्छन्। तिनीहरू वेस्ट बैंक, गाजा आदि ठाउँहरू समावेश गरेर आफ्नै छुट्टै देश चाहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *