नेपाली युवा अनुभव गिरी अमेरिकी स्वप्नद्रष्टामा अब्बल छानिए

डिसी नेपाल
२१ जेठ २०७९ ९:३४

वाशिंटन डिसी। आप्रवासीहरुका लागि त्यति सहज नभए पनि अमेरिका संसारका धेरै मुलुकका मानिसका लागि सपनाको देश हो। धेरै देशका युवाहरु उच्च अध्ययन गर्न अमेरिकाको सपना देख्छन्। सपना देख्ने सवैका सपना पूरा हुँदैनन्। थोरैले सपना पूरा गर्छन्।

अमेरिकामा त्यस्तो सपना पूरा गर्ने आप्रवासीहरुको विषयमा भर्जिनिया ह्यूमानेटेरियनको सहयोगमा प्रियो बाङ्ग्लाको बार्षिक प्रकाशनले विशेष अङ्क प्रकाशन गरेको छ, जसमा नेपाली युवा अनुभव गिरी छनौटमा परेका छन्। सो प्रकाशनमा अनुभव गिरीलाई विशेष महत्वकासाथ पहिलो स्थानमा प्रस्तुत गरिएको छ।

भर्जिनिया ह्यूमानेटेरियनले आप्रवासीहरुको सफलताको कथाको लागि यो योजना स्वीकृत गरेको हो। यस्ता कथाले अन्य आप्रवासीहरुलाई समेत उत्प्रेरणा होस् भनेर कथा आव्हान र छनौट गरिएको थियो। यो कथा आफ्नो मूल भाषा र अङ्ग्रेजी भाषामा पुस्तकाकारमा रहने भएकोले आफू उत्साहित भएको अनुभव बताउँछन्।

उनकै प्रयासमा अमेरिकाको १७४ वर्ष पुरानो बिमा कम्पनीले नेपाली भाषामा पुस्तिका समेत सन् २०२० मा प्रकाशित गरेको थियो। उनी आफ्नो भाषा र संस्कृतिका लागि कसरी योगदान हुनसक्छ भनेर लागिरहेको बताउँछन्।

यो प्रकाशनको उद्देश्य अमेरिकी सपना प्राप्तिका लागि श्रोतको पहिचान, नभनिएका बहु साँस्कृतिक कथाहरु जसमा समुदायका अनुभव, सपनाहरु र अपेक्षाहरुलाई बाहिर ल्याउनु, अनुभव कथा बाँडेरे सामुहिक उद्देश्य प्राप्तिका लागि प्रेरित गर्नु, बिबिध समुदायका चुनौती प्रतिविम्बित गर्नु, नयाँ पुस्तालाई अमेरिकन ड्रिम हासिल गर्न आत्मविश्वास जगाउनु, उज्ज्वल भविष्यका लागि समुदायका बिबिध लेख रचना प्रकाशित गर्नू लगायत रहेका थिए। यही उद्देश्य प्राप्तिका लागि भर्जिनिया ह्यूमानेटेरियनले सहयोग र हातेमालो गर्ने गर्दछ।

अमेरिकन ड्रिम कथामा नेपालसहित बोलिभिया, फिलिपिन्स, पाकिस्तान, वाङ्लादेश, भारत लगायत विभिन्न मुलुकका अमेरिकी सपना पूरा गर्ने आप्रवासी व्यक्तिहरुको कथा, अन्तर्वार्ता आदि यसमा समेटिएका छन्।

अनुभव गिरीले अमेरिकी सपना पूरा गर्न के कस्तो सङ्घर्ष गर्नुपर्यो, केकस्ता काम गरेर सफलताको सिंढी चड्न सफल भए, त्यसलाई ईमान्दारीपूर्वक प्रस्तुत गरेका छन् । उनले विद्यार्थीको रुपमा सन् २००४ मा अमेरिका आएपछि सङ्घर्षका क्रममा गरेका रेष्टुँराको काम, पिज्जा ओसार्ने काम, हिउँमा भिझ्दै घण्टौं हिंडेर काममा पुगेका क्षण तथा भोकै सुत्नु परेका घटनालाई प्रस्तुत गर्दै आज सफलताको बाटोमा आइपुग्दाका कथा प्रेरणादायी रुपमा प्रस्तुत गरेका छन् । उनको कथाले धेरैलाई प्रेरित गर्न सक्ने भएर नै उनलाई प्राथमिकतासाथ पहिलो स्थानमा प्रस्तुत गरेको बताइएको छ ।

यस प्रकाशनमा भर्जिनिया राज्यका सिनेटर मार्क ए वार्नरले शुभकामना मन्तब्य दिंदै वयस्कोन्मुख युवाहरुले कतिपय कठिनाईसँग जुधेर चुनौतीहरुसँग सङ्घर्ष गर्दै तिनमाथि विजय प्राप्त गरेको कथा मात्र नभई यी कथाले आशाको किरण समेत देखाएको उल्लेख गरेका छन् ।

अनुभव गिरी मोटिभेसनल स्पिकर, ट्रेनर र सफल नेतृत्वदायी भूमिकाका लागि परिचित छन् र उनले सकारात्मक सोच यूट्यूव च्यानलमार्फत सफलताकोलागि धेरैलाई प्रेरित गर्दै आएका छन् । उनले धेरै नेपालीहरुलाई सफल बनाउन समेत योगदान गरेका छन् । उनले आफ्नो कम्पनीमा झण्डै २ दर्जन बढी म्यानेजरहरु तयार गरेका छन्, आफ्नै प्रत्यक्ष तालिम र सुपरिवेक्षणमा ।

अमेरिकामा सफल नेपालीहरु दिनहुँ बढिरहेका छन् । यो सबै नेपालीका लागि गर्वको विषय हो । तर आफू सफल भएर आफूजस्तै सफल अरुलाई बनाउनु ठूलो काम हो । अनुभवले आफूजस्तै सफल अरुलाई पनि बनाउन अत्यन्त सक्षमताका साथ लागि परेकाछन्, यो झन् गर्व र खुशीको विषय हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *